Filed Under:  समीक्षा

पूर्वीय दर्शनमा भौतिकवादको खोजी

21st December 2014   ·   0 Comments

Sushil- सुशील गौतम

धेरैलाई पूर्वीय दर्शन भनेको स्वर्ग, नर्क, आत्माको अमरता, पूर्वजन्म, मूर्तिपूजा, देवी, देवता र कतिपय संस्कारहरु हुन् भन्ने धारणा रहेको छ । पूर्वीय दर्शन गैर भौतिकवादी दर्शन मात्र हो, पूर्वीय दर्शन र भौतिकवाद एक अर्काका विपरीत कुरा हुन् भन्ने पनि धेरैको ठम्याई छ ।

पूर्वीय दर्शनका पण्डित भनिनेहरुदेखि गाउँघरमा कतिपय परम्परागत संस्कार गराउनेहरु धार्मिक मठाधीशहरु, पूर्वीय दर्शनमा धेरै प्रवचनकर्ताहरु सबैले आमरुपमा समाजमा लामो समयदेखि त्यस्तै छाप छोडेकाले आम जनमानसको सोचाइ पनि त्यस्तै खालको बनेको हो । तर यस्तो बुझाइ वा ठम्याइ एकपक्षीय छ ।

पूर्वीय दर्शनमा पनि ईश्वरवादी दर्शनको साथै त्यसको कठोर बिरोधी भौतिकवादी दर्शनको पनि बलियो अस्तित्व छ । वास्तवमा हाम्रो ब्रहमाण्डको मूल तत्व के हो भन्ने विषयमा अहिले मात्र होइन प्राचीनकालदेखि फरक–फरक दृष्टिकोण वा मत देखा पर्दै आएका छन् ।

Book Coverएउटा धारा अहिलेको प्रचलित भाषामा आध्यात्मवादी रहेको छ जसले अदृश्य र अभौतिक बस्तुको परिकल्पना गरेको छ । मूलतः वेद, गीता, उपनिषदलगायतका ग्रन्थहरुले यही धाराको प्रतिनिधित्व गर्दछन् । (कतै–कतै प्रसंगवश ती ग्रन्थहरुमा पनि भौतिकवादी दृष्टिकोण उल्लेख पनि भएको अध्येताहरु बताउँछन् ।)

यो दर्शनले अलौकिक बस्तुको रुपमा ईश्वरको कल्पना गर्दछ । विश्वसत्ता सञ्चालन गर्ने अदृश्य तर सर्वशक्तिमान शक्तिको अस्तित्वमाथि गहिरो विश्वास राख्छ । शरीर सकिन्छ तर आत्मा अजरअमर छ त्यसैले जन्म र पुनर्जन्मबीच छुट्याउनै नसक्ने सम्बन्ध छ भन्ने यस दर्शनको धारणा छ ।

अहिले पनि हाम्रो पूर्वीय समाजमा यही दृष्टिकोणले बलियो प्रभाव पारेकाले यस विपरीत विचारलाई पश्चिमेली, अझ कतिपयले नास्तिक, कम्युनिष्ट विचार भन्ने गर्दछन् । तर बिर्सनै नहुने तर धेरैको जानकारीमा पुग्न नसकेको तथ्य के हो भने आध्यात्मवादी विचारसँगै पूर्वीय दर्शनमा समानान्तर रुपमा भौतिकवादी विचार पनि प्राचीनकालदेखि रहँदै आएको छ ।

पूर्वीय दर्शनमा रहेका भौतिकवादी ग्रन्थहरु हाल उपलब्ध नभएकाले पूर्वीय दर्शनमा रहेका भौतिकवादी धाराको विषयमा अझै धेरै खोज अनुसन्धान हुन बाँकी नै छ । तर पनि आध्यात्मवादी धाराका समर्थकहरुले भौतिकवादी धाराको खण्डन मण्डन (कतिपय सन्दर्भमा बदनामसम्म) गर्दा अभिव्यक्त विचारहरुबाट पूर्वीय दर्शनमा रहेको भौतिकवादी धाराका कतिपय दृष्टिकोणहरु प्रकाशमा आएका छन् ।

पूर्वीय दर्शनका अध्येता राहुल सांस्कृत्यायनले यसबारे धेरै प्रकाश पारेका छन् । पूर्वीय दर्शनको सबैभन्दा मुखर भौतिकवादी धारा लोकायतबारे देवी प्रसाद चट्टोपाध्याय लगायत थुप्रै भारतीय विद्वानहरुले सारगर्भित कलम चलाएका छन् ।

