Filed Under:  समीक्षा

खलंगामा हमला र मदन पुरस्कार

27th December 2014   ·   0 Comments

khalanga-ma-hamala- शिवराज पन्थी

एउटा नर्सको डायरी २०७० को मदन पुरस्कार प्राप्त कृति । महिला स्रष्टा राधा पौडेलको आत्मपरक संस्मणात्मक निबन्ध संग्रह हो– खलगांमा हमला । युद्ध पीडाको दोहोरो भुमरीभित्र नेपाली जनता रन्थनिएको बेला २०५९ कात्तिक २९ का दिन कर्णाली अञ्चलको जुम्ला सदरमुकाम खलंगामा माओवादी र सरकारको भीषण आक्रमण–प्रत्याक्रमणको कारुणिक र दारुण कथावस्तु यसमा समावेश छ । जम्मा १ सय ३५ पृष्ठमा तयार गरीएको यो डायरीभित्र शुरु र अन्त्यबाहेक नौ वटा खण्डमा कथावस्तुको सिलसिलेबार छ ।

‘बा हामी कति गरिब ? मेरो प्यारो जुम्ला, त्रासमा जिन्दगी, पुनर्जन्म, पहिलो– दोस्रो र तेसो दिन, पाँचौं दिनमा घर तथा फेरि जुम्ला.. यसभित्रका शीर्षक हुन् । यसभित्र लेखकले कलात्मक ढंगबाट गरिबी, भोक, रोग, शिक्षा र बिकासले तड्पिएको जुम्लाको जीवन्त तस्बिर चलचित्रको पर्दामा जस्तै छरप्रष्ट पारेकी छिन् ।

आफ्नो बाबाको प्रेरणाले राधाको मानसपटलमा जुम्लाको लाहाछाप शिलबन्दी भएको छ । परीणाम स्वरुपः उनी बिभिन्न डर, त्रास र कष्ट सहेर युद्धकालमा जुम्लाको जागिरे जीवनसँगै मदन पुरस्कार पाउन सफल भएको पुस्तकले झल्काउँछ । ‘बा हामी कति गरिब हगी ? हामीभन्दा गरिब कोही छ ?’ भन्ने जिज्ञासामा ‘हामी भन्दा त धेरै गरिब जुम्लाबासी छन् तिमीले पढेर जुम्लाबासीको सेवा गर्नू’ भन्ने शब्दले उनको मष्तिस्कमा स्ट्याम्पु हानेको हुन्छ ।

चितवनबाट सरकारी जागिर छोडेर प्रोजेक्टको जागिरमा जुम्ला जानासाथ एक जना सुत्केरी महिलाले जुम्लामा उपचार पाउन नसकेर ज्यान गुमाएको पीडाले उनको हृदयमा गहिरो चोट लागेको छ । जुम्लाको जागिरमा जीवन नै त्रासमा रहेको बेला एकाएक खलंगामा हमला हुन्छ । उनी जुम्ला रहँदासम्म एउटा होटलमा डेरा लिएर बस्छिन् । हमलाको अर्को दिन खलंगाको टुडिखेलमा लम्पसार सुताइएका शवहरु र केही दिनपछि तिला नदीमा जुम्लाका सरकारी निकायका मान्छेसँग आफूले समेत अनुगमनका क्रममा नदी किनारमा गाडिएका शव उत्खनन क्रममा भेटिएका दृश्यले उनको अन्तरआत्मामा खिल गडेको हुन्छ । तब उनको मानसपटलबाट पाठकको मन छुने शब्दांश पंक्तिबद्ध भएको पाइन्छ । अशिक्षा, असमानता र द्वन्द्वका घाउले रन्थनिएको जुम्ला । कहिलेसम्म पोलिरहने हो उसलाई त्यो आलो घाउले ? किन खोज्दैनन् कोही यो आलो घाउको ओखती ?

