Filed Under:  मनोरञ्जन

चलिचत्रमा फैलदै आकाश | के.एल. पीडित

27th December 2014   ·   0 Comments

aakashPalयो वर्ष नायक आकाश पलका लागि सर्वाधिक उर्बर औ रोमाञ्चकारी बनेको छ । यसै वर्ष चलचित्र क्षेत्रमा उनका लागि अवसरका नयाँ ढोकाहरु उघ्रिदैछन् । उनी पहिलोचोटि एक्सन नायकको रुपमा दर्शकसामु आउँदैछन् ।

यतिबेला उनको मन उत्साहले भरिएको छ । दर्शकसँगै आफूलाई पर्दामा हेर्न उनी पनि आतुर छन् । ‘उत्साहपूर्वक मेरा चलचित्रको प्रदर्शनको समय कुरिरहेको छु । निकै रमाइलो लागिरहेको छ ।’ नायक आकाशले आफ्नो उत्साह र व्यग्रता प्रकट गरे ।

दाङ गोग्लीका नायक आकाश दुई वर्षदेखि काठमाडौंमा छन् र चलचित्र क्षेत्रमा आफ्नो अर्थपूर्ण उपस्थितिका लागि संघर्ष गरिरहेका छन् । त्यो संघर्षले रङ ल्याउँदैछ उनको जीवनमा । उनलाई राम्रा अवसर मिलिरहेका छन् । उनी सह–नायक रहेको चलचित्र इच्छा माघ २ देखि नेपालभर प्रदर्शन हुँदैछ । मुनाल घिमिरे निर्देशित इच्छा चलचित्रमा आकाशको भूमिका र अभिनय दर्शकहरुका लागि यादगार हुने उनको विश्वास छ । इच्छाबाट उनी निकै उत्साहित र आशावादी छन् । ‘इच्छामा मैले राम्रो काम गरेको छु । दर्शकहरुले अवश्य मन पराउने छन् । म विश्वस्त छु ।’ नायक आकाशले बताए ।

उनी नायकको भूमिकामा रहेको चलचित्र कात्र्तिक पनि तयार भएको छ । यसमा उनी प्रहरी इन्स्पेक्टरको प्रभावशाली भूमिकामा छन् । अभिनयका हिसाबले यो उनको पहिलो चलचित्र पनि हो । कुमार शाहले निर्देशन गरेको यस चलचित्रमा उनी अनु शाह, सुरविना कार्कीलगायतका कलाकारहरुसँग देखिएका छन् ।

सुगठिलो शरीर, आकर्षक व्यक्तित्व एवं विशिष्ट अभिनय क्षमताका कारण आकाश पछिल्लो समयमा निकै रुचाइन थालेका छन् । उनलाई प्रतिष्ठित चलचित्रकर्मी एवं ब्यानरबाट प्रस्ताव आउन थालेको छ । भर्खरै मात्र उनी प्रतिष्ठित चलचित्रकर्मी प्रदीप भारद्वाजको चलेछ बतास सुस्तरी चलचित्रमा नायकमा अनुबन्धित भएका छन् । अन्य चलचित्रका लागि पनि कुराकानी भइरहेको छ । तर उनी सुझबुझपूर्ण तरिकाले अघि बढ्न चाहन्छन् । संख्यात्मक भन्दा गुणात्मक उनको चाहना हो । उनी अर्थपूर्ण चलचित्रहरुमा आफ्नो सिर्जनात्मक क्षमता देखाउन चाहन्छन् ।

aakasपारिवारिक कुरा गर्दा आकाश भारतीय आर्मीका छोरा हुन् । कुनै बेला उनलाई डाक्टर या इञ्जिनियर बनाउने परिवारको सपना थियो । तर यहाँ आइपुग्दा उनले परिवारको त्यो सपना तोडिदिएका छन् र बेग्लै सपना सजाउँदै अनवरत अघि बढिरहेका छन् कला क्षेत्रमा । कला क्षेत्र उनको सानैदेखिको रहर र रोजाइ हो । समाजमा फरक पहिचान बनाउने र आफ्नो सीप र सिर्जनाले देशलाई समृद्ध बनाउने आकांक्षाले उनी अभिप्रेरित छन् । ‘म धनभन्दा नाम र सिर्जनालाई महत्व दिन्छु । त्यही भएर म कला क्षेत्रमा लागेको हुँ ।’ नायक आकाशले प्रष्ट्याए ।

गीतकार लोकराज अधिकारीको रचना र शिव परियारको स्वर रहेको आज धेरै मातेर आए बोलको म्यूजिक भिडियोबाट उनको कलायात्रा प्रारम्भ भएको हो । उनले दुई दर्जन बढी म्यूजिक भिडियोहरुमा अभिनय गरिसकेका छन् । नेपाली चलचित्र क्षेत्रमा नायक आकाशजस्ता उत्साही एवं सिर्जनशील युवाहरुले नेपाली चलचित्र क्षेत्रलाई गतिशील र समृद्ध बनाउँदै लैजाने विश्वास गर्न सकिन्छ ।

By

Readers Comments (0)