Filed Under:  समीक्षा

‘सेतो बिस्तरा’मा राता मान्छेहरु

24th January 2015   ·   0 Comments

Sameer Yatri- समीर यात्री

मलाई कसैको कृतिउपर समीक्षा वा टिप्पणी गर्न त्यति प्रीतिकर लाग्दैन । कारण छ, त्यो भनौंला कुनै बेला । यतिखेर मेरो हातमा कृति परेको छ सेतो बिस्तरा र कृतिको साथमा छ केही लेखिदिनुपर्ने मैत्रीपूर्ण आग्रह ।

एकसरो पढिसकेपछि कृति र आग्रहलाई एकैसाथ थन्क्याइदिने बानी भएको छ मेरो । यसपटक पनि त्यसै गर्न खोजें । एकदिन आग्रह दोहोरिएर आयो, मैले पढी भ्याएको छैन भनेर ढाँटी दिएँ । यस्ता टारेर नटर्नेजस्ता आग्रहहरुलाई मनको कुनामा बलजफ्ती थान्को लगाइरहन पनि कसला हुँदोरहेछ ।

स्रष्टा खगेश्वर भण्डारीद्वारा लिखित सेतो बिस्तरा उपन्यासको रुपमा भर्खरै बजारमा आएको छ । यसको पाण्डुलिपि पनि सर्सर्ती हेरेको थिएँ मैले । त्यतिबेला कुनै निश्चित विधाको पहिचान दिइएको थिएन पाण्डुलिपिलाई । लेखकीय शैली र विषयवस्तुको प्रस्तुति हेर्दा संस्मरण भनेर बुझ्न सकिन्थ्यो । प्रकाशित भएर आउँदा उपन्यासको रुपमा लिएछ ।

Seto Bistaraयसअघि रातो सिपाही खण्डकाव्य (२०६०) प्रकाशित गरिसकेका भण्डारी यसपटक सेतो बिस्तरामा एक उपन्यासकारको रुपमा देखा परेका छन् । साहित्य र कलाका विभिन्न क्षेत्रमा साधनारत भण्डारी एक बहुआयामिक प्रतिभा हुन् । वैचारिकरुपले प्रगतिवादी लेखनधारलाई पछ्याउने उनका रचनाले क्रान्ति, परिवर्तन र युगचेतनालाई आफ्नो कथ्यवस्तुको रोजाइमा पारेका छन् ।

सेतो विस्तरा प्रगतिवादी भावधारामा आधारित कृति हो । आफ्नो गाउँ सेरोफेरोको परिवेशभित्र घटित जनयुद्धकालीन घटनाहरुलाई जीवन्त रुपमा उतारेकाले यो कृतिले पाठकहरुलाई जनयुद्धको राम्रो झल्को दिन्छ । उपन्यासमा वास्तविक पात्रहरु छन् । तीमध्ये क. जञ्जीरलाई प्रमुख रुपले उभ्याइएको छ । र ती पात्रहरुसँग लेखक पनि डोरिएका छन् । यस अर्थमा कृति लेखकको संस्मरण प्रधान बन्न पुगेको छ ।

कृति सानो तर गहन छ । यसले जनयुद्ध लड्नुपर्नाको कारण र त्यसप्रतिको जनताको आकर्षणलाई राम्रोसँग चित्रण गरेको छ । वर्गीय समाज रहेसम्म वर्गसंघर्ष रहिरहने र वर्गसंघर्षको सचेतन प्रक्रियाले सामाजिक अन्तरविरोधको समाधानद्वारा सुन्दर समाजको सिर्जना गर्ने मालेमावादी सच्चाइलाई सरल ढंगले प्रस्तुत गरेको छ । मानवद्वारा मानवमाथि हुने सबै किसिमको शोषण, उत्पीडनको अन्त्य र वर्गविहीन मानवजातिको परिकल्पनामा आधारित क्रान्ति प्रक्रियामा देखिएको उच्च त्याग, तपस्या र बलिदानका अभूतपूर्व कीर्तिमानलाई उदात्तीकरण गर्नु यसको महत्वपूर्ण पक्ष रहेको छ ।

