Filed Under:  समीक्षा

यसरी पनि त कविता लेखिने रहेछ

27th December 2014   ·   1 Comment

Narayanprasad Sharma- नारायणप्रसाद शर्मा

छन्दवादीहरुले छन्दबिनाको कवितालाई छन्द न बन्दको अकविता भनेर तीखो टिप्पणी गर्छन् । गद्य कविताका प्रयोगकर्ताहरु तुकबन्दी (छन्दोबद्ध) भनेर छन्दलाई व्यंग्य गर्छन् । अलि छाती फराकिलो हुनेहरु (कथा, गद्य, पद्य, उपन्यास, नाटक, निबन्धलाई समेत) कविकर्म (काव्य)को कोटीमा राख्छन् । कवि व्यक्ति हो । कविता उसको बाग्धारा हो जो रसमय भयो भने काव्यमा दरिन्छ । बाक्यं रसात्मकं काव्यम् भनेर संस्कृतका विद्वानहरुले मानी आएका छन् । रस भनेको कुनै झोलिलो पदार्थमा पाइने स्वाद हो । काव्यमा पनि एक प्रकारको स्वाद छ, आनन्द छ र मानसिक पौष्टिक तत्व पनि । त्यसैले काव्य रसमय मानिएको हो । यसैलाई अरस्तुले प्रकृतिको सिर्जनात्मक अनुकरण भनेका छन् । पूर्वमा इशापूर्व ४०० देखि आजसम्म साहित्य प्रयोजनहीन र बहुलट्ठी हो भनेर कसैले भन्न सकेका छैनन् ।

एकाध मानिसहरु साहित्यको मर्म नबुझेर जथाभाबी बोल्ने गर्छन् । तिनको बारेमा चर्चा गर्नु व्यर्थ छ । यस लेखमा मैले नदेखेका नचिनेका मनबहकी लाल नामका कविको १५५ पंक्तिको गद्य कवितामाथि आफ्नो पाठक प्रतिक्रिया जनाउन गइरहेछु । विषयबस्तुको दृष्टिले आजका साहित्यकारहरु र पाठकहरुलाई अलिकति हल्लाइदिन्छ यसले । यसरी र यस्ता विषयमा पनि कविता लेखिनेरहेछ भन्ने कुराको राम्रै संकेत पनि पाइन्छ यसबाट ।

आजभोलि थुप्रै साहित्य सिर्जना हुन्छन् । थुप्रै कविता लेखिन्छन् । ९० प्रतिशत विषयबस्तु भने सबैका एकैनासे हुन्छन् । असन्तुष्टि, आक्रोश, बिद्रोह, निराशा, विकृति र स्वप्निल कल्पना यस्तै यस्तै । कमसेकम भिन्न शैलीको छ यो कविता । विषयबस्तु नयाँ अलौकिक नहोला प्रस्तुति चाखलाग्दो छ । यसको विषयवस्तु हो धनी देशका दाताहरुले नेपालजस्ता गरीब मानिने मुलुकहरुमा एनजिओ (गैरसरकारी संस्था)मार्फत् विकासको नाममा दिइएको दान–दातव्य । यसका पहिला हरफहरु यस्ता छन्-

भिखारीहरु आए
नवयुगका मसिहा बनेर
मानिसहरुलाई अज्ञान, अशिक्षा र निर्धनताबाट
मुक्ति दिन ।
अद्भूत वाक्कला लेखन शैली र
सांगठनिक क्षमता भएका
स्वस्थ सुन्दर सुसंस्कृतहरु आए हाम्रो गाउँ बस्तीमा
जसरी एशिया अफ्रिका लैटिन अमेरिकाका
सम्पूर्ण गरिबहरुबीच ।

यहाँ दाताहरुका एजेण्टहरुलाई भिखारीको पदवी भिराइएको छ या दाताहरुलाई गरिबीको व्यापारीको रुपमा प्रस्तुत गरिएको छ । पुछारका कविताबाट उनीहरुलाई किन भिखारी भनिएको भन्ने अर्थ खुल्छ जस्तो–

भिखारीहरुले भिखलाई नयाँ गरिमा दिए
भू–मण्डलीकरणको युगमा
त्यसलाई अन्तर्राष्ट्रिय प्रतिष्ठा दिए ।

