Filed Under:  संस्मरण | निबन्ध

हिउँ, जाडो र दारु | खिमु केसी

24th January 2015   ·   0 Comments

Khimu Kcतेस्रो भिजिट । कर्णालीको । हुम्लामा । माघ । हिउँ खस्दै थियो । घडिको सुईले मध्याह्नभन्दा अलि परको संकेत गर्दै थियो । जाडो त कुरै नगरौं माइनस दश । बख्खु (लामो ओभरकोट) लगाएर स्याउजस्तै राता गाला भएका लामा जातिका केटीहरुको एक समूह ओरालो झ¥यो सिमकोटदेखि मुनि स्यामन्नेतिर । अर्को समूह केटाहरु बख्खु लगाएर सिमकोटबाट लिमाटाङतिरको उकालो चढ्यो । सायद डाँफे मार्नलाई होला । हिउँ प¥यो भने डाँफेको दशा लाग्छ– जसरी धान काटेपछि मुसाको ।

राष्ट्रिय निकुञ्ज छ । बन्यजन्तु आरक्षण छ । तर, तस्करको नाम भजाएर जनावर मार्ने अनि भित्रै मोज गर्ने हाम्रो देशमा नौलो भने होइन । मात्र, निकुञ्ज र आरक्षणका कर्मचारीलाई भोक लाग्न प¥यो । सिमकोट बजारमै खुले आम डाँफे बेचिन्छन् । मोलमोलाइमा बेचबिखन हुन्छ । सम्बन्धित निकाय बेखबर बनिदिन्छ । जस्तै कि सिंगम रिटर्नस्को इन्स्पेक्टरजस्तै आफ्नै अघि पब्लिकको हत्या हुन्छ उ बेखबर बन्छ ।

चिसो मौसम । चारैतिर हिउँ । सेताम्मे डाँडाकाँडा र रुखहरु । त्यो भन्दा अरु केही देख्न पाइदैन । म अचानक क्याराभान फिल्म सम्झन्छु । चिसो चिसो हिउँ । बूढा ठिल्ने । कम्मर–कम्मरको हिउँमा लडेपछि कर्माले बोकेर टेन्टमा पु¥याउँछ । अन्त्यमा मर्छ । हिमाली जिल्ला बडो अजिबको हुँदो रहेछ । पानी भन्नु हिउँ । चिया भन्नु छ्याङ ।

चिसोबाट बच्ने केही टिप्स जयबहादुर दाइ र विष्णु दाइले भने । दारु खाने, तास खेल्दै भोटे चिया खाने कि भने गर्ल पे्रmण्ड खोज्ने । ठट्टा गर्थे बूढाहरु । म दारु नखाने । तास नखेल्ने । र, अन्तिमवाला झन् कसरी हुनु ?

सब बकम्फुसे कुरा । मेरो लागि तिनै अप्सन काम नलाग्ने थिए । तास छाडेर पछिको मात्र याने कि भोट चिया मात्र खाने केही हदसम्म सुहाउँथ्यो । न आफ्नो घर न ससुराली । दिनहुँ भोटे चिया खुवाउ भन्न पनि गाह्रो त्यो नि माइनसको जाडोमा । सबैलाई आफ्नो ओछ्यान प्यारो । हिटर र प्याराग्लाइडिङ ज्याकेट मेरा वेष्ट फ्रेण्ड थिए । ज्याकेटभित्र पनि पाँचवटा जति कपडा हुन्थे । सुत्ने पनि त्यहिसँगै । भोलि उठ्यो । अफिस पनि त्यहिमा हो । उनीहरुको अनुपस्थितिमा म बिरामी पर्थे ।

