Filed Under:  पर्यटकीय गन्तव्य

ग्रामीण पर्यटन शहर बन्दै सुलिचौर

27th December 2014   ·   0 Comments

Dhaniram sharmaधनिराम शर्मा

sulichaur 1लुंग्री नदीको किनारमा एउटा सुन्दर ग्रामीण शहर छ । दायाँबायाँ भीमकाय पहाड अनि नदीको खोंचमा प्रकृतिले पनि लुकामारी खेलेजस्तोे भान हुन्छ पहिलो पाइला टेक्ने अतिथिलाई त्यो शहरमा । स्वदेशी तथा विदेशी मानिसहरुको आवात जावतको चाप हुने गर्दछ, वर्षेनी जेलबाङ, थबाङ र गाम लगाएका ऐतिहासिक गाउँमा पुग्ने आगन्तुकहरुको । सडक मार्ग होस् चाहे पैदल मार्गको माध्यमबाट गाउँ पर्यटन गर्ने पर्यटकहरुले पहिलो रात बिताउने गर्दछन् ग्रामीण शहर सुलिचौरमा ।

पर्यटकका लागि सुरक्षित बासको गन्तव्य मानिने सुलिचौर ऐतिहासिक गाउँ थबाङ, जेलबाङ, सुनछहरी, गामलगायतका स्थानको अध्ययन र अवलोकनकर्ताको उचित बासस्थान बन्दै आएको छ । रोल्पा सदरमुकाम लिबाङदेखि सडक दूरीले २९ किलोमिटर पूर्वमा पर्ने ग्रामीण शहर सुलिचौर ग्रामीण पर्यटन आधार क्षेत्र बन्दै गएको हो । पौराणिक कथाअनुसार सुवर्णावती नामले चिनिने लुंग्री नदीको चिसो बहाव अनि खोचभित्रको आकर्षक बस्तीले पर्यटकको मन लोभ्याउने गर्दछ ।

एकताका विश्व नै थर्काउने गरि क्रान्तिको धावा बोल्ने अजम्बरी पहाड जलजला, त्यसैको काखमा अवस्थित राता मान्छे जन्माउने थबाङ र रगतमा लतपतिएर मुक्ति खोज्ने जेलबाङीको अन्तरकथा खोज्ने अध्ययनकर्ताको लागि पहिलो बास बस्ने उचित गन्तव्य हो सुलिचौर । लुंग्री नदीसँग लुकामारी खेलिरहेको ग्रामीण शहर सुलिचौर युद्धअघि, युद्धको बेला र युद्धपछि पनि मानिसहरुको मानस्पटलमा घुमिरहने सुन्दर नगर हो । जलजलासँग लुकामारी खेल्ने पर्यटकका लागि होस् चाहे थबाङ र जेलबाङको मगर संस्कृतिमा रम्नेहरुका लागि पहिलो आधार क्षेत्र सुलिचौर नदीको खोचभित्र लुकेर पर्यटकको चियो गरिरहेको छ ।

subarnawati river 2रोल्पाको व्यापारिक केन्द्रको रुपमा स्थापित सुन्दर गाउँले शहर सुलिचौर युद्ध पर्यटन होस् या सांस्कृतिक पर्यटनसँगै खनिज सम्पदाको अनुसन्धान गर्न चाहने पर्यटकको सुरक्षित बास स्थान हो । दाङको भालुबाङदेखि ७८ किलोमिटर सडक यात्रा तय गरे पुग्न सकिने सुलिचौर निकै आकर्षक ग्रामीण शहर भएकोमा कसैको विमति छैन । सुलिचौरबाट २२ किलोमिटर सडक पार गरी पर्यटक शान्तिगाउँ जेलबाङ पुग्ने गरेका छन् । कच्ची सडकमा घुइकिदै पर्यटन गर्न चाहने पर्यटकले जेलबाङको युद्धको कारण र परिणामको अध्ययन अनुसन्धान गर्न सक्छन् । यसको साथै खानीको गाउँ भएकोले खानीको अध्ययन अनुसन्धानसँगै यहाँको मगर संस्कृतिमा रमाउन सक्छन्– होमस्टेमा बास बसेर ।

