Filed Under:  विचार | टिप्पणी

पश्चिममा खुम्चिएको साहित्यिक आकाश

10th January 2015   ·   0 Comments

Bhupen- भुपेन

भौगोलिक हिसाबले हाम्रो देशको पश्चिम क्षेत्र कैयन विषयवस्तुबाट पछौटे अवस्थामा रहेको छ । सामाजिक चेतना, संरचना, सामाजिक तथा आर्थिक स्तर लगभग बिकासोन्मुख छ । यसै सन्दर्भमा स्वाभाविकै रुपमा नेपाली साहित्यका हिसाबले यहाँको साहित्यिक आकाशको सूर्योदय पनि भर्खरै हुन थालेको भान हुन्छ । समय तथा साहित्यिक गतिविधिका दृष्टिकोणले दशकौं पार गरिसक्दा पनि स्तरका हिसाबले (आत्मरतिमा रमाएनौं भने) हामी भर्खरै जुर्मुराउने स्थानमा पुगेका छौं । यद्यपि समय–समयमा भइरहने साहित्यिक गतिविधिले अन्य स्थानबाट हामीलाई नियाल्दा औंलामा गन्न सकिने स्थान बनाउन सफल भएता पनि स्तरका हिसाबले हामी निकै पछाडि रहेको अनुभव मैले गरेको छु । यहींनेर यहाँको साहित्यिक उत्थानका विषयमा केही छलफल गर्न आवश्यक हुने मैले ठानेको छु ।

माथि उल्लेख गरिएअनुसार हाल आएर उदाउँदै गरेको सूर्यलाई हामी स्पष्टरुपमा आत्मसात गरेर उज्यालोतर्फ अग्रसर हुँदैछौ या त्यही सूर्यलाई हत्केलाले छेकेर अँध्यारोलाई सत्य ठानिरहेका छौं । मेरो भनाइको अर्थ केन्द्रमै केन्द्रित भइरहेको साहित्यिक बजारको तितोे यथार्थ छँदाछँदै पनि पूर्वेलीहरुले मोफसलबाटै राष्ट्रिय पहिचान बनाइरहँदा साहित्य यात्राको यति लामो समय पार गर्दा पनि हाम्रो अवस्थामा गुणात्मक परिवर्तन किन आउन सकेको छैन ? बाहिरबाट जतिसुकै प्रशंसाको पात्र बने पनि आन्तरिकरुपमा गुणात्मक परिवर्तनका हिसाबले हाम्रो लेखनी कुन स्थानमा छ ? यो विषय हाल आएर सोचनीय बनेको छ ।

दाङबाट प्रकाशित हुने प्रायः दैनिक तथा साप्ताहिक पत्रिकाले साहित्यलाई छुट्टै पृष्ठ छुट्याएर योगदान पु¥याउँदासमेत पनि हाम्रो कलमको वजन किन यति हलुको भइरहेको छ ? यति बिघ्न तामझाम हुँदा पनि हाम्रो साहित्यिक आकाश किन यसरी खुम्चिएको छ ? वर्षमा सयौं पुस्तक प्रकाशित हुँदा पनि वितरणका हिसाबले नगण्य तथा पठनका हिसाबले समीक्षकभन्दा अरुले नपढ्ने स्तर रहँदा पनि हामी साहित्यकारको पगरी गुथेर मनमौजी सो कल्ड साहित्यकारको दर्जामा आफूलाई उभ्याइरहेका छौं ।

यहाँनेर मलाई सोभियत लेखक कोन्तासिन फेदिनको भनाइ उल्लेख गर्न सान्दर्भिक लाग्छ । ‘वैज्ञानिक आफ्ना पूर्व जनको बिरासतमै सन्तोष गरेर बस्यो भने विज्ञानको विकास ठप्प हुन्छ । आविष्कारको आरम्भ त्यहींबाट शुरु हुन्छ जहाँबाट शिक्षकको ज्ञान समाप्त हुन्छ ।’ फेदिनले समयको माग र जिम्मेवारीलाई बोध गराउँदै नयाँँ आविष्कारका लागि नयाँ पुस्ताले परम्परागत ढर्रालाई च्यात्ने आँट गर्नुपर्ने कुरा औंल्याएका छन् ।

