Filed Under:  विचार | टिप्पणी

राप्तीपारि, वन विनास र हामी

27th December 2014   ·   0 Comments

Kopila-17- छविलाल कोपिला

केही दिनअघि हल्का पानी प¥यो र चिसो निकै बढेको छ । बितेका दिनहरुमा मैले यसको नजिकबाट अनुभूति गरिनँ । कामको दौडधूप र बाध्यात्मक जीवनबीच अनुभव र अनुभूतिको लागि थोरै समय स्थान हुन्छ । घडीको सुईसँगसँगै जिन्दगीलाई घुमाउन नसक्नेलाई असक्षम, अयोग्य वा असफलजस्ता बिशेषणहरुद्वारा सम्मानित गरिन्छ । उमेरको हिसाबले म केही वर्ष युवावस्था पनि गुमाइसकें । म लाचार छु । मलाई म आफ्नै लाचारीपनप्रति रुन मन लाग्छ । सोच्छु, के म रुन सक्छु ? आँखासम्म नरसाउने गरी रित्तिसकेको छ आँसु, अनि उत्साहरहित छन् मनहरु । चिसो, निरस अनि निर्जीव जस्तै–जस्तै ।

विगत एक महिनादेखि मेरो नजर देउखुरीको गढवा बजार अनि त्यही आसपास क्षेत्रको वातावरण चहारिरहेको छ । लामो समयदेखि थुप्रै आश्वासन पाएको यस क्षेत्रले आधाजस्तै भए पनि राप्तीमा पुल पायो । पुलको अवस्था अहिलेसम्म त्यहाँका जनताले खोजेजस्तो भएको छैन । सडकको अवस्था उस्तै छ । कालाकाँटे–गढवा सडकखण्डमा ओटासिल गरिएको छ । तर, ती ओटासिलहरु पनि ठाउँ–ठाउँमा फुटिसकेका छन्, त्यस्तै विभिन्न ठाउँमा भत्किएका पनि छन् बेवारिसेजस्तै । गढवा–कोइलाबास सडकखण्डको त के कुरा गर्नु ? उसको दुर्दशा हेर्दा मानव बस्तीको कल्पना गर्न गाह्रो हुन्छ । गढवा–लमही सडक सबैभन्दा व्यस्त हरेक महिना नाप नक्सा र सर्बेमै व्यस्त हुन्छ । हरेक दिन यात्रुहरु ओसार्छन् स्थानीय जीप र माइक्रो बसले । र, बदलामा धुलोका पाहुर दिएर बिदाइ गर्छन् । खैर ! केही छैन । केही नहुनुभन्दा हुनु राम्रो हो । मैले धन्यवाद दिनुपर्छ ।

तर खै ! किन हो मलाई अझै पनि राप्तीपारि (गढवा क्षेत्र) चिसिएको झंै लाग्छ । टाढा बगरमा एक्लै लमतन्न परेको मुढो, बगरको चिसो सिरेटोले चिसिएजस्तै, बैशाख र जेठको प्रचण्ड घामले सुकेजस्तो अनि, नुन खाएको कुखुरोजस्तै ।

अँ ! साँच्चिकै, गढवा कहिलेकाहीं त निकै तातिन्छ पनि तर निभ्छ एकैछिनमा– परालको आगोजस्तै । आश्वासनको पहिलो घाम राप्तीपारि लाग्छ । तर पनि सदरमुकामको ताप यहाँसम्म कहिल्यै पुग्दैन, न त भोक प्यासले आजित भएका जनताका प्यास र शीतलता प्रदान गर्न कुनै विकासे पानी पर्छ । प्रकृति पनि अनौठो–अनौठो । हामी मान्छेहरु आफ्नो स्वार्थको लागि प्रकृतिलाई दोष दिन्छौं । होे, यो ठूलो भूगोल प्रकृतिले बनायो, मान्छेले बनाएको होइन । तर मान्छेले प्रयोग गरिरहेका छन् । यसको उपयोग र दुरुपयोग दुबै तरिकाबाट । राप्तीपारि, जहाँबाट दुरीको हिसाबले सदरमुकाम धेरै टाढा होइन तर भूगोलले टाढा बनाएको छ । त्यस क्षेत्रबाट थोरै अगाडि आउँदा राप्ती नदी आउँछ, त्यसपछि थोरै मात्र अगाडि बढ्दा चुरे पहाड आउँछ । सायद यिनै हुन् यहाँका विकासका बाधकहरु । दोष उसको हो कि होइन मलाई थाहा छैन, तर दोष तिनैले पाउँछन् । कहिलेकाही साँच्चिकै हो जस्तो पनि लाग्छ । हरेक वर्ष चल्ने विकासे आँधी चौपट्टाको डाँडोले छेकिदिन्छ । हा–हा र हु–हु गर्दै आएको थोरै विकासे बाढी, राप्तीले बगाइदिन्छ । अनि राप्तीपारि सधैं शून्यतामा हुन्छ ।