त्यहाँको बासपछि थबाङ हुँदै जलजलाको चुचुरोमा पुगेर पूर्वउत्तर र पश्चिमतिर फैलिएका हिमशिखरहरुको अंगालो मार्दै पर्यटकहरु अवलोकन गर्ने गर्दछन् । गृष्ममा फुल्ने सयौं रङ्गीचंगी फूलहरुसँग लुकामारी खेल्ने गर्दछन् पर्यटकहरु । यतिमात्र होइन थबाङमा पनि मगर संस्कृति र युद्ध पर्यटनको अवलोकन हुँदै आएको छ । मगरहरुको अतिथिदेवो भवको सत्कारले त्यहाँ पुग्ने पर्यटकलाई लठ्ठ बनाँउछ ।

टानले सुलिचौरदेखि जेलबाङ हुँदै थबाङ अनि जलजला पहाडसम्मको रुट निर्धारण गरेको छ । स्वर्गद्वारी आउने पर्यटकलाई पनि माण्डवी र सुर्वणवतिको संगमस्थल चतुर्भूजमा अवलोकन गराउँदै सुलिचौरमा बास अनि थबाङ पु¥याउन सकिन्छ । यद्यपि सरकारी तहबाट सडक मार्ग, पैदल मार्गको उचित व्यवस्थापन गर्न सके सुलिचौरलाई पर्यटन आधार क्षेत्रको रुपमा अझै विकास गर्न सकिन्छ । सुलिचौर पर्यटन आधार क्षेत्र अनि जेलबाङ, थबाङ, गामलगायतका ऐतिहासिक गाउँ अनि जलजला पहाडलाई पर्यटन गन्तव्य क्षेत्रको विकास र बिस्तार गर्न सकिने पर्यटन जानकारहरु बताँउछन् ।

त्यसैगरी सुलिचौरदेखि फुन्टीबाङको बाटो तय गरे १५ किलोमिटर सडक पार गरे स्यूरीमा अवस्थित सुनछहरीको अवलोकन गर्न सकिन्छ । सदैव इन्द्रेणीको रङ छरिरहने सुनछहरीको छङछङ प्रकृतिमा रम्ने पर्यटकलाई मोहित बनाउने गर्दछ । स्यूरी गाविसमा पर्ने सुनछहरी भीमकाय पहाडलाई छिचोल्दै सुवर्णवतिमा मिस्सिन आउँछ । प्राकृतिक रुपले मात्र होइन सुनछहरी सुनको खानी भएको अनुसन्धानबाट थाहा हुन आएको छ । पोबाङदेखि पैदल मार्ग लागे हराइरहेको तर एकताका चर्चामा रहेको गाम पुग्न सकिन्छ । युद्ध पर्यटन होस् या बिबाङ दहको अवलोकन गर्ने पर्यटकका लागि गाम एक उचित गन्तव्य हो । सडक मार्गको माध्यमबाट गाम पुग्नका लागि सुलिचौरदेखि कच्ची सडक पनि सञ्चालनमा छ । ३६ किलोमिटर सडक यात्रा तय गरे गाम पुग्न सकिन्छ । तत्कालीन समयको युद्ध स्थल गामको गोङबाङ र तमाखेको अध्ययन गर्न सकिन्छ । यसैगरी फुन्टीबाङबाट पश्चिम उत्तर लागे थबाङ पुग्न सकिन्छ ।

