Filed Under:  कुराकानी

साहित्य जीवनको मार्गदर्शन हो

4th January 2015   ·   0 Comments

Bhavesh_1–भावेश भुमरी, साहित्यकार

समकालीन नेपाली गीतसंगीत र साहित्य लेखनमा भावेश भुमरी स्थापित नाम हो । प्यूठानमा जन्मिएर काठमाडौंलाई कर्मथलो बनाएका उनका भोक इल्टा नाघेर सेलाउँछ कविता संग्रह, आधुनिक एल्बमहरु भिन्नता, भरोसा, भावना, भूमिका, आधा दर्जनजति गीतसंग्रह प्रकाशित गरिसकेका छन् । गीतकार संघले प्रदान गरेको एक लाख रुपैयाँ राशीको उत्कृष्ट गीतकार पुरस्कार–२०७०, प्रतिभा पुरस्कारलगायत थुप्रै पुरस्कार तथा सम्मानबाट सम्मानित भइसकेका भूमरीसँग नयाँ युगबोध दैनिक सौगातका लागि रमेश सुवेदीले कुराकानी गरेका छन् ।

तपाईं कवि, लेखक तथा गीतकारको रूपमा परिचत हुनुहुन्छ । आफ्नो नजरमा लेखनको प्रमुख विधा के लाई मान्नुहुन्छ ?

मेरो हालका क्रियाकलापहरूले मलाई धेरैले गीतकारको रूपमा बढी क्रियाशील देख्नुहुन्छ । मैले मेरो एल्बम र अन्य काम गर्दै आएका कारण पनि यस्तो देखिएको हो तर म पूरै गीतमा लागेको चाहिं होइन । मलाई सर्वाधिक मनपर्ने विधा कविता हो । मैले शुरुमा बढी कविता लेखें र अहिले पनि लेख्दैछु ।

बाहिर आउने र नआउने कुराले यस्तो बनाइदिने रहेछ । मेरा तीनवटा एल्बमका गीतहरू बजारमा आएका छन् र चलेका पनि छन् । चारवटा गीतका किताब पनि । यसैले मलाई गीतमा बढी लागेको देख्नु पनि स्वभाविक हो । यतातिर बढी लाग्नका लागि सङ्गीतकार र गायक गायिकाहरूले पनि घचघच्याएका छन् ।

बाहिरबाट हेरिनु र आफूबाट काम गरिनुमा केही फरक छन् मेरो सन्दर्भमा । एउटा कविता संग्रहबाहेक मेरा अन्य विधाका कृतिहरू बजारमा आएका छैनन् । मैले एउटा उपन्यास र संस्मरणको किताबको पाण्डुलिपि पनि तयार गरेको छु, सायद चाँडै बजारमा आउलान् । यसैले मैले मेरो यो विधा प्रमुख हो भन्नुभन्दा पनि पाठक र समालोचकहरूले भनिदिने विषय हो भन्ने लाग्छ । तर म यति भन्न सक्छु, मेरो यसप्रतिको लगावकै कारण यो क्षेत्रलाई रोजें ।

तपाईंको विचारमा साहित्य के हो र कस्तो हुनुपर्छ ?

मेरो विचारमा साहित्य जीवनको नियम हो, कला हो र व्यावहारिक दर्शन हो । मैले आफ्नो व्यक्तिगत जीवनमा साहित्यको माध्यमबाट जुन अर्थ र सम्भावना देख्दै आएको छु, अरूबाट देखेको छैन । यही कारण पनि म साहित्य जीवनको अमूल्य मार्गदर्शक बन्नुपर्छ भन्ने सोच राख्छु । यसले हरेक व्यक्तिलाई अगाडि बढ्न प्रेरित गर्नुपर्छ । जीवनका हरेक सुख, दुःखमा यो साथी बन्नुपर्छ ।

साहित्यमा के कारणले लाग्नुभयो ? यसबाट के पाउनुभयो ? के गुमाउनुभयो ?