म उत्तरविहीन हुन्छु । मलाई छटपटी हुन्छ । अन्त्यहीन छटपटी । त्यसैले होला यहाँ साँच्चिकै छटपटी छ, पीडा छ र तनाव छ । मान्छेहरु यही छट्पटी, पीडा र तनावमा अर्थ खोजिरहेका छन् । शून्यतामा जीवन खोजिरहेका छन् । र जराहरु खोस्रेर भन्दैछन् ‘हेर, मसँग इतिहास छ, म तिमीहरुले भने जस्तै जराविहीन एक्लो प्राणी होइन, ऊ हेर मेरो आफ्नो मान्छे ।’ कति सजिलै मान्छेहरु आफ्नो–पराइ भनी लक्ष्मण–रेखा तान्न सक्छन् । हामी प्रकृतिलाई दोष दिनेहरुको पर्दाफास यहीनेर भएजस्तो लाग्यो । जब हामी आफ्नो र पराइको लक्ष्मण–रेखा तान्न शुरु गर्छौं, त्यहीबाट अविश्वास, असन्तुष्टि र मनमुटाव जन्मिन्छ । हाम्रो संस्कार अहिले यही वातावरणमा मौलाउँदैछ । हामी वास्तविकताभन्दा शक्तिका पुजारी भएकोले होेला आफ्नो नक्कली अहंकार देखाउन चाहन्छौं । आफ्नो पहिचान सबै सामु छोटो समयभित्र देखाउन चाहन्छौं । तर, परिणाम उल्टो आउँछ । हामी यही धरातलमा उभिएर तेरो र मेरो भजन गाइरहेका छौं । सायद यसै कारण कहिले राप्तीवारि र पारिसँग जुहारी चल्छ त, कहिले चौपट्टावारि र पारिसँग चल्छ । यिनै नौटंकीको परिणाम प्रकृति दोषी देखिन्छ । हामी सधैं राप्तीलाई सराप्छौं अनि सधैं चौपट्टालाई थुक्छौं ।

मलाई यहाँ एउटा बेग्लै प्रसंग जोड्न मन लाग्यो । राप्तीपारि, कहिलेकाहीं वन माफिया क्षेत्र पनि भनेको सुनिन्छ । हो, साँच्चिकै राप्तीपारिको पर्यायवाची वन माफिया क्षेत्र पनि होे जस्तो पनि लाग्छ । होे कि होेइन त्यो मलाई थाहा छैन । अखबारका धेरै पानाहरुमा कहिले व्यापक वन फडानी, कहिले … थान घप्पुसहित पक्राउ, कहिले … ट्रेक्टरसहित काठ पक्राउ, कहिले वन कर्मचारीकै मिलेमतोमा रुख कटानी, कहिले प्रहरीकै पहलमा वन माफिया छुटे…। यस्तै–यस्तै शीर्षकमा छापिएका समाचारहरु भेटिन्छन् । युद्धकालीन अवस्थामा कति जना मारिए भन्ने समाचार जति चाख लिएर हेरिन्थ्यो । अचेल योे क्षेत्रमा कति काठ बरामदको समाचार दालभात जस्तै भएको छ । कुनैै समय ढुङ्गाजन्य वस्तुमा रोक लागेको थियो । राजनीतिक आवरणभित्र कैयौं व्यक्तिले बहादुरी देखाए, प्राकृतिक श्रोतमाथि दोहनका निम्ति । ढुङ्गा, बालुवा, गिट्टी निकासी गर्न पाउनुपर्छ भनेर नारा जुलुस गरे, प्रहरी चौकी घेरे । संरक्षण क्षेत्रका अभियन्ताहरु निकै जोखिम मोले र जीवन रक्षाको अपिल गरेको हामीले देखेकै हौं ।

