Filed Under:  विचार | टिप्पणी

एकराजजीको सर्वेक्षण र अक्षरधाम

10th January 2015   ·   0 Comments

Narayanprasad Sharma- नारायणप्रसाद शर्मा

एउटा कुशल चिकित्सकले शरीर विज्ञानको बलमा व्यक्तिको स्वास्थ्य परीक्षण जसरी गर्छ त्यसैगरी मनोविज्ञानको अध्येताझैं बाल्यकालदेखि अहिलेसम्मका निकट साथी एकराजजीले कुशल वैद्यले जस्तै नाडी छामेर मेरो र अक्षरधामको विषयमा सारगर्भित रिपोर्ट जस्तो लाग्ने लेख तयार गर्नुभएको पढें । कसैको मन, बचन र कर्मको ब्याख्या गरेर विवरण तयार गर्नु मनोविज्ञानको हिसाबले ठूलो उपलब्धि मानिन्छ । म नारायण त निमित्त पात्र मात्रै हुँ । मनोविश्लेषणमा यसको विशिष्ट महत्व छ । यसमा मेरो उहाँप्रति कृतज्ञता मात्र हो ।

अन्तर्मनको खोज अत्यन्तै जटिल हुन्छ । मनोवैज्ञानिकहरुका अनुसार मनका दुई तह हुन्छन्– एक सचेत (Conscious) र अर्को अवचेतन (Unconscious) । पहिलोको क्षेत्र अत्यन्त सीमित छ, अर्को अ‘ध्यारा गुफाभित्रको ठूलो भण्डार जस्तो । बाहिर देखिने क्रियाकलापबाट थोरै मात्र बुझ्न सकिन्छ । एकराजजीलाई अक्षरधामबारे मैले के भन्ने ? बाहिर जे देख्नुभयो त्यही हो । भित्र कति खोज्नु ? मैले पनि भन्न मुस्किल पर्छ ।

bargadiयहाँ अक्षरधाम सञ्चालन गर्न अन्यत्रभन्दा धेरै सजिलो छ । सामान्य गास, बास मिलाउन आफ्नै जेथाले पुगिहाल्छ । अप्ठ्यारो पर्दा सन्तान छँदैछन् । जस्तै अहिले नै देखिरहेको छु– सबैले सहयोग गरिरहेका छन् । मेरो मर्म धेरै थोरे सबैले बुझिरहेछन् र सक्दो योगदान गरिरहेछन् । अक्षरधाम निर्माणमा आफ्नै जग्गा भएकाले संस्थालाई सजिलो । मस‘ग बचेको रकमले अक्षरधामको आकार पनि लियो ।

जन्मेपछि मर्नैपर्ने । आजको बालक कालान्तरमा बूढो हुने । बालकझैं बृद्धले पनि असक्त भएर अर्काको सहारा खोज्नुपर्ने । यो प्रकृतिको शाश्वत नियम बुझ्दै र जीवन भोग्दै जाँदा सिकेको शिक्षाअनुसार मैले बाँकी केही गर्न सक्ने समय एकदमै थोरै हुँदै गएको अनुभव गरें । दौडधूपको व्यस्त जीवनबाट सकेजति निवृत्त हुँदै जाने सोच पनि बन्न थाल्यो । सके जति शान्त, एकान्तमा अलिकति भए पनि अन्तर्मनको यात्राको खुलदुली जाग्दै गयो । असीमित महत्वाकांक्षाका क्षितिजबाट ओर्लेर केही गर्ने धुनबाट जन्मेको हो अक्षरधाम । सहयोगीहरुको हातमा त्यो अलिकति अंकुरित भएर मुस्कुराएको छ ।

उद्देश्यको हिसाबले गाउँको सर्वाङ्गीण विकासमा सक्दो सहयोग पु¥याउनु हो । साहित्य, संस्कृति, कला र अन्य आर्थिक, राजनीतिक, शैक्षिक, सामाजिक, सांस्कृतिक विषयमा सक्दो मद्दत गर्नु यसको अभीष्ट हो । यसको आधारभूत रुपरेखा यसको विधानमा लिपीबद्ध भइ पनि सकेको छ । थप मैले व्यक्तिगतरुपमा गर्न सक्ने भनेको विपश्यना ध्यान साधना हो । यसलाई थोरै बुझाउन त्यहाँ एउटा बुद्ध प्रतिमा स्थापित छ । अनुभूतिको माध्यमबाट चित्त शुद्धीकरण गर्न शील, समाधि, प्रज्ञा जागृत गर्न सकिन्छ । चाहनेलाई केही सामग्री पनि उपलब्ध छन् ।

