Filed Under:  विचार | टिप्पणी

सफल जीवनको भोक र परिभाषा

24th January 2015   ·   0 Comments

Pramod_Dhital_writter- प्रमोद धिताल

आज हामीलाई सफल जीवनको भोकले सताएको छ । मलाई लाग्छ मानिसको निम्ति शारीरिक भोक जति खतरकनाक छ त्यो भन्दा धेरै खतरनाक छ मानसिक भोक । शारीरिक भोकले त केही समयम्म पेटको भोक शान्त नहुँदासम्मलाई सताउँछ । तर मानसिक भोक यस्तो भोक हो जसले पूरै मानव जीवनलाई अतृप्त भोकहरुको कैदी बनाएर छोड्छ । आज त्यसैले होला हरेक बाबु आमा आफ्ना छोराछोरीहरुलाई पनि मानसिक भोक जगाउन तल्लीन छन् । असल होइन सफल बनाउन लालायित छन् । सफल अर्थात् सम्पन्न, धनीमानी र समाजमा अरुभन्दा पृथक जीवनशैलीमा धाकधक्कु जमाएर बाँच्न सक्ने । त्यसको लागि मानिस जन्मेको केही समयमै एउटा मानसिक साँचोमा ढलिसक्नुपर्ने हुन्छ । अर्थात् त्यो सफल मानिस बन्ने सम्भावना बोकेको बच्चा सानैदेखि अरु होइन डाक्टर, इञ्जिनियरको सपना देख्न थाल्छ  । मानौं अरु कुनै कुराको आकांक्षा राख्नु लाचारी, तुच्छता र निरिहताको दृष्टान्त पेश गर्नु हो । जन्मको केही वर्षमै उसलाई ठूलो बन्ने भोकले सताउन थाल्छ, किनकि हरेक अभिभावकहरुको आशीर्वादमार्फत् पनि उसको अघोषित स्कुलिङ यसरी नै सुरु हुन्छ । अनि ऊ जप्न थाल्छ अमेरिका । मानौं यो देशमा जन्मेर उसले पहिलो गल्ती गरिसकेको छ जसको पश्चाताप अमेरिका पुगेर मात्र सम्भव छ ।

हामीकहाँ सफल जीवनको परिभाषा नै केही फरक ढंगले गरिएको छ । इमान्दारीपूर्वक राजनीति गर्नु, देशसेवा र परिवर्तनको निम्ति राजनीति गर्नु लाचारी, असफल र बेकामे । राजनीतिको नाममा व्यापार गर्नु, कमिशन खानु अनि दिनदहाडै कालोलाई सेतोमा परिणत गर्नसक्नु सफलता । राजनीति गरेर भ्रष्टाचार गरेर ठूलो घर बनाउनु विलासी जीवन जिउनु सफल जीवन, मानसिक भोकबाट मुक्त भएर शारीरिक भोकलाई मात्र पूरा गर्दै इमान्दारीपूर्वक आदर्शको जीवन जिउनु लाक्षीपना । डाक्टर, इञ्जिनियर बनेर प्रतिष्ठा औं पेशाको पोशाक पहिरेर भित्र–भित्र दुनियाँ ठग्न सक्नु सफलता, साहित्यकार, बुद्धिजीवी, शिक्षक, पत्रकार या अन्य केही भएर पेशागत इमान्दारीसहित काम गर्नु असफलता । पढिलेखी पैसा कमाउन सके सफल जीवन, पैसा नकमाए पनि आफ्नो बौद्धिकता र ज्ञानको समृद्धिमार्फत् समाजलाई योगदान पु¥याउन खोज्नेचाहिं असफल जीवन । घरमा श्रीमतीलाई गोरुझैं जोताएर बाहिर–बाहिर नारी मुक्ति र समानताका गफ दिने चिया गफी नेता सफल तर श्रमको भरमा बाँच्ने र परिवार पाल्ने चाहिं असफल । सफलता र असफलताको यस्तो मानक निर्धारण भएको समाजमा हामी सभ्यताको कुन चरणमा छौं सहजै अनुमान गर्न सकिन्छ । ठग र ठगीजति सबै सफल र सफलताको कोटीमा अनि इमानदार र इमान्दारीजति सबै पानीमरुवा र असफलताको कोटीमा परेपछि सफलतालाई बुझ्ने हाम्रो सामाजिक मनोविज्ञान कस्तो छ होला ? सहजै अनुमान लगाउन सकिन्छ ।