एनजिओवादी नेताहरुले बराबर भन्ने गर्छन्– हामीले दाता राष्ट्रहरुसँग, तिनका एजेण्टहरुसँग बडो अनुनय विनयका साथ विभिन्न प्रोजेक्टका लागि गरिव देशका गरिबको उत्थान भनेर रकम लिएर आएका छौं । प्रपोजल लिएर आउनुहोस् रकम लिएर जानु होस्, गरिबका बस्ती–बस्तीमा काम गर्नुहोस् ।

पश्चिमका धनी देशहरु– अमेरिका, बेलायत, जर्मनी, युरोपियन युनियन, डेनमार्क, फ्रान्स, स्वीटजलैण्ड, अष्ट्रेलिया, स्वीडेन, नर्वे, हल्याण्ड, क्यानडा आदि देशहरुबाट सञ्चालित नेपालमा थुप्रै आइएनजिओहरु साना–साना एनजिओहरुबीच डलर छर्छन् ।

दोस्रो विश्वयुद्धको समाप्तिपछि तथाकथित समृद्ध देशहरुले युद्धबाट पीडित स्वतन्त्रताका पुजारी देशहरुलाई नयाँ औपनिवेशिक ढाँचामा ढाल्न एशिया, अफ्रिका र लैटिन अमेरिकी देशहरुमा आफ्नो देशका थर्डरेट विशेषज्ञहरुलाई आइएनजिओमार्फत् पठाए । परिवर्तनका आकांक्षा बोकेर संघर्ष, आन्दोलन र बिद्रोहमा लागेका र लाग्न सक्ने खालका मानिसहरुलाई त्यतातिर बिमुख पार्न रोटीका टुक्रा बाँट्न थाले । त्यही कुरालाई लिएर कविले यसरी व्यंग्य पस्केका छन्–

राज्यसत्ता त चन्द्रमा माग्नु जस्तै हो
उनीहरु हामीलाई चारआना आठआनाका लागि
नयाँ तरीकाले लड्न सिकाउने रे
भिखारीहरु बेरोजगार युवाहरुलाई भन्छन्
तिमीहरु हामीसँग आऊ
हामी तिमीलाई जनताको सेवा गर्न सिकाउँछौं
उमेर पुगेका र थाकेका क्रान्तिकारीहरु आऊ
हामी तिमीहरुलाई स्वर्गको बाटो देखाउँछौं ।

परिणाम के भयो भने धेरै अल्पबुद्धिजीवीहरु र थोरै बुद्धिविलास र रोमान्स रुचाउने थुप्रै वामपन्थीहरु पनि यता ओइरिए र प्रथमतः तिनीहरुको वैचारिक नसबन्दी अथवा उनीहरुको मिठो भाषामा ःष्लमधबकज (दिमागी धुलाई) गरियो । यसरी क्रान्त्तिकारी चेत तुहाउने अभियान थालियो ।

भिखारीहरुले भिखको नयाँ परिभाषा गरे
भिखलाई नयाँ गरिमा दिए
भूमण्डलीकरणको युगमा
त्यसलाई अन्तर्राष्ट्रिय प्रतिष्ठा दिए
भिखारीहरुले क्रान्ति र परिवर्तनको
नयाँ परिभाषा रचे ।

धेरै बेरोजगारहरु र धेरै महत्वाकांक्षीहरुको महत्वाकांक्षा जाग्यो । नेपालमा थुप्रै एनजिओ खुले । तपाइँ हामीले सुन्दै र देख्दै आएको कुरा के पनि हो भने नेपालमा आइएनजिओहरु सार्वभौमजस्तै छन् । त्यहाँ सरकारी लगाम छैन । सिधै डलर आउँछ र सिधै खर्च गरिन्छ । हाम्रो सरकारलाई यति नै भन्ने थाहा छैन । उनीहरुले डलरमात्र पठाएका हुन्नन् आफ्नो संस्कृति, सभ्यता, चालढाल, बोली भाषा पनि सिकाएका हुन्छन् । आफ्नो देशलाई गरिब भनेर हेप्ने र विदेशीको गीत गाउने सबैलाई थाहा छ, आइएनजिओका अगुवाहरुलाई प्रधानमन्त्रीको भन्दा कम सुविधा छैन । महंगा चिल्ला कार, महंगा तारे होटलमा भोजन, हवाइ यात्रा, छोराछोरीले उतै शिक्षा सबै सुविधा पाउँछन् । खासगरी नेपालमा पञ्चायतकालको पहिलो प्रहरदेखि आइएनजिओहरुको प्रवेश भएको हो । तिनीहरुले नराम्रो मात्र हैन राम्रा काम पनि गरेका होलान् । तर देशलाई सक्षम, उन्नत र आत्मनिर्भर बनाउनमा भन्दा व्यक्ति विशेषहरुलाई माथि उचाल्नमा उनीहरुको प्रमुख भूमिका रहेको सजिलै बुझ्न सकिन्छ । सूत्रात्मकरुपमा प्रतीक या बिम्ब प्रतिबिम्बका रुपमा यो लामो कविता आएको छ । कविका शब्दमा उनीहरुले भने नि–