यसमा म मेरो बाल्यकालतिर फर्कनुपर्छ । म विद्यालयकै एक जेहेन्दार विद्यार्थी थिएँ– गुरु गुरुआमाहरूको आँखाको नानीजस्तो । पढाइमा राम्रो भएका कारण उत्तरदायित्व पनि बढी नै हुन्छन् । मलाई जिल्लामा हुने विद्यालयस्तरीय हरेक कार्यक्रममा सहभागी हुने र पुरस्कार जित्नैपर्ने उत्तरदायित्व थियो । बढी निबन्ध प्रतियोगिताहरू हुन्थे । प्राथमिक तहमा पढ्ने म निमावि तहको जिल्लास्तरीय निबन्ध लेखन प्रतियोगितामा प्रथम हुँदाको वाहवाह अहिले पनि सम्झन्छु ।

लेख्नका लागि साहित्यिक किताबहरू खुब पढ्थें । पढेर आफै लेख्ने अभ्यास गरें र यतातिर मोडिएँ । यो दुई दशकभन्दा लामो साहित्यिक यात्रामा मैले सबैभन्दा बढी त जीवनकै दर्शन पाएको छु अनि यसले आफन्त बनाएका व्यक्तिहरू ।

यसमा लाग्दा मैले गुमाएका मेरा बाल्यकालका अत्यन्त मिल्ने साथीहरू नै हुन् । सायद यो ठाउँमा नआएको भए म गाउँमा हुन्थें र उनीहरूसितै खेतीपाती र अन्य काम गर्थें । आर्थिक कुराहरू त छँदैछन् । आर्थिक कमाइ गरेका साथीहरूसँगको घनिष्टता हुँदैन । घरपरिवारलाई दिने समयको त के कुरा भयो र ! धेरै समय यसैमा जान्छ ।

काठमाडौंमा रहेर तपाईं राप्तीको साहित्यलाई कसरी हेरिरहनुभएको छ ?

राप्ती जहाँ मेरो जन्मथलो हो भनेर म गर्व गर्छु, यसले मलाई जुन आधारहरू बनाइदिएको छ, म सधैं अनुगृहित छु । तर समग्रमा हेर्दा राप्तीको साहित्यले काठमाडौं केन्द्रमा बलियो पहुँच बनाउन सकेको छैन । राप्ती भनेको दाङ हो भन्ने धेरैको बुझाइ छ र गतिविधिहरू पनि यस्तै देखिन्छन् । अरू जिल्लाका गतिविधि अत्यन्त नगन्य नै छन् । जति स्रष्टाका लागि पुरस्कार छन् दाङमै छन् र यहीं केन्द्रित छन् । यसले गर्दा दाङ राप्तीको सङ्गमस्थल हो भन्नेमा दुई मत छैन ।

अब दाङले दाङकै लागि मात्रै भनेर साहित्य लेख्ने अवस्था भएन । सिङ्गो देशका लागि भनेर लेख्नुप¥यो । देशको साहित्यिक पेरिफेरीमा रहन सक्नुप¥यो । अझ नेतृत्व गर्न अगाडि आउने सम्भावनाहरू खोज्नुप¥यो । एउटा कटुसत्य भनेको दाङमै बस्ने मात्रै राप्तीका साहित्यकार होइनन् । राप्तीमा जन्मेर बाहिर बसी साधना गरिरहेका स्रष्टा पनि राप्तीकै हुन् । उनीहरूको कामलाई मनन गरिदिए अति राम्रो हुन्थ्यो ।

नेपाली साहित्य कता जाँदैछ नि ?

नेपाली साहित्य अहिले बजारमुखी बन्दै आएको हो भन्ने कुरा धेरैले बुझ्नुभएको छ । अहिले कस्ता कृति र विधाले बजार लिएका छन् भन्ने कुरा हामीले बुझ्नुपर्छ र यस्ता विधाले कहिलेसम्म बजार ओगट्ने त भन्ने कुरा पनि महत्वपूर्ण छ । अहिले सरल भाषाशैलीमा लेखिएका संस्मरण र जीवन संघर्षका पुस्तकहरू बढी चलेका छन् । यसले बिस्तारै गम्भीर साहित्य पढ्ने पाठकहरू पनि बढाउँदै जानेछ र हामीले लेख्ने काम गर्नुपर्छ भन्ने लाग्छ ।

तपाईको विचारमा साहित्यमा वाद र विचार के हो ? के यो जरुरी छ ? प्रगतिशील वा प्रजातान्त्रिक धार लेखन र व्यवहारले मापन गरिन्छ कि अमूक पार्टीसँगको संलग्नता तथा रसिद काटेको आधारमा ?

