Filed Under:  मनोरञ्जन

दीपक अब ठूलो पर्दामा | श्रीधर भावुक

4th January 2015   ·   0 Comments

Deepak_sameerसानो पर्दामा मात्र देखिने दीपक शर्मा ‘समीर’ अब ठूलो पर्दाका चलचित्रमा पनि देखिन थालेका छन् । घोराही–२, गुलरियास्थित ‘क’ टोलका स्थायी बासिन्दा समीर ‘यो कथा’ चलचित्रमार्फत् ठूलो पर्दामा देखिएका हुन् । सल्यान जिल्लाको बडागाउँ– २ गोलकपुरमा वि.सं. २०३७ मंसिर २६ गते जन्मिएका समीरले पहिलो चलचित्रबाटै दर्शकहरुको मन जित्न सफल भएका छन् । सो चलचित्रमा उनले बुवाको भूमिका निर्वाह गरेका छन् ।

दङाली भूमिमा दीपकलाई साहित्यकार, विभिन्न सामाजिक संघ, संस्थामा संलग्न क्रियाशील व्यक्तित्वको रुपमा चिनिन्छ । यी क्रियाकलापकै कारण उनको कलाकारिताको पाटो ओझेलमा परेको जस्तो देखिन्छ । तर, उनको अभिनय क्षमता हेर्दा उनी यस फाँटमै राम्ररी जम्ने देखिन्छ । कारण ‘यो कथा’मा उनले यस्तो अभिनय गरेका छन् कि जसले गर्दा दर्शकहरुको सम्पूर्ण सहानुभूति अरु पात्रमा होइन, उनले नै प्राप्त गरेको पाइन्छ ।

deepak yo kathaयो कथामा उनले परम्परागत चिन्तन राख्ने बुवा होइन, आधुनिक चिन्तन राख्ने बुवाको अभिनय गरेका छन् । आफ्ना नालायक सन्ततिका कर्तुतहरुलाई आँखा चिम्लने हाम्रो नेपाली समाज छ । तर उनी भने गल्ती गर्छ भने जसलाई भए पनि सजाय दिनुपर्छ– चाहे त्यो छोरा होस्, श्रीमती होस् वा अन्य भन्ने मान्यता राख्छन् । त्यसैले त अरुको ज्यान लिनसमेत पछि नपर्ने छोरालाई सजाय स्वरुप मार्न पुग्दछन् । कतिलाई यो कथावस्तु अलि अमिल्दो लाग्न सक्ला तर न्यायोचित समाज निर्माणका निम्ति उनको यस कार्य चलचित्रमा प्रशंसनीय नै देखिन्छ ।

त्रिकोणात्मक प्रेमलाई मुख्य विषयवस्तु बनाइएको यो चलचित्र राप्ती अञ्चलका विभिन्न स्थानमा छायाङ्कन गरिएको छ भने दाङको घोराही र तुलसीपुरमा च्यारिटी शो गरिसकिएको छ । ‘सुर्खेत र तनहुँमा समेत च्यारिटी शोको तयारी गरिसकिएको छ’, चलचित्रका निर्मातासमेत रहेका दीपक भन्छन्, ‘यी स्थानमा गर्ने च्यारिटीको तयारी अन्तिम अवस्थामा पुगेको छ ।’

दीपकले ‘यो कथा’का साथै ‘साथी पलपलको’लगायतका केही चलचित्रमा समेत अभिनय गरिसकेका छन् । ‘साथी पलपलको’ मा उनको गाउँको मुखियाको भूमिका छ । जसले गाउँ समाजलाई मिलाएर अघि बढाउन सहयोग गरेको हुन्छ भने बिकासको निम्ति अग्रणी भूमिका खेलेको हुन्छ ।

सानोमा दीपक जिज्ञासु स्वभावका थिए । सानोमा उनले सडक नाटक चासो दिएर हेर्दथे । सम्भव भएसम्म फिलिम हेर्न मन पराउँथे । एकपटक उनको घरको रेडियोमा नायक राजेश हमालको अन्तर्वार्ता बज्यो । अनि उनको मनमा पनि राजेश हमालजस्तै चर्चित बन्ने भूत सवार भएछ ।

deepak yo katha 2अलि ठूलो भएपछि उनले फिल्म हेर्ने मौका अलि बढी पाए । उनी भन्छन्, ‘राजेश हमाल, शिव श्रेष्ठ भनेपछि हुरुक्कै हुन्थें र ममा पनि त्यस्तै बन्ने चाहना हुन्थ्यो ।’ उनको त्यो चाहनाले त्यतिबेला मूर्त रुप लिन थाल्यो, जतिबेला उनी कक्षा ६ मा पढ्थे । ‘६ कक्षामा पढ्ने बेला मैले मेहनतको फल पाइन्छ भन्ने विषय भएको सडक नाटकमा अभिनय गर्ने मौका पाएँ’ उनी थप्छन्, ‘मेरो अभिनय हेरेर शिक्षकहरुले स्याबासी दिनुभयो ।’ त्यही स्याबासीले नै आफूलाई कलाकार बनाएको दीपकको कथन छ । यसका साथै उनी कला, साहित्य र संगीत फाँटमा पनि आफूलाई अघि बढाउँदै लगेका छन् । चेलीलाई माइतीघरको पाहुर– गीति एल्बम, अग्निदीप कविता संग्रह नै उनका विचारका साक्षी हुन् । विभिन्न संघसंस्थाबाट पुरस्कृत तथा सम्मानित भइसकेका दीपक आफ्नो जीवन सामाजिक कार्यमा लगाउने धारणा राख्छन् ।

ठूलो पर्दाका केही चलचित्रमा अभिनय गरिसकेपछि उनलाई राजधानीबाट निर्माण गरिने चलचित्रमा पनि बोलाउन थालिएको छ । ‘तर मोफसलमै बसेर मोफसललाई नै माथि उठाउनुपर्छ भन्ने मेरो सोच हो’, दीपक भन्छन्, ‘त्यसैले पनि म राजधानीमा फिल्म खेल्न गइनँ ।’ ग्रामीण क्षेत्रमा बसेर राष्ट्रियस्तरका चलचित्र निर्माण गरौं भन्ने आफ्नो चाहना रहेको उनको भनाई छ ।

कलाकारिता पनि एक किसिमको नशा भएको र यसलाई छोड्न नसकिने बताउने दीपक सानै उमेरदेखि यसै क्षेत्रमा क्रियाशील छन् । यस क्षेत्रलाई माथि कसरी उठाउने भन्ने चिन्ता उनमा हरदम भइरहन्छ । यस क्षेत्रलाई थप मर्यादित बनाउँदै व्यावसायिकतातिर लैजानुपर्ने धारणा राख्ने दीपक चलचित्रलाई मनोरञ्जन, शिक्षा र चेतनाको त्रिवेणीका रुपमा बुझ्छन् ।

झटारो, ऐना लगायतका आधा दर्जन टेलि सिरियलमा सशक्त भूमिका खेलेर वाहवाही पाएका दीपक ठूलो पर्दामा पनि राम्रोसँग जम्न सकून् । उनको कलाकारिताको पाटो अझ अघि बढोस् यही शुभेच्छा ।

By

Readers Comments (0)