Filed Under:  विचार | टिप्पणी

अक्षरधाम बर्गदी | एकराज शर्मा

4th January 2015   ·   0 Comments

Yakraj Sharmaआजको द्वन्द्व हो परिचय र पहिचानको । मानिसले गर्ने सम्पूर्ण प्रयासहरु, प्रयत्नहरु पहिचानकै लागि हो । कोही ठूलो विद्वान बनेर आफ्नो पहिचान दिन चाहन्छन् भने कोही गीतकार, संगीतकार, लेखक, साहित्यकार, कलाकार आदि बनेर सकेसम्म विशिष्ट, नभए साधारण पहिचान भए पनि दिन चाहन्छ । यो व्यक्तिको व्यक्त हुने, आफू प्रकट हुने, आफूलाई चिनाउने स्वभाव हो । जानकार भएदेखि मृत्युपर्यन्त गरिने प्रयास हो । विशिष्ट पहिचानकै लागि गरिने प्रयासमा कहीं सहमति–विमति हुँदा द्वन्द्व हुन्छ, इष्र्या पनि हुन्छ । समाजमा देखिने असहिष्णुताले गर्दा बलिया र कमजोरका बीचमा देखिने द्वन्द्व यो पहिचानको लागिको द्वन्द्व हो । एउटा यथास्थितिमा रमाउन चाहन्छ भने अर्को प्रगति र परिवर्तनको विशिष्टतामा रमाउन चाहन्छ ।

एउटा बीज कठोर चट्टानको कुना काप्चाबाट पनि बाहिर निस्केर संसारको सौन्दर्य हेर्न चाहन्छ, यो जीवनको यथार्थ हो । मानिस आफ्नो मात्र होइन, जन्मथलो, कर्मथलो, आफ्नो देश, आफ्नो परिवेशको पहिचान पनि दिन चाहन्छ । पृथ्वीमा समस्त वस्तुहरुको, जीवजन्तुहरुको आफ्नै नाम, गुण, पहिचान र स्वभाव हुन्छ । यिनीलाई पनि चिनाउन चाहन्छ । यदि परिवेशमा नारायणजीबाट सवारीकोटले पनि परिचय पाएको छ होला । यसका पनि धेरै परिचयहरु, कोहीले केही त परिचय दिने कोसिस गरे ।

बर्गदी यो हाम्रो पूर्खाहरुको जन्मथलो, कर्मथलो थियो । यसले पनि आफ्नो समयमा राम्रै परिचय दिएको थियो । गोटी, बिजौरी (डोटेलडाँडो), दोघरे, तुलसीपुर (हाल भारत) भैंसाही आदि ठाउँहरुमा घुमन्ते संघर्षशील जीवन ब्यहोर्दै विश्राम लिएको ठाउँ थियो– बर्गदी । यसको परिचय मात्रै थियो बर्गदै बर्गद– बरका रुखै रुखहरु भएको ठाउँ, दण्डकारण्यको पञ्चवटी जस्तो ठाउँ थियो बर्गदी । यहीं हाम्रा पूर्खाहरुले परिश्रमका बीजहरु रोपे । घुमन्ते जीवनबाट परिवारलाई उन्मुक्ति दिने प्रयास गरे । विपन्नतासँग संघर्ष गर्दै सम्पन्नताको जीवन जीउने अवसर पनि पाए । आफ्नो समयानुकूल परिचय पनि दिए । जीवन चक्रको गति सधैं एकैनास चल्दो रहेनछ । अहिले विस्थापित छन् धेरै यसका सन्ततिहरु सधै एकै ठाउँमा अटाउन सकेनन् । यसका परिवारहरु सम्पन्नहरु सम्पन्न ठाउँको खोजीमा यता उतातिर लागे । केहीलाई द्वन्द्वले प्रत्यक्ष विस्थापित ग¥यो भने केही द्वन्द्वको अन्तरपीडाबाट विस्थापित भए । केही छन् अवशिष्ट सन्ततिहरु पूर्खाको पौरख धान्न सकिन्छ कि भन्ने विश्वासमा ।

यही अवशिष्ट सन्ततिको नयाँ प्रयास हो कि ? नयाँ नाम, नयाँ सोचसहितको अक्षरधाम– बर्गदीको । सजिलो थियो पहिले बुझ्न बर्गदीलाई । बरहरुको झुण्ड भएको ठाउँ । अहिले नयाँ रुप र स्वरुपमा चिनाउन बर्गदीलाई धेरै वर्षपछिको यता–उतीको बसाइपछि बूढौलीमा बर्गदीलाई नयाँ स्वरुपमा चिनाउन– बर्गदी पसे नारायणजी ।

