Filed Under:  मनोरञ्जन

राष्ट्रको गौरव भीमदत्त | के एल पीडित

4th January 2015   ·   0 Comments

Bhimdatta 5गत मंगलबार घोराहीमा ऐतिहासिक चलचित्र भीमदत्तको विशेष प्रदर्शनी भयो । यसको संयोजन गर्ने सुन्दर औ महत्वपूर्ण अवसर मैले पाएँ, मलाई औधी गौरव औ रोमाञ्चक अनुभूति भएको छ । आर्थिक घाटा व्यहोर्नु परे पनि यसका प्रस्तुतकर्ता एवं नायक नवल खड्का र चलचित्रकर्मी श्रीराम पुडासैनीसँगको सामिप्यता औ आत्मीयता मेरा लागि निकै प्रीतिकर बन्यो ।

मेरा लागि नवल खड्का नेपाली चलचित्र क्षेत्रका सर्वाधिक आदरणीय व्यक्तित्व हुन् । म उनको व्यक्तित्व, दृष्टिकोण, आकांक्षा, सिर्जनशीलता औ विनयशीलताबाट सर्वाधिक प्रभावित छु । नेपाली चलचित्र क्षेत्रमा उनले फरक धार, शैली र प्रभाव निर्माण गरेका छन् र नेपाली कला संस्कृतिलाई समृद्ध औ गौरव प्रदान गरेका छन् ।

झण्डै दुई वर्षअघि उनको चलचित्र दशगजाको बारेमा दाङमा अन्तक्र्रिया भएको थियो र त्यसको संयोजन पनि मैले गरेको थिएँ । त्यहींबाट उनीसँग औपचारिक चिनजान भएको थियो । सीमा अतिक्रमण मुद्दा उठाइएको दशगजा एउटा कालजयी चलचित्र हो । यो चलचित्रलाई नेपाल सरकारले राष्ट्रिय जागरणको चलचित्र अवार्ड प्रदान गरेको थियो ।

चलचित्र आवाजदेखि दशगजा हुँदै भीमदत्तसम्म आइपुग्दा चलचित्रकर्मी एवं नायक खड्काले चलचित्र क्षेत्रमा नवीन मूल्य स्थापित गरेका छन् । चलचित्रकर्मलाई जनताको स्वतन्त्रता, मुक्ति र सपनासँग जोड्न सफल भएका छन् । हेपिएका, दबिएका र लुटिएका वर्ग, समुदाय र क्षेत्रको पक्षमा वकालत गरेका छन् र राष्ट्रको स्वाभिमान, स्वाधीनता र सार्वभौमिकताका पक्षमा पहरेदारी गरेका छन् । समाजमा व्याप्त बेथिति, व्यभिचार, शोषण, भेदभाव, अराजकता, हिंसा र मूल्यहरुको विघटनका सन्दर्भहरुलाई मूल विषयवस्तु बनाई उनले न्याय, समानता, स्वतन्त्रता, समृद्धि र मानवीय गरिमाका पक्षका आवाज बुलन्द गरेका छन् । र, त उनका चलचित्रहरु कालजयी बनेका छन् र उनी देश र जनताका एक असल नायकका रुपमा स्थापित भएका छन् ।

चलचित्र भीमदत्त हेरेपछि म निकै उत्साहित र गौरवान्वित भएको छु । मलाई भीमदत्त सबै दृष्टिकोणले निकै स्तरीय औ सार्थक चलचित्र लाग्यो । इतिहासको अुसन्धान, अन्वेषण तत्समयको समाज, परिवेश, चेतना र ऐतिहासिक व्यक्तिको जीवनीलाई कलात्मक औ भव्यतम रुपमा पुनःसिर्जन गर्नु चानचुने कुरा होइन । यस्तो जोखिम उठाएर नायक नवलले चलचित्र क्षेत्रलाई मात्र होइन सिंगो राष्ट्रलाई नै गौरवान्वित बनाएका छन् । चलचित्र भीमदत्त राष्ट्रको गौरव बनेको छ ।