आऊ सबै उत्तरमाक्र्सवादीहरु
उत्तर नारीवादी आदि आदिहरु

एनजिओ दर्शनका नयाँ–नयाँ शस्त्र र शास्त्र प्रतिपादन गरौं । अन्तमा कविको निष्कर्ष छः

उनीहरु भिखारी हैनन्
अपहरणकर्ता हुन्
परिवर्तनकारी विचारका
सपना र आशाहरुका
आत्माको उष्माका बिरुद्ध शतत सक्रिय
शीतलहर हुन् यी भिखारीहरु

मन बहकीलालको यो कवितामा धेरै युवाहरुको मन बहकिएर भौतिकरुपले समृद्ध देशको पूजा गर्ने र आफ्नो देशलाई तुच्छ देख्ने प्रबृत्तिलाई नाङ्गेझार पारेको छ । मान्छेभित्रको महानतालाई भन्दा बाहिरी तडक भडकलाई सत्कार गरिएको कुरामाथि प्रहार गरिएको छ ।

एनजिओहरुले असंख्य धनराशी खर्च गरेर विकासको खोलो बगाइदिन्छांै भनेर हामीलाई लोभ्याए पनि । तर अपशोच हाम्रो देशमा लादिएको गरिबीको भल मात्र बगिरहेछ । बिदेशमा रोजगारी र सुख सुविधाको यति चर्को लोभ बढ्यो कि आजभोलि विदेशमा कमाउन जानेको प्रतिदिन हजारौंको घुइँचो छ । ढुकुटीमा रेमिटेन्स आए पनि सुनाघरका गुना ठाकुरको बेहाल छ । देशभित्र श्रमशक्ति नभएर जमिन र कारखाना रित्ताउँदैछन् । बुद्धिबिलासमा रमाउने कविहरु युरोप अमेरिकामा गएर कविता लेख्न थालेका खबर सुन्न पाइन्छ । यता एनजिओ मोहले देश मोह बिलाउँदै जाँदा ठूला–ठूला ओहदामा बस्नेका सन्तानहरुका घर रित्ताउँदैछन् । सन्तान प्रबासी भइसके ।

सम्पन्न विदेशी मुलुकहरुले विपन्न मुलुकलाई दिने मानवीय सहायतामा नचाहिंदो ढंगले प्रश्न उठाउनु बेठीक हो भने दाताहरुले पनि विश्वमा मान्यताप्राप्त सही बाटो छोडेर गलत बाटोबाट धनराशी बगाएर स्वदेशी ऊर्जा समाप्त गरिदिनु पनि बेठीक हो । आजका हाम्रा साहित्यकारहरुले अन्धबिरोध वा अन्ध समर्थनमा हैन बस्तुवादी यथार्थवादी ढंगले गरिब मनका नेपालीहरुको बिदेश मोहबारे चनाखो भएर कलम चलाउन मन बहकीलालको भिखारीजस्ता कविता पठनीय र मननीय छन् जस्तो लाग्छ । कविता या साहित्य आकाशमा वाण हानेको हैन सिर्जनाको फूल रोप्नुजस्तै हो । देशलाई नांगो पार्ने गरी विदेशी मोह बढाउनमा एनजिओ र आइएनजिओहरुको केही न केही भूमिका अवश्य छ ।

By

Readers Comments (1)

  1. hemrajacharya says:

    बिबेक को नस्बंधी दिमाग को नस्बंधी सब्द ले सारै छोयो हाम्रा नेता वा पधेक्स विद्वान मा चेतना को नस्बंधी भएकै हो कि