जनयुद्धकै पेरिफेरिमा धेरै कृतिहरु आएका छन् । ती दुुई विपरित धारामा आधारित छन् । एकथरिले जनयुद्धको महाआख्यानलाई उदात्तीकरण गरेका छन् भने अर्काेथरिले त्यसको विद्रुपीकरण । एउटा लेखनधाराले अन्याय, अत्याचार र दासताको विरुद्धको बिद्रोहभित्र सुन्दरता देख्तछ भने अर्काेले कुरुपै कुरुप । एउटाले बिद्रोह गर्ने जनताको अधिकारलाई न्यायोचित ठान्दछ भने अर्काेले त्यसैलाई आतंक देख्तछ । वर्गीय समाजमा साहित्य र कलाको चरित्र पनि वर्गीय नै हुन्छ भन्ने मान्यताको व्यावहारिक अभिव्यक्ति हो यो । पहिलोलाई प्रगतिवादी धारा भन्ने गरेका छौं हामीले । सेतो बिस्तराले यसै मान्यतालाई पछ्याएको छ ।

उपन्यासमा प्रमुख भूमिकामा जञ्जीर छन् । आधुनिक कृषि प्रणालीसम्बन्धी व्यावहारिक ज्ञान भएका जञ्जीर व्यवसायले असल कृषक भएर पनि माओवादीको पूर्णकालीन कार्यकर्ताका रुपमा जनयुद्धमा होमिएका हुन्छन् । उनीसँगको निरन्तरको संगत, छलफल र अन्तरक्रियाले लेखकलाई समेत क्रान्तिको कष्टसाध्य प्रक्रियातिर डो¥याइरहेको हुन्छ ।

यसै प्रक्रियामा भइरहेका विभिन्न कार्यक्रमहरुमा सहभागी हुँदै एउटा सेल्टरमा बसेको बेला मध्यरातमा दुश्मनले घेरा हाल्छ । घेरामा परेका चार जनामध्ये दुुईजना जनमुक्ति सेनाका सदस्य हुन्छन् । तीमध्ये संगीना जनयुद्ध दिवसको अवसरमा माइन विष्फोट गराउँदा घाइते भएकी हुन्छिन् । दुश्मनको घेरा तोड्दा प्रलाप र संगीनाले सहादत प्राप्त गर्दछन् भने जञ्जीरसँगै लेखक भण्डारीले सकुशल घेरा तोड्न सफल हुन्छन् । यसरी दुश्मनको घेरा तोडेर आफ्नो घर परिवारलाई भेट्न पुगेका जञ्जीरलाई शाही सेनाले घरमै हत्या गर्दछ । जञ्जीरको हत्यापछि गाउँ आतंकित र शोकाकूल मात्र पनि हुँदैन, सिंगो गाउँले दुश्मनप्रति आक्रोश र हत्याको बदला लिने अठोट प्रकट गर्दछन् । यसरी कथा टुंगिन्छ ।

सेतो बिस्तरा रक्तरंजित इतिहासको जीवित कथा हो  । नयाँ संसार निर्माणको सपना छ यहाँ । सुन्दर र सार्थक जीवनको अभिलाषा छ यहाँ । दुनियाँ बदल्ने अथक साधना छ यहाँ । यहाँ सहिदहरु छन् । सहिदका परिवारका दर्दनाक पीडा र गौरवशाली गाथाहरु छन् । वर्गीय मायाले लछप्पै भिजेका सम्बन्धहरु छन् ।

कृति रुप र अन्तरवस्तु दुबै हिसाबले सबल छ । र पनि केही त्रुटिहरु विचारणीय छन् । कृति उपन्यासको रुपमा आएको छ तर उपन्यास नै हो भन्न सजिलो छैन । खासमा यो संस्मरण भन्नलायक छ । संवादलाई अनावश्यक हदसम्म लम्ब्याइएको छ । जीवन्त पात्रको रुपमा लेखकले सबैतिर आफैलाई उभ्याएका छन् । यसले गर्दा कृति लेखकको निजात्मक अनुभूतिप्रधान बन्न पुगको छ । यस्तो अनुभूतिलाई काल्पनिक पात्रद्वारा व्यक्त गराइएको भए त्यसलाई औपन्यासिक रुप दिन अलि सहज हुन्थ्यो ।

