Filed Under:  पर्यटकीय गन्तव्य

पर्यटकीय स्थलको ठूलो सम्भावना जखेरा ताल

13th December 2014   ·   1 Comment

Kopila-17- छविलाल कोपिला

पृष्ठभूमि :

थुप्रै पर्यटकीय सम्भावना बोकेको जिल्लामध्ये दाङ पनि अग्रपङ्तिमा आउँछ । प्राचीन कला र संस्कृतिको त्रिवेणी रहेको यहाँ लोकसंस्कृतिको प्राचीन वैभव विद्यमान रहनु हो । मध्यपश्चिम क्षेत्रकै महत्वपूर्ण जिल्ला मानिने यहाँ प्रचूर मात्रामा भौगोलिक तथा प्राकृतिक सौन्दर्य विद्यमान रहेको कारण पनि पर्यटन विकासको ठूलो सम्भावना देखिन्छ ।

सांस्कृतिक रुपमा हेर्ने हो भने पनि विभिन्न जनजाति आदिवासीका आ–आफ्नै रीतिरिवाज, कला, संस्कृति तथा लोक साहित्य बोकेको यो जिल्ला सामाजिक, ऐतिहासिक, धार्मिक, सांस्कृतिक विशेषतामाथि उजागर भई पर्यटकीय थलोको रुपमा प्रस्तुत भइसकेको अवस्था रहेको छ । अनुकूल हावापानी, ऐतिहासिक तथा धार्मिक स्थलहरुको प्रचूरता प्राचीन कला, संस्कृति, जंगली पशुपंछीको आश्रयस्थल नदीनाला, खोला–खोल्सा, विभिन्न आकार–प्रकारका जलकुण्ड, दह र तलाउहरुले यस जिल्ला पर्यटकीय थलोको रुपमा परिचित भइसकेको छ ।

अहिले विज्ञान र प्राकृतिक संघर्षको अवस्थाका कारण विज्ञानले दिन प्रतिदिन प्रकृतिमाथि आफ्नो प्रभुत्व जमाउँदैछ जसको परिणामस्वरुप वातावरणको आधारभूत तत्वहरु पानी, माटो, हावा, पुरातात्विक स्थल र पर्यटकीय स्थल इत्यादिको भौगोलिक संरचनामा परिवर्तन भई वातावरणीय असन्तुलन हुँदैछ । ती सम्पदाहरुको जगेर्ना, संरक्षण र सम्बद्र्धन गर्ने कर्तव्य हामी सबैको हो ।

विषय प्रवेश :

दाङ जिल्लाको देउखुरी उपत्यकामा पर्ने जखेरा ताल अहिले पर्यटकीय स्थलमध्येको चर्चामा आएको ठाउँ हो । यसको आन्तरिक अवस्था जे जस्तो भए पनि संरक्षण तथा सम्बद्र्धन गर्न नितान्त आवश्यक देखिन्छ । पानीको स्थायी मुहान नहुनु, बर्षातको पानीले बगाएको माटोले पुरिदै गरिनु, अत्यधिक जलघाँसका कारण लुप्त हुने अवस्थामा पुगेको जखेरा ताल व्यवस्थित संरक्षणको अभाव खट्किन्छ । आफ्नै जिल्लाबासीहरुलाई जानकारी नभई प्रचार–प्रसारको अभाव देखिएको यो ताल जिल्लामा मात्रै होइन उचित व्यवस्था मिलाउन सकिए मुलुककै नमुनास्थल बन्न सक्ने प्रबल सम्भावना देखिन्छ ।

देउखुरीको सोनपुर–५, मुसण्डी भन्ने ठाउँमा अवस्थित जखेरा ताल, लमही बजारदेखि पाँच किलोमिटर पूर्व र महेन्द्र राजमार्गको १.४ किलोमिटर उत्तरतर्फ चुरे पहाडको फेदीमा रहेको छ । यसको क्षेत्रफल पहिले नौ बिघा भए पनि अहिले विस्तार गरेर १२ बिघा पु¥याइएको छ । कुनै समय अजम्मरी झारले टम्म भरिएको ताल, अहिले ती झारहरु हटाएर केही रुपमा फराकिलो र खनेर गहिरो बनाइएको छ तर बर्षायाममा अत्यधिक बर्षातका कारण उत्तरतिरबाट आएको पानीले बगाउँदै ल्याएको माटोले पुरिने क्रम जारी छ  । प्रगन्ना कुलो सिंचाई आयोजनाअन्तर्गत पर्ने नारायणपुर कुलो निर्माण हुने गुरुयोजना तयार भएको छ तर अहिलेसम्म तयार भइनसकेको अवस्थामा कतिपय समस्याहरु देखिएका छन् । कुलो सम्पन्न भएपछि यसको विकासमा ठूलो सम्भावना देखिन्छ । भौगोलिक दृष्टिकोणले सुन्दर जखेरा तालको उत्तरतिर चुरे पहाड, दक्षिणतिर समथर खेती योग्य भू–भाग, पूर्व र पश्चिममा घनारुपमा सामुदायिक वन क्षेत्रको हरियो वन रहेको छ ।

