Filed Under:  समीक्षा

जागिरभित्रका सूर्यनाथ

4th January 2015   ·   0 Comments

khemraj_sharma- खेमराज शर्मा

कुनै व्यक्तिले आफ्नो जीवनको केही खण्डमा घटित घटना र अनुभवलाई सिलसिलाबद्ध तरिकाले पाठकसामु पस्केको सिर्जनलाई आत्मवृतान्त भनिन्छ । आत्मवृतान्त प्रथम पुरुषमा निजात्मक विषय र सन्दर्भलाई सुन्दर ढंगले उनिएको स्वजीवनी हो भन्दा फरक नपर्ला । यसमा प्रमुख पात्र स्वयम् लेखक नै हुने गर्दछ । आत्मपरक रचना आत्मवृतान्त गद्य वा पद्य दुबैमा लेख्न सकिन्छ । यसमा निजात्मक संवेगलाई आत्मसात गरेका घटना वा अनुभूतिहरुलाई विषयीकरण गरी प्रकटीकरण गरिएको हुन्छ । ‘जागिरभित्र’ आत्मवृतान्त कृति निबन्धात्मक शैलीमा उनिएको छ ।

बुवा देवीप्रसाद सापकोटा र आमा चन्द्रकला सापकोटाको कोखबाट वि.सं. २००५ साल मंसिर ८ गते बाग्लुङ रातामाटामा जन्मिएका थिए आत्मवृतान्तकार सापकोटा । रातामाटाका पाखा पखेरामा डिङाबाच्छा चराउँदै, सुसेली खेल्दै, रमाउँदै हुर्केका थिए उनी । कालीगण्डकीको सुमधुर लयमा बग्दै गर्दा साहित्यिक बिजाङ्कुरण भएको थियो बाल्यकालमै ।

Jagir Bhitraपारिवारिक सम्पन्नता हुँदाहुँदै पनि बुवाको गैरजिम्मेवारीपूर्ण व्यवहारले गरिबीको अवस्थाबाट गुज्रिएको थियो सापकोटा परिवार । आफ्नी हजुरआमाको स्याहार, स्नेह र प्रेरणाले ज्ञानको आँखा खोल्ने ध्याउन्नमा लागेका थिए बालक सूर्यनाथ ।

बूढी आमा, जोइ र बालबच्चा छोराछोरीको मेहनत पाकिरहेको खेतमा देवीप्रसादको जुवा हरौरीको कारण पराइले खेती स्याहार्दाको अवस्था कम टिठलाग्दो छैन । घरको रेखदेख पु¥याउँदै र सूर्यनाथलाई पढाइमा प्रेरित गर्दै आएकी जीआमाको मृत्युले सापकोटा परिवारमा ‘साँप्रामाथि पिलो’जस्तै भएको थियो । आफ्ना दौंतरीहरु कापी, किताब बोकेर पढ्न गएको देख्दा मन रुवाएर घरमै खुम्चनु परेको थियो सापकोटालाई ।

सूर्यनाथ सापकोटा बाल्यकालदेखि नै साहसी र आफूले चाहेको कुरा गरेरै छाड्ने स्वभावका थिए । गरिबीको कठोर ढुंगो चपाउँदै पढाइमा संघर्ष गर्न पुगे । छोटो अवधिमै पढाइमा राम्रो प्रगति गरेका थिए उनले । सापकोटा परिवारमा अर्थाभावले नराम्ररी गिजोलेको पाइन्छ । त्यसको कारक भनेकै उनका बाबु देवीप्रसाद थिए । अभावले नै मानिसलाई संघर्षशील र सिर्जनशील बनाउँछ । घरको दुरावस्थाको हण्डरले छटपटिएका सूर्यनाथलाई पढाइ पूरा नगर्दै जागिरमा लाग्नुप¥यो ।

जागिरभित्रको आत्मवृतान्तमा सूर्यनाथले जागिर पूर्वको अध्ययनकाल र जागिरमा लागिसकेपछिको अवस्थाको वर्णन गरेका छन् । प्रस्तुत पुस्तक जागिरभित्रको काँडाघारी हो भन्दा पनि फरक नपर्ला । जसबाट तमाम अवधिभर घोचिनुप¥यो । उनी जागिरमा प्रवेश गरेर पनि चुप लागेनन् । जागिरकालमै लोकसेवा आयोगको परीक्षा दिदै र शैक्षिक योग्यता बढाउँदै गए । संघर्षको फल मीठो हुन्छ भन्ने मूलमन्त्रलाई आत्मसात गरेका सापकोटाले कहिल्यै पनि शीर निहु¥याएर जागिर पकाएनन् ।

