Filed Under:  कुराकानी

म आत्मसष्तुष्टिको लागि लेख्छु

24th May 2014   ·   0 Comments

Krishna Raj sarbahari Chauकृष्णराज सर्वहारी समकालीन नेपाली साहित्य र विशेष गरी थारु भाषा साहित्यका क्षेत्रमा स्थापित व्यक्तित्व हुन् । थारु र नेपाली दुवै भाषामा कविता, कथा र उपन्यास लेखनमा कलम चलाइरहेका सर्वहारी थारु भाषा र सञ्चारको अनुसन्धानमा पनि सक्रिय छन् ।

फुटल करम (२०५५), गन्तव्य (२०५९) उपन्यास, थारु गुरुवा र मन्त्र ज्ञान (२०६९) अनुसन्धानमूलक कृतिलगायत डेढ दर्जन बढी कृतिहरु प्रकाशन गरिसकेका सर्वहारीसँग नयाँ युगबोध दैनिकको सौगातका लागि डिल्ली मल्लले संक्षित कुराकानी गरेका छन् ।

के लेखिरहनुभएको छ आजभोलि ?

पीएचडीको अध्ययनले साहित्य लेखन अहिले छुटेझैं भएको छ । २०६९ माघदेखि कीर्तिपुरमा महिनाको अन्तिम शनिबार थारू कविता गोष्ठी गर्छौं । जसको म संयोजक हुँ ।

श्रृंखलामा वाचित रचनाको संकलन प्रकाशित गर्दैछौं, यसैको सम्पादनमा हाल व्यस्त छु । श्रृंखलामा सुनाउन नयाँ कविता, मुक्तक लेखिरहेको छु । उपन्यासको एउटा खाका तयार छ । तर, टुंग्याउनी अर्को वर्षलाई हुन्छ होला कि !

तपाईं थारु भाषा साहित्यमा लेखनीमा क्रियाशील हुनुहुन्छ, थारु भाषा साहित्यको अहिलेको अवस्था कस्तो छ ?

थारू भाषा साहित्यको अवस्था अहिले पनि नाजुक छ । २०२८ सालमा थारू भाषाको पहिलो पत्रिका गोचाली दाङबाट निस्किदा त्यसैबेला एक हजार प्रति छापिएको थियो । तर, अहिले साहित्यिक पत्रिका दुई/तीन सय प्रति मात्रै छाप्ने गरेको सुनेको छु ।

थारू भाषामा एक सयवटा पत्रिका प्रकाशित भए पनि आधा दर्जन पनि नियमित छैनन् । विभिन्न विधामा करीब सयकै हाराहारीमा पुस्तक पनि प्रकाशित भएका छन् । तर, बजार लिन सकेका छैनन् ।

थारु भाषा साहित्यलगायत विभिन्न मातृभाषामा आधारित साहित्य लेखनको भविष्य कस्तो देख्नुहुन्छ ?

थारू भाषा साहित्यलगायत विभिन्न मातृभाषामा आधारित साहित्यको भविष्य मैले उज्ज्वल देखेको छु । साहित्यकारले आफूले पकड भएको भाषामा लेख्नुपर्छ । मातृभाषी साहित्यकारहरूको अवस्था कस्तो छ भने, आफ्नो मातृभाषामा सोच्ने तर लेखन कार्य नेपालीमा गर्ने । मातृभाषा लेखनको अभ्यास नहुँदा मातृभाषा र नेपाली दुबैमा पकड बनाउन नसक्ने ।

जेठ ७ गते राजधानीमा रमेश रञ्जन झाको संगोर (मैथिली भाषा) उपन्यासको नेपाली अनुवाद उमसको विमोचन प्रचण्डले गर्नुभयो । त्यसमा उपन्यासकार झाले सगर्व भने– ‘मैथिलीका शब्दमा म जति खेल्न सक्छु, त्यति नेपालीमा सक्तिनँ । त्यसैले आफ्नै भाषामा लेखेको हुँ ।’ यसरी अनुवाद साहित्यको अभियान पनि शुरू भएकाले मातृभाषी लेखनको भविष्य सुनवल छ ।

मातृभाषामा मात्र लेख्दा तपाईंका साहित्यिक कृतिहरु सबैले सहजै अध्ययन गर्न सक्दैनन्, यसले तपाईं आफूलाई साँघुरो क्षेत्रमा कैद भएको जस्तो महसुस हुँदैन ?