म नर्स हुँ, मेरो ल्याकत छैन, भैदिएको भए भर्खरै निको पार्थें, मलाई पनि त दुखिरहेको छ घाउ ! तर ओखती भएका डाक्टरहरु किन चुपचाप ? के उनीहरुको मनमा जुम्ला दुख्दैन ?! यो पनि त शरीरको एउटा अंग हो नि ! उनले यी शब्दगुच्छाबाट घुमाउरो प्रहार गरेकी छिन् ।

जुम्ला आक्रमणको केही दिनपछि लेखकलाई लिन गएको हेलिकोप्टर जुम्लाको आकाशमा फन्का मारेर घर फर्कने बेला खलंगाको प्राकृतिक दृश्यावलोकन र अवशेष बनेको खलंगा र तिला नदीले उनको मष्तिस्कमा आफ्नै आमाको सिउँदोको परिकल्पना गराउँछ ।

पौडेलले यस कृतिमा जुम्लालाई खोज तथा अनुसन्धानको सिंढी बनाएर माथि उक्लिएकाहरुले उचाइमा पुगेर आफू चढेको सिंढी नै बिर्सेको यथार्थ प्रतिबिम्बलाई ब्यङ्यात्मक शैलीमा प्रस्तुत गरेकी छिन् । पुनः जुम्ला फर्किदा उनले खलंगा आक्रमण पछि जलेर काला भएका झ्याल ढोकाका खाँबा बग्रेल्ती देख्छिन् । जलेका तथा भत्किएर जीर्ण कार्यालय भवनका भग्नावशेष देख्छिन् । यही दृश्य उनको कृतिको आवरण बनेको छ । अन्ततः उनले आफ्नो मनोकांक्षा पूरा गर्न भरमग्दूर प्रयास गर्छिन् । अनवरत प्रयासका बाबजुद सबैको सहयोगमा जुम्लामा रक्तसंचार सेवा, आकस्मिक अपरेसन कक्ष र आपतकालीन कोष खडा गर्न उनी सफल हुन्छिन् ।

२०१७ सालमा चितवनबाट पैदल हिडेर जुम्ला पुगेका आफ्ना बाले जुम्लाबासीको दर्दनाक पीडा छोरीसँग व्यक्त गरेको भावनाले उनलाई जुम्ला डो¥याएको र उनको सोंच चिन्तन लामो समयपछि पूरा भएको दृश्य यस कृतिमा छायांकन भएको छ । अन्त्यमा ६७ बर्षको बूढो बाबालाई उनले जुम्ला देखाउन लगेकी छिन् । त्यसबेला बाबाले भनेका छन्, ‘जुम्ला त रोटीको टुक्रा जति मात्र फेरिएछ त । ती गाउँ र गाउँलेको स्थिति जहाँको त्यहीं रहेछ ।’

प्रस्तुत कृतिमा लेखक पौडेलले माओवादी र राज्य दुबैसँग पूर्वाग्रह नराखी बडो चलाखीपूर्वक युद्धकालको यथार्थलाई कसैको मुटु चस्स नपार्ने गरी स्मरण गरेको पाइन्छ । यसरी खलंगामा हमला पुस्तकमा युद्धकालको जुम्लाको भयानक र भुक्तभोगी दरार तथा घाउहरु ऐनामा जस्तै देखाइएको छ । त्यसैले त यस कृतिले २०७० को मदन पुरस्कार, युवा प्रतिभा पुरस्कार, बुमन पीस मेकर– २०१२ एवार्ड र राष्ट्रसंघीय विकास कार्यक्रमबाट एनपीस एवार्ड हात पारेको हुन सक्छ ।

