Filed Under:  मनोरञ्जन

थारु समुदायमा माघीको रमझम

24th January 2015   ·   0 Comments

Roshanman_shrestha1शब्द/तस्बीर : रोशनमान श्रेष्ठ

नेपालको विभिन्न भागमा छरिएर रहेका थारु जातिको महान पर्व माघी चलिरहेको छ । थारु समुदायमा मध्य तथा सुदूरपश्चिमका दाङ, बाँके, बर्दिया, कैलाली र कञ्चनपुरलगायतका स्थानमा ठाउँअनुसार माघी पर्व धुमधामसाथ मनाइन्छ ।

माघीलाई थारुहरुको मौलिक संस्कृतिले भरिएको सबैभन्दा ठूलो पर्वको रुपमा लिइन्छ । थारु समुदायमा झण्डै एक हप्तासम्म माघी पर्व मनाउने चलन छ । पुस मसान्तमा घर–घरमा सुँगुरको मासु, ढिक्री (पिठोको एक परिकार) माछालगायतको परिकार बनाएर जाँड–रक्सीको साथ खानपिन गरेर रातभर नाचगान पछि यो पर्व शुरु हुन्छ । माघीमा थारु समुदायले धमारु नामक विशेष गीत गाउँछन् । माघीमा विशेष मघौटा नाच नाच्ने चलन पनि छ ।

Maghi 6माघे संक्रान्तिको दिन बिहान सबै जना नजिकैको खोलानालामा नुहाउन जाने चलन छ । नुहाइसकेपछि घरमा आई दाल, चामल, नून छोएर आफूभन्दा ठूलालाई ढोग गरी आशिर्वाद लिइन्छ । माघीको दिन नुहाएर आइसकेपछि छोएको चामल, दाल, पैसा र यसमा केही थप गरेर चेलीबेटीहरुलाई उपहार दिइन्छ । माघीको दिन स्नान गरी तिलको आगो ताप्नाले वर्र्षभरिको पाप पखालिन्छ भन्ने मान्यता थारु समुदायमा छ । थारु समुदायले माघको पहिलो हप्ताभित्रै गाउँको मुखियाको घरमा बैठक बसेर सामूहिकरुपमा गत वर्र्षको कामकारबाहीबारे समीक्षा एवं आगामी वर्षको लागि कार्ययोजना समेत तयार पार्ने गरिन्छ ।

सोही बैठकले गाउँको चौकीदारदेखि फलामको काम गर्ने व्यक्तिसम्मको छनोट गर्ने चलन छ । यही बैठकले गाउँलाई अनुशासित बनाउन नयाँ नियम कानूनसमेत बनाउँछ । यो प्रक्रिया घरबाट सुरु भई गाउँभरि नै गएर सेवा सलाम लिने दिने र खानपिन गर्ने प्रचलन छ । जति ठूलो गाउँ भए पनि सबै घरमा सेवासलामको लागि पस्नुपर्ने हुन्छ । कसैसँग रिसइबी छ भने माघी नुहाएर, एकआपसमा अङ्कमाल गरी मेलमिलाप गरिन्छ । माघी पर्वलाई नयाँ वर्र्षको रुपमा पनि लिने गरिन्छ । पुस मसान्तमा आ–आफ्नो लेनदेन, हरहिसाब चुक्ता गर्ने र नयाँ हिसाब–किताब सुरु गर्ने प्रचलन छ । माघीमा नै घरपरिवारभित्र होस् या गाउँ समुदायमा आगामी वर्षको लागि खेतीपातीलगायत यावत् अन्य व्यवहारहरुको नवीकरण गरिन्छ ।

Maghi 2माघी पर्व मनाइरहँदा थारु समुदायको विपन्नताको फाइदा उठाउँदै कम्लरी लिने दिने प्रचलन रही आएको छ । तर सरकारी निकाय र विभिन्न संघसंस्थाको पहल र दबाबका कारण कम्लरी प्रथामा भने कमी आएको छ ।

गणतन्त्र स्थापना भए यता माघीमा समेत सरकारले एक दिन सार्वजनिक बिदा दिन थालेको छ तर थारु समुदायले भने तीन दिनसम्म सार्वजनिक बिदा दिन माग गर्दै आएका छन् ।

Maghi 3

Maghi 4

Maghi 7

Maghi 5

maghi 1

तस्वीरहरु : माघीको अवसरमा सौडियारको नमूना थारुग्राममा प्रस्तुत गरिएका नृत्य ।

By

Readers Comments (0)