जखेरा तालको पूर्वावस्थाको अध्ययन गर्दा त्यहाँको भू–बनोट अलिकति होचो या खाल्डो परेको जमिन भएको र त्यसमा सामान्यतया पानी रहिरहने भएकाले हिलो हुने ठाउँ हो । हिलो (थारू भाषामा ओज) हुने भएकाले तत्कालीन अवस्थामा त्यसलाई ओजह्वा भन्ने गरिन्थ्यो । करिब आठ बिघा क्षेत्रमा घनारुपमै अजम्मरी झार भएकाले त्यसमा विभिन्न जातका चराचुरुङ्गीहरु पनि पाइन्थे । धेरैको भनाइअनुसार एउटा ठूलो अजिङ्गर सर्प पनि थियो । त्यहाँ मानिसहरु जान डराउँथे ।

त्यसको भौगोलिक बनावट दक्षिणतिर खेतीयोग्य समथर भू–भाग छ । पानीको मूल मुहान नभएकाले त्यहाँका किसानहरु आकाशे पानीको भर पर्नुपर्ने बाध्यता थियो । पछि आएर त्यहींका स्थानीय बासिन्दाहरुको सक्रियतामा बाँध बनाई पानी जम्मा गरी खेती गर्न थालियो । बाँध बनाउनेहरुमा टिक्लीगढ, फल्कापुर, मुसण्डी र श्रीगाउँका गाउँबासीहरुले ठूलो भूमिका रहेको छ । बर्षातको पानी जम्मा भएपछि उनीहरु खेतमा सिंचाइ गर्थे । यसरी जम्मा भएको पानीको ठूलो खण्डलाई थारू भाषामा ‘जखेरा’ भन्ने अर्थ लाग्छ र यसैको विकसित रुप हो– जखेरा ताल ।

०५६ सालमा जिल्ला भू–संरक्षण कार्यालय तुलसीपुरका तत्कालिन रेन्जर शेषदत्त चौधरीको संयोजकत्वमा गरिएको जखेरा ताल सामुदायिक विकास समिति गठनबाट विधिवत संरक्षणको शुरुवात भएको देखिन्छ । अहिले यसै समितिको सक्रियतामा यसको संरक्षण तथा सम्वद्र्धन भइरहेको छ ।

तर, यसको कतिपय व्यवस्थापन पक्षमा ध्यान नपु¥याउँदा यसले विभिन्न समस्याहरु पनि झेलिरहेको छ । सडक नभएर, टाढाबाट आउनेलाई दर्शकहरुलाई कठिनाइ भएको महसुस हुन्छ । उचित संरक्षणको अभावमा भूक्षय भई उत्तरतिरको भाग पुरिदै आएको छ । त्यसमा पालन गरिएका माछा, कमलका फूल फस्टाउन नसक्नु, तालमा भएको जलघाँस पूर्णरुपले नष्ट भइसकेको कारण विभिन्न समयमा आउने पशुपन्छीहरुको संख्यामा ह्रास आउनु तथा मन्दिरमा गरिएको रंगरोगन त्यस क्षेत्रको वातावरणसँग सुहाउँदो नभएकोले चराचुरुङ्गीहरु पनि प्रभावित भएको देखिन्छ ।

त्यसैगरी समितिले बनाएको गुरुयोजनाअनुरुप करिब ९० प्रतिशत कार्यसम्पन्न भएको बताइए पनि त्यसको संरचना उचित रेखदेख तथा संरक्षणको अभावमा जीर्ण बन्दै गएका छन् । तालको पूर्व–पश्चिम केही घरटहराहरु भएका कारण रिङरोड बन्न नसकेको स्थानीय बासिन्दाहरु बताउँछन् । त्यसैगरी व्यवस्थित पिकनिक स्थल, गाडी पार्किङ गर्ने स्थलको अभाव पनि खट्किन्छ । त्यहाँ भएको हराभरा वनजंगलले भने त्यस क्षेत्रको आकर्षण थपेको छ ।

