Filed Under:  पर्यटकीय गन्तव्य, सौगात विशेष

हराउँदै युद्ध पर्यटन सम्पदा

24th January 2015   ·   0 Comments

द्वन्द्वकालमा सबैभन्दा धेरै जनधनको क्षति भएको रोल्पाको जेलबाङ गाविसमा युद्धकालमै निर्मित विभिन्न मूर्त तथा अमूर्त युद्ध सम्पदाहरु जोगाउन न राज्यलाई फूर्सद छ न स्वयं माओवादीहरुलाई चासो छ ।

Dhaniram_sharma- धनिराम शर्मा

माओवादी बिद्रोहको आधार क्षेत्र मानिएको जेलबाङ यतिबेला निरसजस्तै छ । संसारै फेर्ने सपना देखेर आन्दोलनको आगोमा हाम फालेका जेलबाङीको दैनिकी कष्टकर बन्दै गइरहेको छ । मनमा विगतका त्रासदीको झल्को अनि घाउका टाटा र डोब शरिरमा बोकेर यहाँका अधिकांश गाउँबासीको जिन्दगी चलिरहेको छ । परिवर्तन भन्ने अमूक शब्दावलीले उनीहरुको जीवनमा कोल्टो फेर्न सकेको छैन । दलका ठूला–ठूला नेताको खुबै आवतजावत हुने शान्तिगाउँ यतिबेला बिकास र समृद्धिबाट अछूत भएको छ । युद्धकालका बेला श्रमले आर्जेका युद्ध सम्पदाहरु लोप हुँदै गएका छन् । युद्ध पर्यटनका लागि महत्वपूर्ण मानिने ती सम्पदाहरु जोगाउन न राज्यलाई फूर्सद छ न स्वयं माओवादीहरुलाई चासो छ ।

Jelbang Villageसाम्यवाद ल्याउने भन्दै गोलाबारुदसँग निदाएका जेलबाङबासीहरु यतिबेला युद्धमा पसिनाले आर्जेका भौतिक सम्पदाहरु वर्षैपिच्छे ओझेल पर्दा चिन्तित छन् । शान्ति प्रक्रियापछि युद्ध पर्यटनको प्रवद्र्धन गर्ने आश्वासनले अघाएका उनीहरु यतिबेला जनश्रमबाट निर्मित धरोहरहरु भत्कदै जाँदा चिन्तित हुन थालेका हुन् । मृत्युसँग पौठेजोरी खेल्दै बनाइएका ती ऐतिहासिक सम्पदाहरुको संरक्षण र सम्वद्र्धन गर्न कसैलाई फूर्सद नमिलेको उनीहरु बताउँछन् । सरकारको कान नै छैन, माओवादीलाई टुट्न फुट्न हतारो हुनाले युद्धकालीन ऐतिहासिक सम्पदाहरु बेवारिसे बन्दै गएको स्थानीयले दुखेसो पोखे ।

सरकारी पक्ष र बिद्रोहीको निशानामा परेर ७३ जना जेलबाङीको रगतको आहालमा बनाइएका सहिद स्मारक, जनकम्युन, विद्युत गृह, जनवादी विद्यालय इतिहासको पानामा पनि भेट्न धौ हुने अवस्था आउन थालेको जेलबाङबासीको गुनासो छ । ‘हामीलाई सरकारले त ठग्यो, माओवादीहरुले पनि ठगे’, ६२ वर्षीय मनबहादुर रोकाले गुनासो पोख्दै भने, ‘खाइनखाई असिना पसिना नभनी जनताले निर्माण ग¥यो तर अहिले नेताहरु मन्त्री भए प्रधानमन्त्री भए हामी जेलबाङीको जिन्दगी यस्तै गरि सकिने भो ।’ निकै भावुक बन्दै रोकाले भने, ‘हामीले जन्माएको कम्युन कता गयो, विद्यालय छैन, विद्युत गृह अस्तव्यस्त छ ।’