भीमदत्त सुदूरपश्चिमको डडेल्धुरामा जन्मिएका एक क्रान्तिकारी योद्धा हुन् । उनले जमिन्दारी प्रथा, जातीय विभेदका एवं शोषण उत्पीडनका विरुद्धमा न्यायपूर्ण आन्दोलन चलाएका थिए । समाजका शोषक, सामन्त र उत्पीडनकारी राज्यव्यवस्थाका विरुद्ध उनले सशस्त्र फौज तयार गरी विद्रोह गरेका थिए । उनी त्यो समयको एक अग्रणी न्याय योद्धा थिए । तत्कालीन नेपाली सेना र भारतीय सेनासँग उनले युद्ध लड्नु परेको थियो । जनताको व्यापक समर्थन पाएका भीमदत्तसँग अत्तालिएका तत्कालीन शासक वर्गले उनको षड्यन्त्रपूर्ण तरिकाले हत्या गरेका थिए ।

चलचित्र भीमदत्तमा न्याय योद्धा भीमदत्तको जीवन संघर्ष, उनी जन्मेको डडेल्धुराको कारिन गाउँ, त्यहाँको सामाजिक, साँस्कृतिक परिवेश, स्थानीय भाषा, संस्कृतिलगायत भीमदत्त, तत्कालीन काजी विष्टका घर, भीमदत्तका सेना तथा आफन्तहरु पनि चलचित्रमा समेटिएका छन् । भीमदत्तको भूमिकामा देखिएका नायक नवल खड्का अत्यन्त प्रभावशाली देखिएका छन् । उनको अभिनय र व्यक्तित्वले भीमदत्तलाई जिवन्त बनाएको छ । फिल्म सकिए पनि दर्शकमा उनको प्रभाव रहिरहन्छ । दर्शकहरु साँच्चिकै भीमदत्तसँग साक्षात्कार भएको अनुभव गर्छन् र भावविभोर हुन्छन् ।

यस चलचित्रको विषयवस्तु र परिवेश ऐतिहासिक भए पनि त्यसलाई वर्तमानसँग पनि जोडिएको छ । वर्तमान नेपाली राजनीतिमा देखिएको भ्रष्टीकरण, अपराधीकरण, दिशाहीनता औ मूल्यहीनताको अवस्था, नेपाली समाजले भोगिरहेको बेथिति, व्यभिचार, अराजकता औ हिंसा र न्याय, समानता र समृद्धिको चाहना र आकांक्षाले अभिप्रेरित युवाहरुको मनोविज्ञानको कलात्मक चित्रणले चलचित्र निकै सार्थक औ रुचिकर बनेको छ ।

चलचित्र मनोहर एवं कलात्मक दृश्यबिम्बहरुले भरिपूर्ण छ । घटना, सन्दर्भ, पात्र र दृश्यहरुको तादात्मकता निकै लयपूर्ण छ । शुरुवातदेखि चलचित्रमा एक किसिमको गति र लय निर्माण भएको छ र त्यो एकनासले वेगवान हुँदै जान्छ । अनुभूति र भावनात्मक प्रभावले दर्शकहरुलाई बलियोसँग बाँध्दै लैजान्छ । कथावाचन शैलीमा नवीनता र प्रयोगशीलता देखिन्छ भने इतिहास र वर्तमानको सार्थक औ चातुर्यपूर्ण संयोजनले चलचित्र समृद्ध बनेको छ । निर्माणका दृष्टिकोणले भीमदत्तले हलिउडका चलचित्रको स्तरलाई छोएको छ । समग्रमा यो सबै नेपालीले हेर्नै पर्ने चलचित्र बनेको छ ।

आगामी फागुन २२ देखि नेपालभर प्रदर्शनमा आउन लागेको चलचित्र भीमदत्त ६५ वर्ष माथिका जेष्ठ नागरिकहरुलाई निःशुल्क हेर्ने व्यवस्था गरिएको छ । चलचित्रमा नवल खड्का, श्रीराम पुडासैनी, निशा अधिकारी, सुमिना घिमिरे, सञ्जय खतिवडा, कमली वाइवा, रमेश बुढाथोकी, लय संग्रौला आदिको अभिनय रहेको छ । फिल्मको निर्देशन हिमग्याप लामा (टासी)ले गरेका छन् । कथा, गीत तथा संगीत मणि थापाको रहेको छ ।

By

Readers Comments (0)