जयबहादुर दाइ कान्तिपुर दैनिकका हुम्ला संवाददाता । उतैका लोकल । विष्णु दाइ भने ब्रोइलर । मतलब उनी त्यहाँका थिएनन् । पहिले प्यूठान । त्यसपछि दाङ हुँदै हुम्ली बनेका थिए । पुलिसमा उपदान निस्केका । अहिले हुम्लाका व्यापारी । प्रहरी हुँदा हुम्लाबाट लामा केटी बिहे गरि उतै बसेका । बूढा रेसलरभन्दा कम्ती थिएनन् । मोटो । बलियो । दुबै । दङाली भनेपछि खुब माया गर्ने । बेला–बेलामा रात्री भोज गर्थे बूढा । बूढी पनि साह्रै असल । सिपालु । खाना खुवाउन प¥यो भने खुशी हुन्थिन् । जयबहादुर, विष्णु र रामचन्द्रे । दारु पार्टनर । रामचन्द्रे मान्छे त सहयोगी थियो । मुला घरमा बुढी हुँदाहुँदै दोस्रो बिहे ग¥यो लामा महिलासँग । यी तीन जनाको जोडी खुब जमेको थियो । अरु बेला जहाँ भए पनि दारु खाने समयमा भने तीनजना सँगै हुन्थे ।

दिउँसोभरि अफिसमा । काम । त्यो पनि जाडोमा । अफिसमा तीन वटा हिटर । दुर्भाग्य– विद्युतको क्षमता दुई वटा हिटर धान्न सक्ने थिएन । दुइ हिटरको भोल्ट नै ठूलो थियो अफिसको भोल्टभन्दा । एउटा रुममा जिल्ला संयोजक, अर्को रुममा फाइनान्स अनि अर्कोमा म । जिल्ला संयोजक र फाइनान्समध्ये एक आएन भने मैले हिटर चलाउने मौका पाउँथें । म, कार्यक्रम संयोजक । मेरो वरियता क्रमले पनि तेस्रो नम्बर । वरियताको कदर गर्ने परें म । होइन भने जुनियरहरुले पनि फाइनान्स र जिल्ला संयोजकको रुममा गएर हिटर ताप्ने गर्थे ।

मलाई अफिसबाट कतिबेला रुममा जाउँ हुन्थ्यो । रुममा मेरो व्यक्तिगत हिटर थियो । घरबेटी म्याडम र सर दुबै जना साहै्र सहयोगी हुनुहुन्थ्यो । सर चाहिं चाइनाको बोर्डर लिमी गाविसमा रहेको एक विद्यालयको प्रधानाध्यापक हुनुहुन्थ्यो । उहाँको एक छोरा थियो सरोज । जसलाई कक्षा नौ मा पढाएको थिएँ । सरोज अहिले इञ्जिनियरिङ पढ्दै छ । म्याडमको नाम निमा लामा । साह्रै असल । सहयोगी । इमान्दार । उनले मलाई घर भाडामा दिएको जस्तो अनुभूति हुन दिइनन् । उनको भान्सामा पाकेको चोखो मिठो सधैं मेरो रुममा ल्याइदिन्थिन् । कहिले खाली नबस्ने उनी । महिला तथा बालबालिकाको कार्यालयमा सामाजिक परिचालकको जागिर पनि उनको । कहिलेकाहिं फुर्सदमा उनले आफ्नो अतीत पनि सुनाउँथिन् । प्रौढ शिक्षा पढेर एसएलसी पास गरेकी उनी ।

माघ नौ गते रातको नौ बजे । फोन आयो । जय बहादुर दाइको । म सुत्नै आँटेको थिएँ । लामो रिङ बज्यो । पहिलो रिङ सकियो । फोन रिसिभ गरेन । तुरुन्तै अर्को घण्टी बज्यो मोबाइलमा । यो पटकको फोन विष्णु दाइको रै’छ । फोन उठाएँ ।

‘जय बहादुर दाइको भोलि बर्थ डे हो रे हजुरलाई निम्तो छ । जय दाइको फोन किन नउठाउनु भा’को ?’