समाजको बदलिदो चरित्र र फैलिदै गएको साहित्यिक आकाशलाई स्वीकार्न नसक्नु नेपालको पश्चिम क्षेत्रकै साहित्यिक यात्रा उत्थानको ठूलो बाधक बनेको छ । माथि नै उल्लेख गरेअनुसार हामी अझै पनि उज्यालिदै गएको सूर्यलाई आत्मसात गर्ने भन्दा हत्केलाले छेकेर अँध्यारोमै आफूलाई अल्झाइरहेका छौं । प्रगतिशील हुने ध्याउन्नमा जडताको डिलमा उभिएर अरुलाई पनि अघि बढ्नबाट रोकिराखेका छौं । र कसैले त्यो प्रयास गरे उसलाई अराजकताको बिल्ला भिराइएको छ ।

माक्र्सले जिन्दगीभर द्वन्द्वात्मक भौतिकवादको व्याख्या गरे तर तिनका अनुयायीहरुको आदर्श माक्र्सवादले यहाँसम्म आइपुग्दा एकात्मक वैचारिक दम्भबाहेक अरु बोकेको छैन । प्रायः प्रगतिवादी लेखकहरुको चेतनामा फरक र नयाँ विचार अराजकताबाहेक केही हैन । म छक्क त त्यो बेला पर्ने गर्छु पागल कविता लेख्ने महाकवि देवकोटा, सुम्नीमा तथा बाउ, आमा र छोरा लेख्ने विपि, शिरिषको फूल लेख्ने पारिजातहरु साहित्यकारहरुको निम्ति विद्वान तथा महान लेखक हुन् । जब तिनै पुस्तकका अन्तरवस्तुबारे खुला छलफल हुन्छ, हामी नाक खुम्च्याएर सुइकुच्चा ठोक्छौं । द्वन्द्वात्मक भौतिकवादलाई आफ्नो भौतिक आदर्श मान्ने हाम्रा मित्रहरुको द्वन्द्ववाद अरुले फरक र नयाँ विचार राख्नेबित्तिकै आक्रोशमा रुपान्तरण भई रुपैडिहाको एकटके घोडाजस्तो हिनहिनाउन थाल्छ । आफूद्वारा प्रकाशित पुस्तकको संख्या बढी तर ती सबै पुस्तक पढ्ने पाठकको समग्र गणना गर्दा औंलामा पनि गन्न नसकिने दयनीय अवस्था छँदाछँदै आफूलाई वरिष्ठ साहित्यकारको दर्जा दिन हामीलाई अरुको आवश्यकता पर्दैन ।

लेखन प्रकाशनमा आइसकेपछि त्यो बजारको हुन्छ । त्यसको फैसला आम पाठकले गर्छन् । लेखनका न्यायाधीश भनेका पाठक हुन् न कि परम्परागत आस्था, विचार र संरचनाको लगाम लगाइरहेका मसिहाहरु । देशमै आशालाग्दो लेखन गरिरहेको लेखकका फरक विचार आउनेबित्तिकै ती विचारप्रति जिज्ञासु हुनुभन्दा पनि सौतेली व्यवहार गर्ने दिनचर्या हाम्रा कागजी साहित्यकारहरुको बनेको छ । हो, लेखकमा वैचारिक स्पष्टता हुनु अनिवार्य छ । तर त्यसो हुनुको ध्याउन्नमा विचारको विविधता तथा नयाँपनलाई आत्मसात गर्न नसक्नु एकातर्फ आफ्नै विचारप्रतिको छेकबार हो भने अर्कोतर्फ त्यसले साहित्यको नदीलाई पनि बाँध बनि छेकिरहेको छ । साहित्य कलाभित्रको एउटा पाटो हो । तर हाम्रो आउटडेटेड हुन थालिसकेको साहित्यिक मानसिकताले कला (art) भन्दा पनि अन्तरवस्तु (content) र अन्तरवस्तुभन्दा पनि विचार (thought) मा रुमल्लिएर पूर्णतः कुवाभित्रको भ्यागुतोसरि उफ्रिरहेको छ ।

