Filed Under:  मनोरञ्जन

‘अब कला क्षेत्र छोड्न सक्दैन’

13th December 2014   ·   0 Comments

Narayanराप्ती क्षेत्रमा गीतसंगीत एवं चलचित्रको प्रवद्र्धनमा समर्पित एक उत्साही युवा हुन् नारायण नेपाल । जीवनका धेरै अवसर, सम्भावना र सपनालाई थाँती राखेर उनी अनवरत कला क्षेत्रमा रमाइरहेका छन्, राष्ट्रलाई नवीन सिर्जना दिइरहेका छन् र नवप्रतिभाहरु जन्माइरहेका छन् ।

‘कला नसा बनेको छ, जति गरे पनि यो क्षेत्र छोड्न सक्दैन’, नारायणले आफ्नो कलामोह यसरी व्यक्त गरे, ‘जीवनमा अरु क्षेत्रमा पनि काम गरें । विदेश गएँ तर यो क्षेत्र छोड्न सकिनँ । अब यसैमा जीवन व्यतीत गर्छु ।’

सि.एन. मिडियाका प्रबन्ध निर्देशक हुन् नारायण । २०६३ सालमा स्थापना भएको सि.एन. मिडियाले राप्ती क्षेत्रको कलाको प्रवद्र्धनमा उल्लेखनीय काम गरेको छ । यसले राप्ती डिजिटल रेकर्डिङ स्टुडियो, सिएन टेलिभिजन च्यानल, ए वान मुभी मेकर्स संचालन गरेको छ र यी सबै कामको संयोजन नारायणले नै गर्दछन् । उनले धन, मन, सीप र समय यसैमा खर्चेका छन् । जसको परिणामस्वरुप आज राप्ती क्षेत्रमा धेरै प्रतिभा र प्राविधिकहरु जन्मेका छन्, हुर्केका छन् ।

स्थापना भएको एकदशकको बीचमा सि.एन. मिडियाले राष्ट्रियस्तरका प्राविधिकहरु जन्माउन सफल भएको छ । यो चानचुने सफलता र उपलब्धि होइन । सि.एन.को छातामुनि आज गीत रेकर्डिङ, चलचित्रको स्वरांकन, चलचित्र एवं म्यूजिक भिडियो छायांकन, निर्देशन एवं सम्पादनसहित सम्पूर्ण कार्यहरु हुने गरेका छन् । अब काठमाडौं धाउनुपर्ने दिन सकिएको छ । यस क्षेत्रका प्रतिभाहरुका लागि यो निकै उत्साहप्रद अवसर हो ।

सि.एन. मिडिया खुलेदेखि नारायणले दाङमा म्यूजिक भिडियो निर्माण कार्यको प्रारम्भ गरेका थिए । त्यो बेला सम्पूर्ण खर्च उनले आफै नै व्यहोरेका थिए । अहिलेसम्म ४० जति म्यूजिक भिडियो निर्माण भइसकेको छ । पछिल्लो समय उनले चलचित्र निर्माणमा समेत हात हालेका छन् । ए वान मुभी मेकर्सको ब्यानरमा उनले चलचित्र यो कथा निर्माण गरिसकेका छन् भने भीरको फर्सी निर्माणको तयारीमा छन् ।

शुरुका दिनहरु केही कष्टप्रद भए पनि अब बिस्तारै दिनहरु सहज बन्दै गएको नारायणको अनुभव छ । दक्ष कलाकार र प्राविधिकहरु तयार भइसकेको हुँदा अब उनलाई कला क्षेत्रमा काम गर्न निकै सजिलो भएको छ । बजार पनि क्रमशः बन्दै गएको हुँदा नारायण उत्साहित र आशावादी छन् । उनीसँग उनका भाइ सूदन नेपाल, अमृतमन वली, प्रमोद श्रेष्ठ, वीरु चौधरी, वुलन गुप्तालगायतको दक्ष जनशक्तिको सिर्जनशील समूह छ ।

‘अब यहाँ सबै काम गर्न सकिन्छ । भइरहेका पनि छन् । अब हामीलाई काठमाडौं जान पर्दैन ।’ नारायणले उत्साहित हुँदै बताए ।

उनी लेखक शंकरप्रसाद नेपालका छोरा हुन् । बुबाको प्रेरणा र संरक्षणमा आफू कला क्षेत्रमा क्रियाशील रहेको नारायणले बताए । घोराही–११ भरतपुरका ३९ वर्षीय नारायणको कला निष्ठा उदाहरणीय छ, अभिनन्दनीय छ ।

प्रस्तुति : के एल पीडित

By

Readers Comments (0)