कृतिको अन्तरवस्तु विराट छ । यस हिसाबले अन्य धेरै पक्षहरुको प्रतिनिधि पात्रहरुलाई संयोजन गर्न सकेको भए धेरै राम्रो हुन्थ्यो । आवश्यक पात्रहरुलाई समेत अव्यक्त ढंगले प्रस्तुत गर्नाले यसको अधुरोपनलाई आभास दिन्छ ।

पात्रहरुको चरित्र चित्रणलाई सही ढंगले संयोजन गर्ने केही समस्या देखिन्छ । जस्तो कि दुश्मनको घेरामा परेपछि पिएलए सदस्य प्रलापले सहयोद्धाहरुको जीवनरक्षाको लागि आफू एक्लै दुश्मनसँग लड्ने निर्णय गर्छ । र आफू मरेर अरुलाई बचाउँछन् । अर्काे सदस्य संगीना गोली लागेर घाइते भइसकेपछि आफूलाई त्यही छाडेर सकुशल घेरा तोड्न सहयोद्धालाई निरन्तर आग्रह गर्छिन् । आफूलाई बोकेर लान खोज्दा दुश्मनले सहयोद्धालाई समेत सिध्याउँछ र क्रान्तिलाई ठूलो क्षति पुग्छ भन्ने चिन्ता संगीनामा देखिन्छ । त्यसैले उनी मृत्यु स्वीकार गर्छिन् सहयोद्धाको रक्षाको लागि । अहो ! क्रान्तिको लागि कत्रो उदात्त त्याग ! दुश्मनको घेरा तोडेर सकुशल फर्किएको जञ्जीर घर पुग्दा एउटाखाले अकर्मण्यतामा फसेको देखिन्छ । उसमा एकाएक घरपरिवारको चिन्ता बढेर आउँछ । बालबच्चाको रेखदेखदेखि आफ्नो राजनीतिक जीवनमा पहिलोचोटि देखिएको अकर्मण्यताको समाधान खोज्न इञ्चार्जसँग छलफल गर्नुपर्ने सोचमा पुगेको हुन्छ । त्यति मात्रै होइन, आफू क्रान्तिको लागि मरेपछि पार्टी गलत तत्वहरुको हातमा पुग्यो भने आफ्नो परिवारको हालत के होला भने समेत सोच्न थाल्छ । त्यसै अवस्थामा उसको हत्या हुन्छ ।

एउटा क्रान्तिकारीको जीवनमा उतारचढाव देखा पर्नु स्वाभाविक हुन्छ । तर त्यो अकारण भने हुँदैन । एउटा क्रान्तिकारी आफ्नो राजनीतिक जीवनमा अन्तरसंघर्ष र आत्मसंघर्षका थुप्रै भूमरीहरुसँग खेल्दै अगाडि बढ्छ । तर जञ्जीर आत्मसंघर्षको भूमरीमा परेकै बेला मारिन्छ । ऊ आत्मसंघर्षको भूमरीमा अकारण फसेको होइन । तर कारण अज्ञात छ ।

यसरी एकातिर जञ्जीरलाई नायकको रुपमा उभ्याउन खोज्नु र अर्काेतिर उसको चरित्रलाई सहायक पात्रहरुभन्दा कमजोर जस्तो देखिने गरी चित्रण गर्नुले उपन्यासमा पात्रहरुको चरित्र संयोजन पक्ष आफैमा अन्योलग्रस्त बन्न पुगेको छ ।

कथाको अन्त्यमा कोष्ठकभित्र एउटा वाक्यांश राखिएको छ, ‘गणतन्त्र स्थापना भयो, आखिर जञ्जीरको जीत भयो’, यो वाक्यांश रुप र अन्तरवस्तु दुबै हिसाबले मेल खाँदैन । समग्रमा कृति पठनीय छ । स्रष्टाको प्रयास सह्रानीय छ । यसले लेखक भण्डारीलाई नेपाली प्रगतिवादी लेखनधारामा उदाउनको निमित्त क्षितिज खोलिदिएको छ भन्न सकिन्छ ।

By

Readers Comments (0)