अवश्य हुन्छ । तर म थारू मात्रै होइन, नेपाली भाषामा पनि बरोबर कलम चलाउने स्रष्टा हुँ, यद्यपि मेरा कृति थारू भाषामा बढी छन् । मेरो थारू भाषाको पहिलो उपन्यास फुटल करम एकजना बहिनी आलोचना चौधरीले हालै एमएको थेसिसको सिलसिलामा अनुवाद गर्नुभएको छ, प्रकाशक खोज्दैछु ।

अहिले मातृभाषा लेखनको बजार साँघुरिएको देखिए पनि उत्कृष्ट कृतिको नेपाली (बिस्तारै अंग्रेजी पनि होला) अनुवाद हुने स्थितिले म निराश छैन । हेक्का राखौं, रविन्द्रनाथ टैगोरले गीताञ्जली आफ्नै बंगाली भाषामा लेखेर अनुवादमार्फत् नोवेल पुरस्कार विजेता भएका थिए ।

थारु भाषा साहित्यको संरक्षण, सम्बद्र्धन र विकासका लागि कुनै संस्थागत पहल पनि भएको छ कि ?

संस्थागत पहल छैन । २०६० सालमा केही मित्रहरूले गुर्बाबा प्रकाशन प्रालि दर्ता गरेका थियौं । यसले अग्रासन मासिक तथा दुई–तीनवटा कृति मात्रै प्रकाशन गर्न सक्यो । कैलाली बहुमुखी क्याम्पसमा अध्ययनरत प्रकाश चौधरीलगायत मित्रहरूले सामूहिक प्रकाशनको अभियानमा दौडिरहनुभएको छ ।

मलाई लाग्छ, जिल्ला जिल्लामा मात्रै पनि थारू भाषा साहित्यको संस्थागत पहल हुन सक्यो भने उल्लेखनीय काम हुन सक्छ । यसका लागि थारू कल्याणकारिणी सभालगायतको मुख ताक्नुभन्दा थारू स्रष्टाहरू आफै लागिपर्नु पर्छ । थारू लेखक संघ जन्माइनुपर्छ ।

तपाईं साहित्य किन लेख्नुहुन्छ ?

म आत्मसन्तुष्टिको लागि लेख्छु । जब मनमा कुनै भाव आउँछ, भाव लिपिबद्ध गर्न मन तुलबुल हुन्छ । यस रचनाले मेरो समाजलाई कुनै न कुनै मार्गदर्शन गर्न सक्छ भन्ने अनुभूतिले घच्घच्याउँदा मेरो कलम उठ्छ । लेख्नु भनेको मेरो लागि बिलकुल स्वान्त सुखायको बिषय हो ।

तपाईंको विचारमा साहित्य सिर्जना शक्तिशाली कसरी बन्छ ?

एकजना कविले भनेका छन्, शब्द थुपारेर के हुन्छ, भाव भए पो हुन्छ । शब्दलाई शक्तिशाली बनाउन भाव ल्याउनुपर्छ । स्रष्टाले आवाजविहीनहरूको आवाज लेख्ने हो ।

दुःख पाएका पात्रका चरित्रलाई मिहिन ढंगले केलाउन सक्ने हो भने, तिनका आवाजलाई मुखरित गरिदिने हो भने त्यो साहित्य सिर्जना शक्तिशाली बन्छ । त्यसैले अहिले नेपाली साहित्यमा सवाल्टर्न साहित्यको चर्चा पनि व्यापक भएको छ ।

पछिल्लो समयमा साहित्यमा बजारीकरण भइरहेको छ भनिन्छ, तपाईंलाई के लाग्छ ?

हो, अहिले नेपाली साहित्यमा बजारीकरण भइरहेको छ । अखबारी लेखनमा लागेकाहरुको कृतिले बढी स्पेस पाइरहको छ । नयाँ प्रकाशकहरू आक्रमक ढंगले साहित्यिक कृतिको विज्ञापनसहित बजारीकरण गरिरहेका छन् ।

जसरी कर्पोरेट मिडियाले अखबारको बजारीकरण गरिरहेका छन्, त्यसरी नै कर्पोरेट प्रकाशकहरूले साहित्यिक कृतिको बजारीकरण गरिरहेका छन् । यसले पहुँच पु¥याउन नसक्ने स्रष्टाहरू ओझेलमा पर्ने स्थिति छ ।

समकालीन साहित्यमा आख्यानले बजार लिएको र अन्य विधाहरुको अवस्था खस्किदै गएको सुनिन्छ नि ?