प्रस्तुत पुस्तकमा सूर्यनाथले निम्नस्तरीय कर्मचारीले भोग्नुपरेका पीडाहरु नबिराई उल्लेख गरेका छन् । पञ्चायतकाल, बहुदलकाल वा लोकतन्त्रकाल जहिले पनि हाकिम र ठूला कर्मचारीको चाकडी गर्नुपर्ने घिनलाग्दो स्थितिको झलक पाइन्छ । कर्मचारीमा कार्यदक्षताभन्दा चाकडी प्रथाले सुअवसर पाउने कुरा प्रष्ट्याइएको छ । इमान्दार र सोझा कर्मचारीहरुमाथि भएका पक्षपातपूर्ण बक्र व्यवहारले निकै डामिन पुगे सूर्यनाथ । प्रस्तुत पुस्तकमा उनले निजामति कर्मचारी वृत्तमा हुने चाकडी प्रथाको नालीबेली पेश गरेका छन् ।

सूर्यनाथ सापकोटा समस्याबाट भाग्ने स्वभावका कर्मचारी नभएर नयाँ काम गर्नलाई समस्याको खोजी गर्ने खालका व्यक्ति हुन् । उनको जागिरे अवस्था निकै सनसनीपूर्ण तथा उतारचढावपूर्ण देखिन्छ । उनी प्रष्ट वक्ताको रुपमा देखा परेका छन् । अलि नगहिरिएर प्याच्च बोल्ने बानीले गर्दा पनि दुःख पाएको कुरा कृतिमा उल्लेख छ ।

नौ वटा पुस्तक छपाइसकेका सापकोटा एक इमान्दार लेखकका रुपमा देखा परेका छन् । उनले कतै पनि कुरा बङ्ग्याएको र लुकाएको देखिदैन । प्रस्तुत पुस्तक लेखकले भोगे व्यहोरेका अनुभूतिहरुलाई ४१ खण्डमा बाँधेका छन् । प्रस्तुत पुस्तक लेखकको अनुभवको संगालो मात्र नभएर जीवनको आंशिक इतिहास पनि हो । जागिरपश्चातका अनुभवहरु भने आउन बाँकी नै छ । प्रस्तुत कृति सरल वाक्यमा संरचित भएको हुनाले बोधगम्य छ ।

प्रथम पुरुषमा संरचित प्रस्तुत कृति निजात्मक विषय भएकाले यसको परिदृश्य पनि लेखककै सेरोफेरोभन्दा बाहिर गएको छैन । यो उनको सुख दुःखको संगालो पनि हो ।

माक्र्सवादी सौन्दर्य चिन्तनमा विश्वास राख्ने सापकोटा एक यथार्थवादी साहित्यकार हुन् । उनी निर्भिक छन् र कर्ममा विश्वास गर्दछन् । स्वजीवनी मूलक भएता पनि यसको अध्ययनबाट तत्कालीन समयका सामाजिक तथा राजनीतिक परिदृश्यहरु पाठकसामू सल्बलाउन पुग्दछन् । जनजिब्रोमा झुण्डिएका कयौं लोक भनाई–टुक्काहरुको यथेष्ट प्रयोगले पाठकलाई तान्न उनी सफल देखिन्छन् । उनी बनावटी शब्दमा भन्दा ग्रामीण शब्दहरुसँग बढी खेल्न खोजेका छन् ।

प्रस्तुत पुस्तकको आकार केही ठूलो भएकाले पाठक पुस्तकमा प्रवेश गर्नुपूर्व नै तर्सिने खालको छ । औसत पाठकले किन्न सक्ने मूल्य छ । एक पाको लेखकको सिर्जनामा हुने परिपक्वता स्पष्ट देखिन्छ । पुस्तकमा अन्य पात्रहरुको भनाइ जस्ताको तस्तै राखेको भए अझ रोचक हुने थियो । केही विषयहरु पटक–पटक दोहोरिनाले अत्यास लाग्न सक्छ । लेखकले रुखो र छुचो भनी आफै लेखिसकेका छन् । त्यसको प्रतिफल विभिन्न समयमा भोगेका पनि छन् । सफल साहित्यकार सूर्यनाथ सापकोटाको जागिरभित्रको आत्मवृतान्त एक ज्ञानवर्धक, जानकारीमूलक पठन सामग्रीको रुपमा देखा परेको छ । आगामी दिनमा उनीबाट अझ गहकिला कृतिहरु जन्मिदै जाऊन्, शुभकामना ।

By

Readers Comments (0)