Jelbang_4वि.सं. २०६५ सालमा शान्तिगाउँ नामाकरण गरिएको जेलबाङमा अझै शान्ति नआएको स्थानीय बासिन्दाहरुको प्रतिक्रिया छ । देश फेरिए पनि आफूहरुको जीवन त फेरिएन, त्यसैमा आफ्नै पौरखले बनेका सम्पदाहरु हराउँदै जाँदा उनीहरुको मन पोलिरहेको छ । गाउँ पस्दा युद्धसँग सम्बन्धित सम्पदाहरु भेटिन्छन् । जेलबाङ गाउँ पस्नुअघि भेटिने स्यारी भन्ने स्थानमा सहिद स्तम्भ छ । स्तम्भमा नामनामेसी मेटिदै छ । गाउँको बीच घरको भित्तामा सहिद हुनेहरुको लामो तालिकाको श्रृंखला छ, स्यारी कटेपछि ठूलो गाउँ पुग्नु पहिले एउटा घर भेटिन्छ, घरको छानामाथि हँसिया हथौडाअंकित झण्डा फरफराइरहन्छ । अनि नजिकैको खोलाको बायाँ दिशातर्फ जीर्ण बन्दै गएको विद्युत गृह छ ।

जेलबाङकै रोलबाङमा रहेको जनकम्यूनको त अब अवशेष पनि छैन । विगतमा लडाईं भएको थियो, जनश्रमबाट धेरै सम्पदाहरुको निर्माण भएको थियो भन्दा अब अपत्यारिलो लाग्ने हुँदैछ शान्तिगाउँमा । त्रासदीपूर्ण युद्धलाई स्मरण गर्न र अब त्यस्तो युद्ध कहिल्यै भोग्न नपरोस् भन्नका लागि ती सम्पदा निकै गजबका खुराक हुन सक्छन् । अध्ययन र अवलोकनका लागि पुस्तकालय नै बन्न सक्छन् तर ती सम्पदाहरुलाई बेवारिसे बनाइदैछ ।

यद्यपि विगतको युद्ध जति निर्मम भए पनि युद्धले छोडेका डोबहरुको लिपिबद्ध गरी भावी सन्ततिका लागि अध्ययन मात्र होइन वर्तमानमा युद्धसम्बन्धी अध्ययन गर्न चाहनेका लागि गजबको साधन बन्न सक्छ जेलबाङ । तर चिन्नेलाई श्रीखण्ड नचिन्नेलाई खुर्पाको बींड भनेजस्तै राज्य संचालकहरुलाई युद्ध सम्पदाहरु त्यस्तै भएको छ । ऐतिहासिक घटनाको जन्मदाता र त्यसले जन्माएका सम्पदाहरुको दावेदार मान्ने स्वयंं माओवादीहरु नै युद्ध सम्पदाहरुको संरक्षणमा मुख खोल्न त्यति जाँगर गर्दैनन् । माओवादी नेताहरुले नसुनेरै उछितो काढ्ने गरेको बेनी आक्रमणमा घाइते भएका ४१ वर्षीय दुजबहादुर सुनारले दुखेसो पोखे । ‘नेताहरुले के–के सपना देखायो तर अहिले पार्टी पनि सक्यो, जनयुद्धमा श्रमबाट निर्मित सम्पदाहरु पनि भुल्दै गयो । अहिलेको सरकारले हामीलाई हेर्दैन, बिहान के खाने बेलुकी के खाने ? समस्या छ ।’ लडाईंमा गुमेको हात देखाउँदै उनले भने, ‘अब कसैको विश्वास छैन । सबैले हामीलाई प्रयोग गरे, घरबास सबै गुमाइयो आखिर के पाइयो ?’

Jelbang_1मगरहरुको बाहुल्यता रहेको जेलबाङ दश वर्ष माओवादी आन्दोलनको चर्चामा रहे पनि यतिबेलासम्म गतिलो संचार, शिक्षा, स्वास्थ्यलगायतका आधारभूत सेवाबाट बिमुख छ । सुलिचौरदेखि २६ किलोमिटर सडक दुरी पार गरे पुग्न सकिने जेलबाङमा विद्युत र सरसफाइमा गोरखा वेलफेयर र बेस नेपालले हात हालेका छन् । विगत र वर्तमानमा आंशिक भिन्न भए पनि जेलबाङीको जीवनमा परिवर्तन आउन सकेको छैन । उनीहरु आधारभूत मानवीय सेवा सुविधाबाट अझै विमुख छन् ।