तालको वर्तमान अवस्था, भौगोलिक बनोट, प्राकृतिक सौन्दर्यता र त्यहाँका स्थानीय बासिन्दाहरुको सक्रियता देख्दा विकासका थुप्रै सम्भावना देखिन्छ । जुन केही सम्भावनाहरु बुँदागतरुपमा यहाँ प्रस्तुत गर्न खोजिएको छ ।

– तालको वरिपरि कम्तिमा पाँच मिटरको सडक निर्माण गर्न सकिने ।

– तालको चारैतिर प्रतिक्षालय र एउटा दृश्यावलोकन टावर निर्माण गर्न सकिने ।

– विभिन्न जातको फलफूलहरुको व्यवस्थित नर्सरी बनाउन सकिने ।

– खानेपानीको उचित व्यवस्था मिलाउन सकिन्छ ।

– तालको चारैतिरको भागलाई कटान गरी थप आकारको वृद्घि गर्न सकिन्छ ।

– तालमा भएको जलघाँसलाई नियन्त्रण गरी माछापालन, सजिलै पौडी र डुंगा चलाई आयआर्जनको श्रोत तयार सकिने ।

– रिङ–रोड निर्माण गरी व्यापारिक केन्द्रको स्थापना गर्न सकिने ।

– फलफूल खेती गरी आयआर्जनको स्रोत तयार गर्न सकिने ।

– तालको केही सीमित क्षेत्रमा पिकनिक र मनोरञ्जन स्थल बनाउन सकिने ।

– तालसँगै मन्दिर पनि भएकाले विवाहमण्डप भवन, माली रेखदेख भवन र पार्क बनाउन सकिने ।

– पशुपन्छीहरुको उचित संरक्षण गरी पर्यटकहरुको आकर्षण स्थलको विकास गर्न सकिने ।

– विभिन्न जातजातिहरुको बसोबास हुने भएकाले उनीहरुको सांस्कृतिक नृत्य तथा होेमस्टेको विकास गरी आयआर्जनको श्रोत तयार गर्न सकिने ।

– ठाउँ–ठाउँमा शौचालय बनाई, वातावरण स्वच्छ र सफा गर्न सकिने ।

– विभिन्न प्रयोजनको लागि विद्युतीकरण गर्न सकिने ।

– बेमौसमी खेती गर्न सकिने र आयआर्जनको श्रोत खोज्न सकिने ।

– जखेरा ताललाई पर्यटकीय स्थल विकास समिति गठन गरी पूर्वाधारको खोजी गर्न सकिने ।

– टाढाबाट आएका पर्यटकहरुका लागि खान, बस्न रेष्टुरेन्ट, धर्मशालाको व्यवस्था गर्न सकिने ।

– उत्तरतिरको गल्छीमा तारजाली लगाई भू–क्षयबाट रोक्न सकिने ।

– नारायणपुर कुलो प्रणालीमा बाँध निर्माण गरी आवश्यकता अनुसार पानी ल्याउन सकिनेलगायतका थुप्रै सम्भावनाहरु देखिन्छ ।

– जखेरा तालको चौतर्फी विकास भए त्यहाँ हुने सम्पूर्ण सुविधाबाट कर उठाई लगानी चाँडै प्राप्त हुनेछ ।

दाङलाई राष्ट्रियस्तरमा पर्यटकीय थलोका रुपमा परिचित गराउन सक्छ । यस जिल्लाका दह–तलाउ, मन्दिर र पुरातात्विक महत्व बोकेका अनेकौं स्थानहरु विद्यमान रहेका र थोरै लगानीमा धेरै लाभ लिन सकिने यस्ता स्थानहरु प्रशस्त रहेकाले यसको विकास गरेमा पर्यटकहरुलाई मात्र आकर्षित नगरी यस क्षेत्रका वरपरको गाउँलाई सिंचाई रोजगार र आयआर्जनको स्थल सजिलैसँग बन्ने देखिन्छ ।
०००

By

Readers Comments (1)

  1. bhaskar chaudhary says:

    Nice article for Jakhera pond. There should be declared no go zone at the north side of the pond for wildlife conservation and migratory birds. There should not be farmed grass carp fishes. Grass carp fishes have destroyed all the aquatic plants of the pond. The temples have made migratory birds disturbance to stay there. Home stay concept is good.