धेरैलाई लाग्यो होला जग्गा जमिन, साग, मूलो, गाउँ– परिवेशको मोह बढ्यो होला, शान्त–एकान्त, स्वतन्त्र जीवनको आकांक्षा बढ्यो होला नारायणजीको तर उनले बर्गदीलाई अक्षरधामको रुपमा नयाँ स्वरुप र नाममा चिनाउने एउटा संकल्पको रुपमा आफू प्रस्तुत भएको प्रष्ट पारे । संकल्पलाई आन्तरिक आकांक्षालाई प्रष्ट पार्न विशेष प्रयासको साथ अगाडि बढ्नुपर्दछ ।

के हो अक्षरधाम ? भावनात्मकरुपले होइन अहिलेको भाषामा कार्यक्रमको रुपमा प्रष्ट पारिनुपर्दछ । अक्षरं ब्रंहाः परम भनेको छ, अक्षर भनेको ब्रह्म र धाम भनेको ठाउँ हो । बद्रीनाथ धाम, केदारनाथ धाम बुझ्न सजिलो भएको छ तर अक्षरधाम धेरै गहकिलो, भावात्मक नाम राखियो ।

अक्षर भनेको नाशै नहुने पनि हो, नाशै नहुने काम के हुन सक्छन् ? देखाउन बुझाउन कठिन त अवश्य पनि छ तर पनि राम्रोतिर बढ्ने लक्ष्य प्रयास अवश्य पनि प्रशंसनीय हुन्छ नै । सो हो नारायणजीलाई ठट्टै ठट्टामा के हो अक्षरधाम भनेको ? मलाई जानकारै मानेर हो वा के हो धेरै ब्याख्या गरेनन् । देखाए भौतिक संरचनाहरु अफिस कोठा, मिटिङ्ग हल, निरक्षर प्रौढहरुलाई अक्षर चिनाउने, कृषकहरुको समूह निर्माण गरी कृषि जीवनलाई कसरी समुन्नत पार्ने आदि कार्यक्रमहरु रहेको देखें– लाग्यो यत्तिकैमा अक्षरधामको अर्थ र भाव प्रष्ट हुन्छ त ? पर्याप्त मान्न सकेन । तैपनि आफूले केही गर्न नसक्ने, बूढोलाई घोचिरहन पनि त ठीक होइन जस्तो लाग्छ ।

अक्षरधाम सुन्दर नाम छ, यसको लक्ष्य र उद्देश्य प्रष्ट हुनुपर्दछ । मैले त बुझेको हो । नाराणजीको परिचयसँग यसको साइनो गाँसिएको हुनुपर्छ । उनी अक्षरसँग खेल्न लागेको १२–१३ वर्षको उमेरदेखि हो । अक्षरहरुसँग खेल्ने खेलाडीको रुपमा परिचय छ नारायणजीको । गेंदाहरुको क्रिकेट बलसँग खेल्नेहरुलाई खेलाडी भनेझैं अक्षरहरुसँग खेल्नेहरुलाई लेखक, कवि, साहित्यकार भनिन्छ । अक्षरहरुको जोड शब्द, शब्दको जोड वाक्यहरुलाई सुन्दर र सरस हुने गरी ढंगले चुनी–चुनी प्रयोग गर्ने कला जानेको कवि साहित्यकार हो ।

भनेको छ– ‘एक शब्दः सुप्रयुक्तः सम्यकज्ञातः स्वर्गे लोकेच कमधुक भवती’ शब्दहरुलाई चिन्नु जान्नु कहाँ कसरी प्रयोग गर्ने, कौशल राख्ने व्यक्ति त कवि हो, साहित्यकार हो । सुनबाट गहना बनाउनेलाई सुनार भनेझैं… सुन्दर शब्दहरुको आभूषण बनाउने साहित्यकार हो । ‘एकमात्रालागवेन पुत्रोत्शवं मन्यन्ते वैयाकरणा’ । एउटा मात्रा विन्दु पनि अनावश्यक प्रयोग भएन, पूनरुक्ति भएन भने विद्वानहरु पुत्रोत्सव झैं मान्दछन् भनिएको छ । कति मोह हुन्छ शब्द शास्त्रीहरुको अक्षरहरुमा, शब्दहरुमा, वाक्यहरुमा । शब्दहरुको ठीक विन्यासपछि मिल्ने भाव, आनन्द, रस, स्वाद यही त साहित्य हो ।

अक्षरधाम यस्तै भावनाहरुको सजीव थलो हुनुपर्दछ जस्तो लाग्छ । धेरैले छोराको नाम राम, कृष्ण राख्छन्, हराम देखिन्छन् छोराहरु भने बाबुको दोष हुन्छ र ? तर पनि परिवेश, संस्कार दिने मुख्य काम बाबुको नै हुन्छ । जे होस् यो मेरो सोचाइ हो, भावना हो । यो पूर्ण र पर्याप्त छ दावा गर्न सक्दैन । प्रस्ताव हो, अरु अरु अक्षरहरुसँग खेल्ने खेलाडीहरुसँग पनि । अक्षरधाम साहित्यकर्मीहरुको धाम बन्न सकोस् मेरो सद्भाव हो ।

–कोलही, देउखुरी दाङ

By

Readers Comments (0)