किताब लेखेर मदन पुरस्कार जित्नु युद्ध जित्नु सरह मानिन्छ । हुन त खलंगामा हमला संस्मरणात्मक निबन्ध संग्रहमा मदन पुरस्कार बिजेताका अन्य कृतिहरुमा जस्तो उल्लेख्य कलात्मक शैली र चमत्कार खासै पाइदैन । खलंगामा हमला राम्रो, नराम्रो या ठीकै ! छुट्याउने हैसियत हामी पाठकहरु समक्ष नहुन सक्छ । कुनै स्रष्टाले लेखेको कृति हल्का वा वजनदार आ–आफ्नै दृष्टिकोणले मूल्यांकन गरिने गर्छ । यद्यपि मदन पुरस्कार गुठीले प्रदान गर्ने पुरस्कार आफ्नै संरचना–दृष्टिकोण र मापदण्डको गोलचक्करभित्र हुन सक्छ । यसमा व्यक्तित्व या कृतित्व कुन चाहिं मूल्यांकनले मापदण्ड भेटायो ? यो प्रश्न हामी पाठकले गर्न मिल्ने वा नमिल्ने ?!

मोदनाथ प्रश्रितको मानव महाकाव्यदेखि पारिजातको शिरीषको फूल हुँदै अन्तरमनको यात्रा, राधा, छापामारको छोरा, पल्पसा क्याफे, दमिनी भीर, जीवन काँडा कि फूल, सेतो धरतीलगायत मदन पुरस्कार बिजेता पुस्तकहरुको तुलनामा खलंगामा हमला कुन स्तरको छ ? विज्ञ लेखक र पाठकहरुको समेतको प्रश्नको विषय हो ।

हुन त हरिबंश आचार्यको चिना हराएको मान्छे, आहुतिको नयाँ घर, कृष्ण अविरलको पर्दाफाँस, विवेककुमार शाहको मैले देखेको दरबार र बुद्धिसागरको कर्णाली ब्लूजजस्ता नामुद कृतिहरुले पनि मदन पुरस्कार पाएका छैनन्  । यसर्थ पनि मूल्यांकनको मापदण्ड बुझ्न कठीन छ । अर्कोतर्फ मदन पुरस्कारका लागि मध्य र सुदुरपश्चिमका प्रख्यात लेखक–साहित्यकारहरु पनि तानिन नसक्नुका पछाडि मापदण्डको रेखा पत्ता नलागेको हो वा लेखकको अनभिज्ञता नै ?! पंक्तिकारलाई जानकारी नै नभएको हो कि ?!

मध्य र सुदूर नेपालमा गन्यमान्य लेखक साहित्यकार नभएका पक्कै होइन । डा. जिवेन्द्रदेव गिरी, दिपक गौतम, बलदेव मजगैंया, सनत रेग्मी, अमर गिरी, अब्दुल लतिफ शौक, मधुसूदन पाण्डेय, उत्तमकृष्ण मजगैंया, मधुसूदन गिरी, डा. कृष्णराज डि.सी., चैतन्य, मोहन बिक्रम सिंह, अशोक थारु, नेत्र एटम, घनश्याम न्यौपाने, कपिल लामिछाने, बुँद राना, आदि…. कैयौं धुरन्धर लेखकहरुले मदन पुरस्कार पाउन कस्ता कृति लेख्नुपर्ला ? यो पंक्तिमा अझै धेरै लेखकहरु छन् पश्चिम नेपालमा । यी व्यक्तित्वहरु त सम्झनाको ऐनामा झट्ट देखिएका उदाहरण मात्र हन् । प्रज्ञा प्रतिष्ठान, मदन पुरस्कार गुठी र प्राज्ञिक व्यक्तित्वहरुको समन्वयमा कहाँनेर ग्याप छ ? हामीजस्ता जिज्ञासु एवम् खलंगामा हमलालगायत मदन पुरस्कार प्राप्त थुप्रै कृतिका पाठकहरुले बुझ्न सक्ने दिन आउला कि नआउला ?! पाठकलाई बुझाउन सक्नु लेखकीय धर्म हो कि ! लेखकहरुमा त यो बुझाइ अवश्य होला ।

By

Readers Comments (0)