Filed Under:  कुराकानी

इतिहासले फेरि भीमदत्त जन्माउन खोजेको छ

27th December 2014   ·   0 Comments

NawalKhadka- नवल खड्का, नायक

सामाजिक न्याय योद्धा भीमदत्तको जीवनीमा आधारित चलचित्र भीमदत्तको यतिबेला देश एवं विदेशमा विशेष प्रदर्शन भइरहेको छ । नेपालका ६० भन्दा बढी स्थान एवं चीन, हङकङ, कतार र अमेरिकाका १४ वटा राज्यहरुमा भीमदत्तको विशेष प्रदर्शन भइसकेको छ । देशविदेशमा अत्यधिक रुचाइएको यस चलचित्रको यही पुस १५ गते दाङको घोराहीमा विशेष प्रदर्शन हुँदैछ । यस सेरोफेरोमा नायक एवं निर्माता नवल खड्कासँग पत्रकार के. एल. पीडितले संक्षिप्त कुराकानी गरेका छन् ।

भीमदत्त कस्तो चलचित्र हो ?

यो एउटा राष्ट्रवादी चलचित्र हो । महान सामाजिक अभियन्ता योद्धा भीमदत्तको जीवनीमा आधारित ऐतिहासिक चलचित्र हो ।

को हुन् भीमदत्त ?

राज्यले अहिलेसम्म घोषणा नगरिएका जनसहिद हुन्– भीमदत्त । भीमदत्त एक राष्ट्रप्रेमीको नाम हो । यो नाम हो, सुदूरपश्चिमको डडेल्धुरामा जन्मेका एक क्रान्तिकारीको । अन्यायी राणशासनका विरुद्ध लडेका एक न्यायका प्रतीकको ।

नेपाली समाजमा व्याप्त शोषण उत्पीडन र अन्यायका विरुद्ध शान्तिपूर्ण र सशस्त्र संघर्ष छेड्ने एक असल सामाजिक अभियन्ता हुन् भीमदत्त । एक ब्राह्मण तर जातीय छुवाछूत विरुद्धको अभियानका अग्रणी । तुलनात्मकरुपमा सम्पन्न परिवारमा हुर्केका तर आम जनताले भोगिरहेका अन्याय, असमानता, विभेदबारे जानकार । समाजलाई सही मार्गमा डो¥याउने विचार, सक्रियता र आचरण सबै भएका सत्मार्गी तर परि आउँदा सयौंको संख्यामा सशस्त्र सुरक्षा दल गठन गरी विदेशी सेनासँग सशस्त्र संघर्ष लडेका योद्धा हुन् भीमदत्त ।

Bhimdattaभीमदत्त चलचित्र निर्माण गर्नुको तपाईंको ध्येय के हो ?

भीमदत्तको हत्यापछि पनि आन्दोलन जारी छ । प्रजातन्त्र, पञ्चायत, पुनः प्रजातन्त्र र हालको लोकतन्त्रमा समेत नेपाली किसानका समस्याहरु अझैं ज्यू का त्यूँ छन् । भूमिमा द्वैध स्वामित्व कायम छ । आजको एक्काइशौं शताब्दीमा पनि जातीय भेद कायम छ । राजनीतिमा उनीहरुको संलग्नताबारे संगठित आन्दोलन उठ्न सकेको छैन । धनी गरीबबीचको आर्थिक स्तरको खाडल बढ्दो छ । भोकमरी सुदूरपश्चिम र नेपालका गाउँहरुमा बढ्दो छ । राज्यका हरेक नीति निर्माणमा विदेशी मुलुकहरु र संघसंस्थाहरु हावी छन् ।

त्यसैले हाम्रो मुलुकमा भीमदत्तहरुको खोज भइरहेको छ । न्यायपूर्ण अभियान, आन्दोलन र राष्ट्रको सार्वभौमसत्ताका रक्षाका लागि मैले भीमदत्त बनाएको हुँ ।

भीमदत्त र नेपाली समाजबीच तादम्यता ?

भीमदत्त कुनै षड्यन्त्रको इतिहासका पात्र होइनन् । उनी न्याय र आम हितको इतिहासको खुला पुस्तकालय हुन् । अहिलेको पुस्ताले उनको सामाजिक योगदानको बारेमा अध्ययन र त्यसबाट प्रेरणा लिदै सचेत प्रयास गर्न सक्छन् ।

इतिहासले फेरि भीमदत्त जन्माउन खोजेको छ । किनकि नेपाली समाजमा अझैं पनि शोषण, उत्पीडन र विभेद कायमै छ । आज पनि गरिब किसानहरु लोकतन्त्र तथा सामाजिक न्यायको आन्दोलनमा सक्रिय छन् र भीमदत्त यी आन्दोलनहरुका आदर्श बनिरहेका छन् ।

भीमदत्त निर्माणदेखि विशेष प्रदर्शनसम्मको अनुभव कस्तो छ ?

निकै उत्साहजनक छ । छायांकनको क्रममा भीमदत्तको भूमिकामा मैले अभिनय गर्दा त्यहाँका बासिन्दाले भीमदत्त सम्झेर मलाई ढोग्न आउँथे । मलाई निकै आश्चर्य र गौरव लाग्थ्यो ।

भीमदत्त हेर्ने सबैले यसलाई निकै रुचाएका छन् । अहिलेसम्मको सर्बाधिक राम्रो चलचित्र भनेर निकै प्रशंसा गरेका छन् ।

तपाई अलि फरक धारका चलचित्र बनाउनु हुन्छ नि ?

हो, म फरक धारका चलचित्र बनाउँछु । चलचित्रले मनोरञ्जन सँगसँगै सन्देश पनि दिनुपर्छ भन्ने मेरो मान्यता छ । यस्ता चलचित्रहरु युग–युगसम्म बाँच्छन् । चलचित्रले समाजलाई चेतना पनि दिनुपर्छ । समाजलाई रुपान्तरण गर्न सक्नुपर्छ । म यस्तै चलचित्रहरु मात्र बनाउनेछु । यथार्थपरक, समसामयिक र नेपाली मौलिकता झल्काउने चलचित्रहरु नै मेरो ध्येय हो ।

अन्त्यमा थप केही भन्नु थियो कि ?

यही पुस १५ गते बिहान ८ बजे घोराहीको गणेश चित्रालयमा भीमदत्तको विशेष प्रदर्शन हुँदैछ । म पनि दाङ आउँदैछु । म दाङका सबै महानुभावहरुलाई भीमदत्त हेरिदिनुहुन हार्दिक अनुरोध गर्दछु ।

By

Readers Comments (0)