आज फेरि इतिहासको पुनरावृत्ति मात्र भएको छैन । राजनीतिक आन्दोलन, त्यसमा समाहित पात्रहरु र व्यवस्थामा भएको परिवर्तनपछि हुनुपर्ने के थियो ? भएको के छ ? यसको तुलनात्मक अध्ययन गरेपछि थाहा हुन्छ । यो समाजका थुप्रै सफल मानिसहरु असफल, अयोग्य र नालायक साबित भएका छन् । थुप्रै नालायक र असफल व्यक्तिहरु सफल कहलिएका छन् । राजनीतिलाई जसले पेशा र व्यापार बनाउन सके उनीहरु राजनीतिमा टिकेका पनि छन् । घरबार पनि सफल बनाएका छन् । तर जसको एकमात्र सहारा इमान्दारीता थियो उनीहरु त्यो ठाउँमा छैनन् जहाँ अहिले राजनीतिको नाउँमा आदर्श राजनीति होइन सिर्फ व्यापार हुन्छ । लामो समयको त्याग, तपस्या र बलिदानपश्चात् पनि उनीहरु किनारामा फालिएका माछाजस्तै भएका छन् । किनकि उनीहरुसँग न सत्ता छ न इमानको हिसाब किताब राखिदिने कुनै निकाय । नितान्त असफल जीवन । अनि त्यस्तो परिवेशका हामीहरुले आदर्श परिवर्तनको के अपेक्षा गर्ने ? जहाँ राजनीति छ त्यहाँ कमिशन छ । जहाँ कमिशन छ त्यहाँ राजनीति छ । जहाँ राजनीति छ त्यहाँ ढाकछोप र बेइमानी छ । जहाँ ढाकछोप र बेइमानी छ त्यहाँ राजीति छ । विगतमा राम्रो थियो अहिले बिग्रियो किमार्थ भन्न खोजिएको होइन । बरु लज्जा, संवेदना, ती कुराहरुप्र्रतिको भय पूरै गायब भएको छ परिवर्तनको कालखण्ड भनिएको यो समयमा समाज रुपान्तरण र स्वाभिमानको आदर्श यात्रा गुमनाम छ । जे स्थापित हुनुपर्ने त्यो पूरै विस्थापित जस्तो, जे विस्थापित हुनुपर्ने त्यो पूरै स्थापितजस्तो । जता हे¥यो त्यतै कमाउधन्दा जारी छ, सफल हुने होडबाजी छ बस ।

यो समाजमा सफल मान्छेहरुलाई जति महत्व दिइन्छ असफलहरुलाई दिइदैन । किनकि हाम्रो सामाजिक मनोविज्ञान तल्लो दर्जाको स्वार्थको जगमा टिकेको छ । सफलहरुसँग तत्काल केही पाउन सकिन्छ तर असफलहरुबाट तत्काल पाउनलाई केही हुँदैन । तर यो समाजका कथित सफलहरुको महत्व जति छ त्यो भन्दा सायदै बढी छ असफल ठानिएकाहरुको महत्व । के सफल भनिएकाहरुको बलिदानको जगबाटै सफलहरु सफल भएका होइनन्् र ? अनि स्वार्थी मनोविज्ञानद्वारा निर्मित सफलताको परिभाषाभित्र मात्र उनीहरु नपरेका हुन्, तर उनीहरु असल त हुन् । हरेक सफल व्यक्ति यो समाजको निम्ति हितकर नहुन सक्छ, तर हरेक असल व्यक्ति यो समाजको निम्ति पनि हितकर हुने भएकाले अर्को कोणबाट ती नै बढी सफल व्यक्ति हुन् । मानिसको सफलताको मूल्यांकन उसले तत्काल प्राप्त गरेको सुखभोगबाट होइन, बरु उसको ध्येय, जीवनदर्शन र निरन्तरताको जीवन व्यवहार अनि साधनाको आधारमा गरिनु नै मूल्यांकनको सही मापदण्ड हो । कार्ल माक्र्सजस्ता व्यक्तिको जीवन पनि अघोर आर्थिक दरिद्रताबाट गुज्रिएको थियो, उनको जीवनको कुनै कालखण्ड यस्तो रह्यो जतिखेर आफ्नो परिवारलाई सुखभोग त के आवश्यक जीवन निर्वाहको साधन पनि जुटाउन सकेका थिएनन् । तर के यही आधारमा उनको जीवनलाई असफल भन्न मिल्ला र ?

यतिखेर पनि मलाई यस्तो शिक्षाको भोक छ जसले बच्चाहरुमा सफल होइन पहिला असल र आदर्श मानिस बन्ने भोक जगाओस् । यस्ता शैक्षिक अगुवाहरुको कल्पना गर्छु, जसले शिक्षण संस्थालाई व्यापार र कमिसनतन्त्रको अखडा होइन असल ज्ञान बाँड्ने पवित्र संस्थाको रुपमा अगाडि बढाऊन् । यस्तो राजनीतिको भोक छ जसले केही समय सपनाको इन्द्रेणी बाँड्ने र त्यसपछि हेर्न पनि नसकिने गरी सडेर गन्हाउने प्रवृत्तिबाट मुक्त होस् । म यस्ता डाक्टरहरुको कल्पना गर्छु, जसले दिमागमा पैसा होइन बिरामीहरुको भविष्यलाई राखेर उपचार गरुन् । यस्ता शिक्षितहरुको जमातको कल्पना गर्छु, जसको दिमागमा अमेरिकाको भिसा होइन बाँच्दासम्म यही देशलाई के दिन सक्छु भन्ने चिन्तन होस् । पाठकहरु के मेरो यो चाहना पनि फगत असफल कामना मात्र हो ?

By

Readers Comments (0)