त्यसो होइन, बजारको हिसाबले आख्यानले बजार लिएको छ, त्यो जरुर हो । तर कविता विधा बाह्रैमास सेलवेल विधा हो । कविता मञ्चमा कविको मुखारविन्दुबाट सुन्न जति मजा आउँछ, त्यति पढेर रसास्वादन गर्न सकिन्न । वाचन पनि एक कला हो । आख्यान मञ्चमा वाचन गर्न सम्भव हुँदैन । त्यसैले तिनले बढी बजार लिएको देखिएका हुन् ।

बिक्रीकै कुरा गर्ने हो भने महाकवि देवकोटाको झ्याउरे शैली मुनामदन खण्डकाव्यको बजार अहिले पनि नम्बर एकमै छ । आख्यानको बैंस पलाएको हो । तर, कवितालगायतको विधा बजारको सदावहार नायक हो ।

तपाईं कथा, कविता र उपन्यासमा उत्तिकै कलम चलाइरहनुभएको छ, लेखनमा अलि बढी सहज र शक्तिशालीचाहिं के लेख्दा लाग्छ ?

लेखनमा सहज त कविता नै लाग्छ । तर मेरो लेखाइमा शक्तिशाली भने आख्यान नै हो । मलाई लाग्छ, मेरो आगामी दिनको लेखन कथा र उपन्यासमा सीमित हुन्छ होला । धेरै विधामा कलम चलाउँदा न यता न उताको देखिदैछु कि भन्ने मलाई महसुस भएको छ ।

अब कृतिको संख्या नियोजन गर्ने पक्षमा छु । मेरो प्रकाशित डेढ दर्जन कृतिको नाम मैलाई सम्झिनै गाह्रो हुन थालेको छ ।

मोफसलको स्रष्टा राजधानीमा बसेर स्थापित हुन कत्तिको चुनौती देख्नुभएको छ ?

स्थापित हुनलाई राजधानी नै ताक्नुपर्छ भन्ने मलाई लाग्दैन । पोखराका सरुभक्त, धनगढीका श्रेष्ठ प्रिया पत्थर, नेपालगञ्जका प्रेमप्रकाश मल्ल, खगेन्द्र गिरी ‘कोपिला’ यी केही उदाहरणहरू मोफसलमै चर्चित छन् । तर, राजधानी होस् या मोफसलमा, स्थापित हुन एउटा समूह समात्नु पर्दोरहेछ । नत्र सागरमै हराइन्छ ।

मलाई लाग्छ, कुनै झुण्डको पछाडि नलाग्दा नै विगत डेढ दशकदेखि राजधानीमा डेरा जमाउँदा पनि मेरा रचना, कृतिले राम्रो समीक्षा पाएनन् । म ओझेलमा छु ।

पछि पारिएका वर्ग, समुदाय र क्षेत्रको विषयमा नेपाली साहित्यले कत्तिको स्थान दिएको जस्तो लाग्छ तपाईंलाई ?

यस सन्दर्भमा कामै नभएको चाहिं होइन । तर, कछुवा गतिमा छ । साझा प्रकाशनले भाषाभाषी कृति छाप्ने कामको शुरुवात गरेको थियो । तर हाल आफै थला परेको छ । नेपाल प्रज्ञा प्रतिष्ठानले वार्षिक भए पनि केही भाषीका पत्रिका प्रकाशन गर्न थालेको छ ।

मधुपर्कले भाषाभाषीका रचना भनी अनुवादको छुट्टै कोलम अनियमित भए पनि दिन थालेको छ । गोरखापत्रमा २०६४ देखि दैनिक दुई वटा भाषा पृष्ठ आएपछि विभिन्न भाषामा कथा, कविताले ठाउँ पाएका छन् । तर पछाडि पारिएका वर्ग, समुदायका रचना ती सम्बन्धित क्षेत्रका नेपाली साहित्यिक पत्रिकामा पनि स्थान पाएका छैनन् ।

अन्त्यमा, थप केही भन्नु थियो कि ?

लेखनमा आउन चाहने नयाँ स्रष्टाहरुलाई हतास नहुन मेरो अनुरोध छ । म पनि अझैं लेखक बन्ने धुनमा नै छु । महेशविक्रम शाहले थारू समुदायका कथालाई रचनागर्भ बनाएर मदन पुरस्कार हात पार्न सक्छन् भने म उही थारू समुदायको मान्छे आफ्नो समाजको तमाम लुुकेका संस्कृति, विकृतिलाई साहित्यको पाटो किन नबनाउने भन्ने अभियानमा निरन्तर लागेको छु, लाग्नेछु । यसको विविध रंग इन्द्रेणीको रुपमा छिट्टै देखिनेछ भन्नेमा आशावादी छु ।

By

Readers Comments (0)