नेपालमा आफूलाई द्वन्द्वात्मक भौतिकवादी, प्रगतिशील अझ कम्युनिष्ट हुँ भन्ने त्यही निहुँमा थुप्रै लाभको पदमा पुग्ने गरेका संस्कृतका विद्वानहरुले पूर्वीय दर्शनमा रहेको भौतिकवादी चिन्तनबारे आमजनतामा पु¥याउनुपर्ने कर्तव्यप्रति खासै ध्यान नदिए पनि मदनमणि दीक्षितलगायत सीमित भए पनि पूर्वीय दर्शनका केही प्रकाण्ड विद्वानहरुले यसबारे कलम चलाएका छन् ।

पूर्वीय दर्शनबारे समाजमा लादिएको एकपक्षीय छाप तोड्न र समाजमा रहेको धर्मभिरु, परम्परावादी, आलोचनात्मक चेतको अंश नै नभएको विश्व दृष्टिकोणको प्रभाव कमजोर पार्न पूर्वीय दर्शनमा रहेको भौतिकवादी धाराबारे आमजनतासमक्ष पु¥याउनु अहिलेको ठूलो आवश्यकता हो । सम्भवतः यही खाँचोलाई दृष्टिगत गरेर दर्शनशास्त्रमा स्नातकोत्तर गरेका समिर सिंहले पूर्वीय दर्शनमा भौतिकवादको खोजी नामक पुस्तक प्रकाशन (२०७१ सालमा) गरेका छन् ।

भूमिकासहित कुल एक सय चौबिस पृष्ठको यो पुस्तकमा नेपाली समाजमा दर्शनको प्रयोग, मानवजीवनका दार्शनिक पक्ष, परम्परागत मान्यताहरु र दार्शनिक चुनौती, दर्शनशास्त्रको तत्वमिमांशीय अध्ययन, इतिहासको पानामा दर्शनको खोजी, लोकायत दर्शन, पूर्वीय दर्शनमा भौतिकवादको प्रारम्भका विषयमा चर्चा र विश्लेषण गरिएको छ । यस अतिरिक्त लेखक समिर सिंहले पूर्वीय दर्शनभित्रका महत्वपूर्ण दर्शन सांख्य दर्शन, बौद्ध दर्शन, वैशेषिक दर्शन र न्याय दर्शनका विविध पक्ष अझ खासगरी यी दर्शनमा रहेका भौतिकवादी पक्षबारे आफ्नो पुस्तकमा प्रकाश पारेका छन् ।

समग्र पुस्तक दार्शनिक दृष्टिले अहिले पनि बलिया रहेका दुई विश्व दृष्टिकोण, आदर्शवादी विश्व दृष्टिकोण र भौतिकवादी दृष्टिकोणको चर्चा गर्दै भौतिकवादी दृष्टिकोण नै विज्ञानसम्मत, तथ्य र तर्कसम्मत विश्व दृष्टिकोण हो, अहिलेको अवस्थामा झै भौतिकवादी विश्वदृष्टिकोण प्राचीन पूर्वीय समाजमा विकसित र समृद्ध भइनसकेको भए तापनि पूर्वीय दर्शनमा प्रारम्भदेखि नै भौतिकवादको प्रभाव बलियो रहेको र विभिन्न कालखण्डमा यस दर्शनलाई अनाहकमा बदनाम गरेर यसलाई कमजोर पार्ने प्रयास गरेको कुरामा ऐतिहासिक पृष्ठभूमिसहित व्याख्या गरिएको छ ।

लेखकले पूर्वीय दर्शनको सबैभन्दा प्रखर भौतिकवादी धारा लोकायत दर्शनबारे विस्तृत प्रकाश पारेका छन् । प्रायः पण्डितहरुले ऋण गरेर पनि घिउ खाने दर्शन भनेर बदनाम गर्न खोजिएको दर्शन हालसम्म ज्ञात इतिहासमा पूर्वीय दर्शनभित्रको पहिलो भौतिकवादी दर्शन हो । प्रस्तुत पुस्तकका लेखकका अनुसार इसापूर्व आठौंदेखि छैठौं शताब्दीको मध्यमा यो दर्शनको उदय भएको हो । चार्वाक दर्शन पनि भनिने यस दर्शनले लोक (जगत)माथि विश्वास गर्दथ्यो ।

यस दर्शनको मूल अवधारणा पदार्थ प्रमुख हो र त्यसैबाट चेतनाको विकास भएको हो । स्वर्ग, नर्क, मोक्षका अवधारणा गलत हुन् भन्ने रहेको छ । यस दर्शनका प्रमुख प्रेरक बृहस्पति नामक ऋषि मानिन्छन् । यस दर्शनले ती सबै चिजहरुको अस्तित्व अस्वीस्कार गर्दछ जो इन्द्रीयहरुद्वारा बोध गर्न सकिदैन । यस दर्शनका अनुसार पृथ्वी, जल, अग्नि र वायु नै प्रमुख तत्व हुन् । यस दर्शनले ब्रत बस्ने, देवीदेवताको अस्तित्व स्वीकार गर्ने, स्वर्ग नरकको कल्पना गर्ने, आत्मा अमर छ भन्ने दृष्टिकोणको पूरै तर्कपूर्ण खण्डन गर्दछ ।