बिकासको पहँचमा टाढा भए पनि जेलबाङ अन्य सम्पदाहरुले सम्पन्न छ । खानीको धनी गाविसको नाउँले चिनिने जेलबाङ युद्ध पर्यटनसँगै सांस्कृतिक पर्यटनको गन्तव्य पनि हो । मगरहरुको मौलिक कला संस्कृति यहाँको अर्काे आकर्षण हो । मारुनी नाच, भूम्या नाच जेलबाङको पहिचान भएको मगर संस्कृति अभियन्ता खेम बुढामगरले बताए । संस्कृतिको संरक्षणसँगै प्रवद्र्धनमा विशेषगरी राज्यले ध्यान दिन सके पर्यटनका लागि जेलबाङ उत्कृष्ट हुने उनको तर्क छ । उनी भन्छन्, ‘देश परिवर्तनको लागि रगत बगाउने जेलबाङलाई थोरै भए पनि न्याय हुने भएकोले राज्यले यहाँ युद्ध पर्यटन र सांस्कृतिक पर्यटनका मूर्त या अमूर्त सम्पदाहरुको संरक्षणमा ध्यान दिनुपर्छ ।’

स्थानीय युवा प्रकाश रोकाले सरकार, माओवादी र स्थानीयको सहकार्य भएमा पर्यटन प्रवद्र्धन गर्न सकिने बताउँछन् । जेलबाङमा पर्यटनका लागि घरबास कार्यक्रम चलाउने भनिए पनि हुन नसकेकोप्रति चिन्ता गर्दै उनले भने, ‘स्थानीयहरु पनि सक्रिय हुनुपर्छ अनि सरकारले पनि ध्यान दिन सकेमा जेलबाङमा पर्यटन विकास गर्न सकिन्छ ।’

जेलबाङ खानीको गाविस भएकाले अनुसन्धान गर्नेहरुका लागि पनि उचित गन्तव्य हो । स्थानीयहरु सक्रिय हुने हो र राजनीतिक दलका नेताहरुले सकारात्मक भएर सहयोग गरेमा विगतको त्रासदीलाई भुल्न सकिने रोकाको भनाई छ । त्यसका लागि यस्ता सम्पदा र स्थानहरुको संरक्षण गर्नतर्फ उचित नीतिको आवश्यकता रहेको र सरकारले पहल गनुपर्ने उनी बताउँछन् ।

Jelbang_2उसो त रोल्पाकै माओवादी नेता एवम् पूर्वअर्थमन्त्री वर्षमान पुन ‘अनन्त’ जेलबाङको बलिदानलाई एमाओवादीले कहिल्यै नभुल्ने बताउँछन् । जेलबाङ युद्ध पर्यटनको उचित गन्तव्य भएकोले त्यसका लागि आफूले सरकारमा रहँदा र बाहिर रहँदा पनि पहल गरिररहेको बताए । सरकारको राष्ट्रिय संरक्षण नीति २०६७ ले युद्धमा निर्मित मूर्त या अमूर्त वस्तुहरुलाई संरक्षण गर्ने उल्लेख गरेको भन्दै त्यहीअनुसार सरकारले नै ती सम्पदाहरुको संरक्षणमा विशेष पहल गर्नुपर्ने उनको धारणा छ ।

घरबास कार्यक्रमको माध्यमबाट जेलबाङ लगायत अन्य गाविसमा युद्ध पर्यटनलाई प्रवद्र्धन गर्न पहल भैरहेको र पर्यटनको माध्यमबाट जेलबाङको सामाजिक तथा आर्थिक रुपान्तरण गर्न सकिने पूर्वअर्थमन्त्री पुनले बताए । तर स्थिर राजनीतिका लागि संविधान निर्माण हुनुपर्ने र संविधान निर्माणपछि देशको आर्थिक विकाससँगै युद्ध सम्पदाहरुलाई संरक्षण गरी युद्ध पर्यटनको केन्द्रका रुपमा विकसित गर्नुपर्ने उनको भनाई छ ।

आखिर विगतमा जे जस्तो भए पनि आर्जित सम्पदाहरुको संरक्षण गर्दै पर्यटनको माध्यमबाट जेलबाङीहरुको घाउमा मल्हम लगाउन सम्बन्धित निकायहरुले ध्यान दिन आवश्यक छ । विकासको पहँुचबाट अछुतो जेलबाङजस्ता दुर्गम गाउँमा सञ्चार, शिक्षा, कृषि, पर्यटनलगायतका क्षेत्रमा राज्यले लगानी गर्न जरुरी छ ।

By

Readers Comments (0)