यहाँ उल्लेख गर्दा धेरैलाई खल्लो लाग्न सक्छ तर म मान्छु साहित्य आफैमा प्रगतिशील नै हुन्छ । होला त्यो माक्र्सवाद या अन्य वादहरु सम्मत नहोला । तर त्यसले एउटा वर्गको प्रगति र उत्थानको भाव बोकेको हुन्छ । हाम्रो साहित्यिक आकाश पुस्तकमा पाइने वैचारिक खुराकभन्दा पनि व्यक्तिकेन्द्रित भएको छ । पुस्तकको गहन अध्ययनबिना नै व्यक्तिगत आक्षेप लगाउने, अरुको विचारलाई तर्कसंगत बहसद्वारा सही वा गलत साबित गर्नेभन्दा पनि व्यक्तिगत चिनजान र वरिष्ठताको आधारमा निर्णय लिने परिपाटीले साहित्यलाई कर्मकाण्डीय ‘धन्दाको’ रुपमा अल्झाइदिएको छ । नयाँ तथा फरक विचार लिएर कोही तर्कसंगत व्याख्या गर्न अघि सरे आफ्नै दुर्भावनाले दुर्गन्धित भइरहने स्थिति हामीसँग छ । बेला–बेलामा साहित्य मेलामा राजनैतिक भागबण्डाबाट पाइने पुरस्कार तथा सम्मानका लागि तन्किदासम्म लेघ्रो तन्काउने अनि पाइसकेपछि त्यसकै धाक जमाउँदै आफूलाई साहित्यको मठाधिश नै ठान्ने प्रवृत्तिले सत्यका अनेक रुप हुन्छन् भन्ने कुरा बिर्साइदिएको छ ।

प्रगतिवादी हुनु एउटा दायित्वबोध गर्नु हो । तर यो यथार्थलाई आत्मसात नगरी हाम्रो प्रगतिवाद एकलकाँटे वैचारिक आडम्बरमा सीमित भइदिएको छ । जसले फरकपनालाई अराजकताबाहेक केही देख्दैन । तर यो अवधि अब लामो समय रहनेछैन । इलेभेन मिनेट्स लेखेर करोड बढी पुस्तक बिक्री गरेका पाउलो कोहेलो तथा लेडी चाटर्ली लभर लेख्ने डिएच लरेन्सका विचारमा अब खुला बहस हुन आवश्यक छ । आफ्नो लेखनीमा मसानघाट, यौनजस्ता विषयलाई खुलमखुला उजागर गर्ने नेपालका सेलिब्रिटी लेखक कुमार नगरकोटीले दिने लेखनीबारे पनि हामीले तर्कसंगत व्याख्या गर्न आवश्यक छ ।

हो नेपाली राजनीतिजस्तै साहित्यमा माक्र्सवादी चिन्तनले गहिरो प्रभाव पारेको छ । हिजोका गोपालप्रसाद रिमाल, भूपि शेरचन, पारिजात हुन् वा आजका खगेन्द संग्रौला, श्यामल, राजन मुकारुड, संगीतस्रोताको प्रगतिशील चिन्तन पनि नेपाली साहित्यमा प्रखर छ । त्यसो हुनुको कारण उनीहरुले विचारको विविधतालाई आत्मसाथ गर्दै आफ्नो लेखनीलाई सुधार्दै लगे । वैचारिक स्पष्टतालाई निखार्न फरक र नयाँ विचारलाई तर्कसंगत व्याख्या गर्दै स्वीकार्नु पर्ने स्वीकारे मिल्काउनु पर्ने मिल्काए ।

मैले यहींनेर एउटा कथन राख्न आवश्यक ठान्छु । एकजना गुरुले विद्यार्थीहरुलाई एउटा सेतो कागजमा कालो दाग लगाइदिदै के देख्यौ भनी सोधेछन् । जम्मै विद्यार्थीले कालो दाग देख्यांै भनेछन् । हो, हाम्रो परम्परागत मानसिकताले फरकलाई कालो दागबाहेक अरु देख्दैन । ती विद्यार्थीहरुजस्तै कालो दागभन्दा त्यहाँ सेतो कागजले ओगटेको स्थानको मात्रा देख्दैन ।

युवाहरुलाई उपदेश दिनु नै आफ्नो साहित्यिक धर्म ठान्ने साहित्यका मठाधीशहरुले यो बुझ्न आवश्यक छ कि अबको पुस्ताले माक्र्स, लेनिन, विपी या अन्य कुनै संरचनागत साहित्य सँगसँगै एलियन्स गिन्सबर्ग, सिल्भिया पाथ, फ्रान्ज काफ्का, जेम्स जोय हुँदै भारतका लेखक चेतन भगत, नेपालका शंकर लामिछाने, हरिभक्त कटुवाल अहिलेका सुबिन भटराई, कुमार नगरकोटीसम्मको क्लासिकल साहित्यको अध्ययन तथा अनुसन्धान गर्न उत्सुक छन् । विश्व साहित्यका विविध आयामहरुको अवलोकन गर्न चाहेका छन् । यो समयसम्म आइपुगेर पनि हाम्रो परम्परागत मानसिकताले नयाँपनलाई अराजकता मात्रै देख्यो भने साहित्यभित्रको यो निरंकुशता कति दिन टिक्ला ?!

By

Readers Comments (0)