यसैगरी प्रस्तुत पुस्तकमा पूर्वीय दर्शनका महान चिन्तक बौद्ध धर्मका विविध पक्षहरुको चर्चा गर्दै भौतिकवादको कसीमा बुद्ध दर्शनको समीक्षा गरिएको छ । लेखकको बुद्ध धर्मबारे निचोड छ– ‘बुद्ध धर्म अनिश्वरवादी दर्शन भए पनि पूर्णरुपले भौतिकवादी दर्शन भने होइन ।

लेखकका दृष्टिमा पुनर्जन्मको मान्यता बुद्ध दर्शनको कमजोर पक्ष हो । पुस्तकमा साङ्ख्य दर्शन, वैशेषिक दर्शन, न्याय दर्शनबारे मूलत त्यसमा रहेको भौतिकवादी पक्षबारे विश्लेषण गरिएको छ । बरिष्ठ वामपन्थी नेता एवं लेखकका बुवा मोहन विक्रम सिंह र नेपाल प्रज्ञा प्रतिष्ठानको दर्शन विभाग प्रमुख विष्णु प्रभातको सारगर्भित भूमिकाले पुस्तकको थप ओज बढाएको छ ।

ज्यादै गहन विषयमा लेखिएको यस पुस्तकबारे यहाँ विस्तृत र व्यापक समीक्षा सम्भव छैन । पूर्वीय दर्शनभित्र भौतिकवादी धारा पनि प्रबल छ भन्ने केही भनाइ यसै पुस्तकबाट उधृत गर्दै ज्यादै खाँचोको विषयमा कलम चलाएकोमा लेखक समीर सिंहलाई स–धन्यवाद बधाई र थप लेखनका लागि शुभकामना व्यक्त गर्दछु ।

बृहस्पति भन्दछन्– ‘अग्निहोत्र कर्मकाण्ड, तिन वेद, निधारमा भष्म (खरानी) लेपन (लगाउने) कार्य बुद्धि र शक्ति नभएकाहरुको जीविका चलाउने साधन मात्र हो ।’

माधवाचार्य भन्दछन्– ‘चार्वाक दर्शनको सारको रुपमा कुनै देवी देवता अथवा अलौकिक शक्तिको अस्तित्व सम्भव छैन । आत्मा अमर छ भन्ने कुरा गलत हो । मृत्युपछि कुनै चीज बाँकी रहदैन ।’

१८ वटा उपनिषदमध्ये श्वशनवेद उपनिषद भन्दछ– ‘पदार्थबाहेक अरु कुनै चिजको अस्तित्व सम्भव छैन । न त कुनै अवतार हुन्छ । न इश्वर, न स्वर्ग र न नर्क नै । सबै परम्परागत धार्मिक साहित्य अहंकारी मुर्खहरुको कर्तुत हो ।’

रामायणमा जावाली भन्ने दरबारका उच्च पदस्थ व्यक्तिले रामलाई यस्तो भन्दछन्– ‘बलि दिएमा मृतकका पिताले आहार ग्रहण गर्दछन् भन्ने बकवास हो । मृतकको नाममा पिण्ड चढाउनु पाखण्डी कार्य हो । जीवनपछि अर्को संसारमा मनुष्य जीवित रहन्छ भन्नु कोरा कल्पना हो ।’

शात्री पर्वमा बलिले इन्द्रसित भन्दछन्– ‘जीव र शरीर एकसाथ अस्तित्वमा आउँछन् । एकसाथ अघि बढ्छन् र एकसाथ नष्ट हुन्छन् ।’

ऋषि बृहस्पति भन्दछन्– ‘बलि दिएर सम्बन्धित जनावरले मोक्ष पाउँछ भन्नु गलत हो । त्यस्तो हो भने त्यस्ताले आफ्नै प्रियजन (बुबा आमा आदि) लाई बलि दिएर मोक्ष किन गराउँदैन ?’

सांख्य दर्शनका प्रवर्तक कपिल ऋषि भन्दछन्– ‘ती कुनै वस्तुहरुको अस्तित्वलाई स्वीकार गर्न सकिदैन जो तीन– अनुभूति, प्रत्यक्ष तथा शाब्दिक प्रमाणद्वारा पुष्टि हुँदैन ।’

पुस्तक : पूर्वीय दर्शनमा भौतिकवादको खोजी
लेखक : समीर सिंह
प्रकाशक : विनु केसी (२०७१)
मूल्य रु : १५०।–

By

Readers Comments (0)