‘म ट्वाइलेट गएको थिएँ । थाहा पाएन । टोट्टाए यो पटक । अचानक टोट्टाए शब्द आयो । हुम्ली स्थानीय भाषमा ढाँट्नु भनेको हो । हुम्लामा गएपछि अलि–अलि टोट्टाउन पनि सिकें । कहिलेकाहीं त टोट्टाउनु पनि धर्म गरे बरोबर हुँदोरहेछ । मैले अनुभूति गरे यो पनि । हुम्लामा पहिलो पटक त्यति धेरै माया र सद्भाव दिने दाइ जयबहादुर बाहेक अरु कोही थिएन । दाइलाई आठ वर्षदेखि चिनेको । हुम्लामा दाइको ठूलो स्याउको फार्म छ । घरमा गए स्याउ नखाइ आउन पाइदैन । त्यो पनि आफै स्याउको बोटमा चढेर, छानी छानी । काठमाडौं आउँदा पनि दाइले सम्झन्छन् । सके भेटघाट । होइन भने फोन हुन्छ । यस्तो मान्छेको निम्तोलाई नाइँ भन्न पनि नसक्ने थिएँ । निम्तो स्वीकार्ने हो भने दारु खानु अनिवार्य हुन्थ्यो । किनकि दारु नै बर्थ डे केक हुन्थ्यो जय दाइको ।

बिहानै निमा म्याडमलाई रक्सी बनाउन भने । अठार दिन जति भैसकेको थियो शरिरमा पानी नपरेको । लुगा धुनु त तपसिलको कुरा हुन्थ्यो मेरो लागि ।

म्याडम गलीगली (कृपया) रक्सी बनाउनु ल । म्याडम खिस्स दाँत देखाउँदै हवस् ।

क्या गद्दा औ । रावलनी अन्टी आइन् । उनी टिपिकल हुम्ली भाषा बोल्थिन् ।

नौ दा औ । मैले हाँस्दै भनें ।

औ मन्ठा । हाम्रा भाषा जान्या भै गएयौ । रोटी खान्या औ । एक रोटी म क्या खादा औ ! तिमी खाउ । आधा तु कन, आधा म कन (आधा तँलाई, आधा मलाई) । अन्टीले रोटी भाँचिन् । नाइ तिमी खाउ औ । उनी आफ्नो छोरालाई साँझ बिहान यसो पढाइदिनु प¥यो भनेर धेरै पटक भन्न आउँथिन् । मेरो त्यति अनुकूल पर्दैनथ्यो । प्रोजेक्टको जागिर । कहिले फिल्ड । कहिले मिटिङ । तैपनि मेरो फुर्सद भएमा घरतिर आउँछु भनेर आश्वासन दिएको थिएँ ।

दिउँसो अफिसमा प्लान गर्दै थिएँ । कसरी जय दाइलाई बहाना पारेर दारुबाट बच्ने होला भनेर । दाइ देश खाएर शेष पल्टेका । साठीका ढिकमा पुगेका । जोश जाँगर भने हामी कम्ताको थिएन । त्यसैले त टिकेका छन् कान्तिपुरमा । सायद सबै भन्दा बूढो रिपोर्टर उनी नै हुन् । चानचुने कुराले दाइलाई ढाँट्ने आँट कसैले कल्पना नगरे पनि हुन्थ्यो । अफिसबाट अलि छिटो निस्कें । दाइले चार बजे बोलाएका थिए । सरासर लोटाइ होटल गएँ । दाइको जक्सन नै लोटाइ होटल हो । कहिलेकाहीं पामा होटल ।

के खाने ? दाइले सोधे । केही नखाने ।

केही नखाने ? किन ? के भनेको ? मेरो बर्थ डेमा आएर केही नखाने ?

म बिरामी छु । ढाँटे । टाउकोमा रुमाल बाँधेको थिएँ ।

म छक्क परे । धन्न दाइले यो दिन जबर्जस्त गरेनन् । मैले साधा कफी पिएँ । दिन बिन्दास साँझतिर ढल्कदै थियो ।

By

Readers Comments (0)