साहित्य सङ्कोचित वाद र विचारभन्दा धेरै माथि छ भन्ने लाग्छ मलाई । साहित्यमा एउटा दर्शनको आवश्यकता छ तर कुनै पार्टीको राजनीतिक ध्रुवीय वादको होइन ।
नेपालमा यो बुझ्नै नसकिने कुरो भएको छ । आजसम्म आफ्नो पार्टीमा हुँदा उसका हरेक रचना आफ्नै हुने तर भोलि अर्कै पार्टीमा लागे उसका रचनालाई पानीबार लगाउने । यस्तो प्रतिशोधको भावनाले साहित्यको विकास कसरी हुन्छ ? कृति गौण हो कि लेखक ? एउटा लेखकलाई आफ्ना कृति गौण हो कि पार्टी ? वास्तवमा पार्टीको रसिदले लेखकलाई कहिले पनि प्रगतिशील वा प्रजातान्त्रिक धारको भनेर मापन गर्दैन ।

पार्टीको विचारलाई बोकी हिड्दा भित्र चाहेर पनि बाहिर अभिव्यक्त गर्न नसक्नेहरू धेरै छन् । तिनीहरूले आफ्नै सिर्जनाको अपराधी बनेको छु भन्ने महसुस गरी बाहिर निस्केर लेख्ने साहस गर्नुपर्छ । यहाँ पार्टीमै नलागेकालाई प्रगतिशील वा प्रजातान्त्रिक केही भन्नै नमिल्ने भन्ने कुरा पनि आउँछ । पार्टीबाहिर रहेकाले पनि पार्टीमा खाँदिएकाले भन्दा चर्को रचना दिए के भन्ने ? यो महत्वपूर्ण प्रश्न हो ।

यत्ति चाहिं हो, अस्तिदेखि मात्रै लेख्न थालेका, हिजो रसिद काटेर पार्टीमा लागेकाले आज मानसम्मान र राम्रा अवसर पड्काएका छन् । यही लोभका कारण धेरै लेखकहरू पार्टीमा लागेका छन् तर जिब्रोमा मात्र पार्टी बोक्छन्, हृदयमा पार्टी हुँदैन । यो त नेताहरूले बुझ्ने कुरा हो । यही दुर्भाग्यकै कारण यहाँ जुन प्रकारको साहित्यको विकास हुनुपर्ने हो, त्यो पटक्कै हुन सकेको छैन ।

तपाईं गीत र सङ्गीतमा बढी अध्ययन गरेको तथा यसैमा निरन्तर लागिरहेको व्यक्ति हुनुहुन्छ । तपाईंको विचारमा गीत÷सङ्गीत के हो ? अनि अहिलेको नेपाली गीतसङ्गीतको प्रवृत्ति तपाईंलाई कस्तो लाग्छ ? यसलाई सुधार्न के गर्नुपर्ला ? परम्परागत लोकगीत आदिको अवस्था तथा प्रवृत्तिका बारेमा तपाईंको के प्रतिक्रिया छ ?

मैले अलि बढी अध्यययन गरेको विधा गीत हो । जुन बेला मैले स्नातकोत्तर तहमा सिर्जनापत्र तयार पार्दै थिएँ यससम्बन्धी शोध पनि गर्नुप¥यो । सो समयमा अलि बढी गहिरिएर पढें । वास्तवमा लेख्ने सर्जकले सिद्धान्त पढ्दा निकै फाइदा हुन्छ ।

मैले अहिलेसम्मको बुझाइमा गीतलाई जीवनको प्रेरक कुरा मानेको छु । यसले मान्छेलाई हरेक पाइलामा साथ दिएको हुन्छ । यस्तो पवित्र क्षेत्रमा हाल साधना गरेका थोरै मान्छे मात्रै छन् भने धेरैको नितान्त व्यक्तिगत स्वार्थले यस चिजलाई विकृत बनाइएको छ । साँच्चै भन्दा व्यक्तिगत स्वार्थका लागि गीतसङ्गीतलाई भ¥याङ बनाउनेहरूको भिड छ । नामका भोका, भ्रष्टाचारी, दुराचारी, व्यभिचारी सबै सबैले आफ्नो कालो अनुहारलाई सेतो बनाउन यतै पसेका छन् । यस्ता मान्छेहरू गीतसङ्गीतमा पसेपछि यसको स्तरलाई यिनीहरूले गिराउनु गिराइदिएका छन् । यसलाई मापन गर्ने कुनै संयन्त्र छैन । अब जतिसक्दो छिटो यसको स्तरीकरणमा ध्यान दिइएन भने यो क्षेत्र लाजमर्दो बन्नेछ ।