हामी सबैलाई थाहा छ– को–को हुन् वन माफिया ! केही सामुदायिकका वनका पदाधिकारी, केही ठेकेदार, केही वन कर्मचारी, केही प्रहरी अनि केही उपभोक्ताहरु । यतिमात्रै होेइन, संरक्षणका नाममा खोलिएका अथवा काम गरिरहेका विभिन्न एनजिओ आइएनजिओहरु पनि यही घानमा फसेका छन् । प्रक्रिया मिलाएर कटान मुछान हुन्छ । ठेकेदारले घाटगद्दी गर्छ, वन कर्मचारीको नाप–जोेख हुन्छ अनि ओसारिन्छन् कैयौं बार, एकै पटक नापिएका काठहरु । प्रहरी मौन बस्छ । कैयौं वनहरुमा अबैधरुपमा आरा चलाइन्छ र रातारात ओसारिन्छ ट्रेक्टरमा । कारणबश प्रहरीले ती काठ चोरहरुलाई समात्यो । भोलि बिहान स्थानीय नेता प्रहरी चौकीमा पुग्छन् । सामान्य भनसुनमा छोडिन्छ । यस्तो दुर्दशा छ प्रहरी चौकीको पनि । बिचरा ! प्रहरी चौकी । माथिको (मन्त्री, सभासद् अनि आफ्नै मातहतका सुरक्षा निकाय) निर्देशन भनेर छोड्न विवश हुन्छ ।

कुनैै कारवाही नै नभएपछि माफियाहरुको मनोबल बढ्छ । उनीहरु अझै हौसिएर त्यही धन्दामा लाग्छन् । कैयौं सर्वसाधारण पनि यही खेलोमा छन् । अहिले पनि कैयौंको रोजीरोटी यसैबाट चलिरहेको छ । दिनभरि वनमा आरा चलाउँछन् र राती घर–घरमा पु¥याउँछन् । यसरी हेर्दा सर्वसाधारणदेखि ठेकेदारसम्मको ठूलो हिस्सा यसै वन तथा वातावरण विनासमा उद्दत छ । ठूलो संख्यामा रहेका साधारण जनता यस विषयमा बेखबर छन् । कुनैै समस्या आइ परे तिनै वन माफियाहरुको नेतृत्वमा नारा जुलुस हुन्छ । घरकुरियाको नाममा निर्दोष साधारण जनता दुःखमा सहभागी हुन्छन् । सहभागी नभए जरिवाना तिर्न बाध्य हुन्छन् । तर विकासको नाममा गरिएका क्रियाकलापमा प्रायः सहभागी हुँदैनन् । अनि विकास हुने कुरा पनि निकै परको हो जस्तो लाग्छ ।

हामी सधैं पछि परेका छौं, हामी आफै होइन, अरुले पछि पारेको हो भन्नेहरुको क्षेत्रमा र त्यहीको स्थानीय जनताहरुबाट यस्तो समस्या देखें मैले । या भनौं त्यो वन तथा वातवरण विनासमा आखिर त्यहीका जनता नै सक्रियरुपमा लागेका छन् । हामी अरुलाई थुक्छौं तर आफ्ना कमजोरीलाई कहिल्यै हेर्दैनौं । हामीभित्र कति कमजोरीहरु छन् ? र यसले कत्तिको असर पार्छ भन्नेसम्मको बोध छैन । यो घटनाले यही देखाउँछ । यो एउटा उदाहरण मात्र हो । यस्ता कैयौं घटनाहरु हाम्रो नैतिकता र कर्तव्यमाथि खबरदारी गरिरहेका हुन्छन् । हामी सधैं आफ्नो धरातलमा आफूमात्र उभिएको भ्रममा हुन्छौं तर हामी उभिएको धरातलमा अरु पनि कोही हुन्छन् । यसलाई ख्याल गरिएन भने आफ्नो स्वार्थको लोभ गर्दा अरु धेरैले बर्बादी भोगिरहेका हुन्छन् । त्यसको परिणाम हामी आफैले पनि ढिलो चाँडो भोग्नुपर्छ । त्यसकारण हामीले आफ्नो नैतिक जिम्मेवारी के हो ? भन्ने कुरा बुझ्न अत्यन्त जरुरी छ ।

By

Readers Comments (0)