उता विशेष गरी चाइनिज अनुसन्धानकर्ताहरुले पूर्वी रोल्पाको जेलबाङ, सुनछहरीलगायतका क्षेत्रमा अध्ययन गरिरहेको स्थानीय अगुवा अमृत जिसीले बताए । चाइनिज पर्यटकहरु यस क्षेत्रको भ्रमण तथा अवलोकन गर्न आउँछन् । सुलिचौरमा बास बस्ने अनि सडक वा पैदल मार्गको माध्यमबाट जलजला थबाङसम्म पुग्ने गरेको जिसीले बताए । जिसीका अनुसार यतिमात्र होइन पश्चिमा पर्यटकहरु पनि थबाङ, जेलबाङको युद्ध पर्यटनको अध्ययन गर्न जाने र पहिलो रात सुलिचौरमा बिताउन गर्दछन् । प्राकृतिकरुपमा सुवर्णवतीको किनारमा भएकोले होला उनीहरु यहाँ बस्न निकै रुचाउँछन् । यद्यपि पर्यटकका लागि थप होटेल आबासको स्तरवृद्धि गर्न सकिएको छैन । पर्यटकीय आधार क्षेत्रको रुपमा विकास गर्ने स्थानीयहरुको पहल भए पनि सम्बन्धित निकायले खासै ध्यान दिन नसकेको उनले बताए ।

रोल्पा पर्यटकीय हिसाबले उच्च कोटीमा पर्दछ, युद्ध पर्यटन र सांस्कृतिक पर्यटनको धरोहर रोल्पामा पर्यटनसम्बन्धी केही अभ्यासहरु भए पनि प्रभावकारी हुन सकेका छैनन् । यद्यपि जिल्ला विकास समिति रोल्पाले पर्यटनलाई व्यवस्थित गर्न जिल्लामा गुरुयोजना निर्माणको चरणमा रहेको बताएको छ । सुलिचौर हुँदै जलजला थबाङ, जेलबाङ अनि गामलगायतका ऐतिहासिक गाउँहरुको अध्ययन र अवलोकन गर्ने गन्तव्यमा पुग्ने पाहुनाहरुको कुनै अध्यावधिक गरिएको छैन ।

निजी क्षेत्र होस् चाहे सरकारी तहबाट अध्यावधिक गर्ने र थप पर्यटकलाई गन्तव्यसम्म पु¥याउन व्यवस्थित योजना बन्न नसकेको रोल्पा उद्योग वाणिज्य संघका उपाध्यक्ष मणिराम बुढाथोकीले बताए । पूर्वी रोल्पाप्रति हेरिने दृष्टिकोण नै समस्या भएको उनको दाबी छ । जिल्लाका दलका अगुवाहरुको साँघुरो मनस्थितिले पूर्वी रोल्पाको विकासमा बाधा पुगेको उनले बताए । राजनीतिक पहुँचका कारण रोल्पाको पर्यटनलगायत अन्य विकास जनअपेक्षाभन्दा पनि नेताको मनोदशा र स्वार्थमा लिप्त हुनाले पूर्व ओझेलमा परेको टिप्पणी गरे । समग्र रोल्पाको पर्यटन विकासलाई दलका नेताहरुले हेराइमा सुधार आए पर्यटन विकासले गति लिने उनको विचार छ ।

उता छिमेकी जिल्ला रुकुमले युद्ध पर्यटनलाई प्रवद्र्धन गर्न खारादेखि चुनबाङसम्म पैदल मार्गको निर्माण गर्ने बताएको छ । यद्यपि रोल्पाको सुलिचौर हुँदै थबाङ अनि महत हुँदै चुनबाङ र त्यसपछि खारासम्म पु¥याउन सके पर्यटकलाई रोल्पाबाट भित्र्याएर रुकुम हुँदै जाजरकोट अनि डोल्पासम्म पु¥याउन सकिन्छ । तर जिम्मेवार निकायहरुको गम्भीर ध्यान पुग्न नसकेको पर्यटन सम्वद्धहरु बताउँछन् । दूरदृष्टिसहितको सही योजना भए मध्यपश्चिम पर्यटनबाट समृद्धि हाँसिल गर्न सक्ने उनीहरुले बताए । सही योजनाको अभावमा सम्पदाहरुको बजारीकरण हुन नसकेको उनीहरुको भनाई छ ।

By

Readers Comments (0)