अहिले हरेक कुरा पैसाले नाप्ने गर्छ र सही र प्रतिभावान् स्रष्टाहरू स्वतः पलायन हुँदैछन् । यसको स्तरका लागि गीतकार, सङ्गीतकार, गायक–गायिका कसैले आवाज उठाएका छैनन् । यहाँ धेरै संघसंस्था खुलेका छन् तर कार्यसमितिका टाँठाबाठाहरूका स्वार्थका लागि मात्रै काम भएका छन् ।

यस क्षेत्रमा सरकारको लगानी शून्यप्रायः नै छ । यस्तो गम्भीर अवस्थामा यस क्षेत्रप्रति निस्वार्थ भावना राख्ने र यसको सही भविष्य चाहनेहरूले समयमै कदम चाली सरकारलाई बलियो नीति बनाउन बाध्य बनाउनैपर्छ ।

परम्परागत लोकगीतको अवस्था तथा प्रवृत्तिको जुन सन्दर्भ छ, वास्तवमा हाम्रो आफ्नो मौलिकता र इतिहास भनेकै यही हो । यसको आधारमा अन्य गीत सङ्गीत बनेका छन् भन्न अहिलेका ठूला गीतकार, सङ्गीतकार तथा गायक–गायिकालाई बडो अप्ठ्यारो लाग्छ । तर म गर्वका साथ भन्छु, हामी यही परम्परागत लोकगीतकै पेरिफेरीबाट आफूलाई स्थापित गराइरहेछौं । अहिले आएर लोकगीत लोकगीतै छ भन्न मिल्ने अवस्थामा छैन । कोठामा तयार पारिएका कोठेधुनमा सस्ता र छाडा शब्द राखेर जुन लोक दोहोरीकै नामले गीत बनाइँदै आइएको छ, यसलाई अरू कुनै अर्को नाम दिन सकेको भए लोकगीतको विरासतले यति आक्षेप बेहार्नुपर्ने थिएन ।

साहित्य तथा कलालाई राज्यले अझै पनि अनुत्पादनमूलक क्षेत्रको रूपमा हेर्ने परिपाटी छ भनिन्छ । तपाईंको विचारमा यो सत्य हो ? साहित्यकार तथा कलाकारहरूप्रति राज्यको दायित्व के हुनुपर्छ ?

साहित्य र कलाले राज्यलाई चेतनशील बनाउँछ भन्ने कुरा राजनीति गर्नेले बुझेका छन् र नबुझेको अभिनय गर्दै सत्ताको स्वादमा टाँसिइरहनका लागि यस्तो भन्छन् । यो राज्यले कुन क्षेत्रलाई त्यस्तो उत्पादक देखेको छ र राजनीतिबाहेक ! दशकौंदेखि लेख्नेहरू त्यही ठाउँमा लेखिरहेका छन् तर हिजो गाउँमा हात्तीछाप चप्पल लगाएर राजनीति गर्नेहरूमध्ये धेरैले आज बङ्गला ठड्याएका छन् अनि कहाँ उत्पादक देख्न सक्छन् त साहित्य र कलालाई ?

तपाईंको पारिवारिक अवस्था नै साहित्यिक छ भन्छन् नि ?

हो, हामी लेख्छौं दुबै जनाले । प्रणिता चामलिङको ‘तिमीजस्तै म पनि’ गीतसङ्ग्रह प्रकाशित छ भने अर्को कृतिको लेखनमा छिन् । मेरो साला भाइ पनि लेख्छन्, कवितासङ्ग्रह निकालेका छन् । हामी बढी लेख्नतिरै लाग्दै आएका छौं ।

By

Readers Comments (0)