यस अभियानबाट मलाई व्यक्तिगत लाभ पनि भएको छ । यहाँ आफ्नो जीवनको पुनर्मूल्यांकन (Review) गर्न सजिलो भएको छ । जीवनको यात्रा यसै बर्गदीबाट शुरु भएको हो । धेरै कुरा गर्दा आफ्नै महिमामण्डित हुन्छ कि भन्ने डरले चूप छु । तथापि यदाकदा कुरा खुस्किहाल्छ पनि  । आफू ठीक अरु बेठीक देख्ने बौद्धिक अहंकार धेरै थोरै सबैमा हुन्छ । म कहाँबाट कहाँ आइपुगें जम्मै बुझ्न र सम्झन मलाई सजिलो छ ।

सामाजिक भौतिक सेवाको पाटो सामूहिक पाटो हो । आजको व्यस्त तर हावाअनुसार चल्ने व्यक्तिवादी र गुटबन्दीले भरिएको वातावरणमा म एक्लो आत्तिएर केही हुन्न । शनैः शनैः हुँदै जान्छ । मेरो जीवनको अर्को महत्वपूर्ण पाटो लेखनधर्मिता हो । सक्दासम्म कसैले रोक्ने कुरा भएन । अक्षरधाम साहित्य चिन्तकहरुको धाम बनोस् भनेर एकराजजीले सुझाएको कुरा पनि प्रकट सत्य हो । त्यो मुहान पनि यही थलो हो । बन्द नहोस् मेरो पनि यस्तै चाहनाले मलाई यतै दौडाएको छ  ।

एउटा मोहले मलाई अझै छोडेन । त्यो के भने मेरो लामो अनुभव र अनुभूतिप्रति गर्व नभनौं पूरै सन्तुष्टि छ । मेरो जीवन पूरै सदुपयोग भएकोमा निकै विश्वास पनि छ । अच्युतत भगवान मात्र हुन्छन् रे । त्यही मेरो मूल पूँजी हो । बढी मोह नहोस् भन्ने कुरामा सचेत हुँदैछु । बाँकी रह्यो अक्षरधाम शब्द गुम्फन किन भन्ने कुरा । वस्तुतः मेरो चेतनाको विकासमा संस्कृत वाङ्मयको ठूलो हात छ । मैले शब्द खेलाउन यतैबाट सिकें । ठीक शब्दको प्रयोग शब्दभेदी बाणको काम गर्छ । बाँकी रहने शब्द (अक्षर) मात्र हो । अरु त सबै नश्वर मरणधर्मा ।

शैक्षिक भाषामा भन्ने हो भने पढेर कहिल्यै सकिन्न । सजिलोसँग सम्झन अक्षर नै ठीक । सामान्य बुझाइमा धाम अलिक धार्मिक शब्द परेकै हो । पछिल्लो समयमा बुद्ध चिन्तन गर्न थालेपछि चेत खुल्यो– धार्मिक सम्प्रदायवादलाई धर्म भनेर बुझाइएको अपब्याख्या थाहा पाएँ । वस्तुको स्वभाव नै धर्म हो । मानवधर्मभन्दा अरु कुनै ठूलो धर्म छैन । अहिले पश्चिममा पनि बुद्ध धर्मको बढी प्रचार हुनु उनको शान्ति, अहिंसा, करुणा, मैत्री र सदाचारयुक्त जीवनको प्रभाव हो ।

हात खुट्टा र मन मस्तिष्क चल्दासम्म यो सीमित घेरोभित्रको विशालता पर्याप्त छ । पछि शून्यतिरको त्यो यात्रामा मेरो कुनै हस्तक्षेप हुने कुरै भएन । बाबु आमाले जन्माए । समाजले विर्सजन गरिदिन्छ । युवा वृद्ध सबैलाई काम लाग्ने सर्बवेदान्त सिद्धान्त सारसंग्रहको एउटा सिलोक सुनाउँछु ।

हित–परिमितभोजी नित्य मेकान्तसेवी
सकृदुचित हितोक्तिः स्वप्न निद्राविहारः
अनुनियमनशीलो यो भजत्युक्तकाले
स लभत इव शीघ्रं साधुचित्तप्रसादम्

नेपालीमा बुझ्नु पर्दा– जीब्राको क्षणिक स्वादको लागि हैन अट्कलेर स्वास्थ्यलाभको लागि खानू, सकेसम्म एकान्त जीवन नदोहो¥याएर उचित कुरा बोल्नु, ठीक्क निद्रा, ठीक्क भ्रमण, ठीक्क कर्म, नियमित जीवन सज्जनले मात्र बिताउन सक्छन् । त्यस्ता नै सदा आनन्दी मनले रहन सक्छन् । नेपालीहरुमा उच्च चरित्रको संस्कार बनेको भए देशको यो दुर्दशा हुने थिएन । अब अरु गर्न कति सकिएला र ? कतिमा आफूलाई सुधार्न बल गर्ने हो । अक्षरधामका यस्तै यस्तै लक्ष छन् । बढी सपना केही छैन ।

– अक्षरधाम बर्गदी, दाङ

By

Readers Comments (0)