Filed Under:  समीक्षा

नारायण नेपाल र उनको ‘मूल्यहरु’

13th December 2014   ·   0 Comments

Uttamkrishna Majgaiya- उत्तमकृष्ण मजगैंया

वि.सं. २०२० मा स्याङ्जा, गण्डकी अञ्चलमा जन्म भई दाङलाई आफ्नो कर्मथलो बनाएका, नेपाल संस्कृत विश्वविद्यालय केन्द्रीय विद्यापीठ, दाङमा सह–प्राध्यापक पदमा कार्यरत, शांकर वेदान्ताचार्य नारायण नेपाल एक चर्चित कवि, गीत÷गजलकार एवं निबन्धकार हुन् । यिनको ‘मिट्टी उठाओ’ हिन्दी भाषामा रचित कवितासंग्रह– २०५६ मा एवं ‘मेरा मनका गीत’ नामक नेपाली गीत÷गजलसंग्रह २०६० मा प्रकाशित भई पाठक एवं समीक्षकहरुबाट प्रशंसित पनि भइसकेका हुन् भने पछिल्लो कृति विभिन्न लेख निबन्धहरुको संग्रह ‘मूल्यहरु’ २०६३ मै प्रकाशित भई पाठकसमक्ष आएको छ र यिनको सबल लेखनीको परिचायकका रुपमा ठडिएको छ । यिनले हाम्रो अपेक्षाको स्पष्ट चित्र नभएजस्तै अनिश्चित भविष्यतर्फ अनायास प्रगतिशील हाम्रा पाइलाहरुको मूल्यांकन भएन भने हामी शाब्दिक सभ्यताको भीडमा मूल्यहीन हुनुपर्ने र नेतृत्वविहीन अवस्थामा वर्तमान गतिमान् भएकाले मूल्यको खोजी स्वाभाविक ठह¥याएर ‘मूल्यहरु’को रचना गरेको स्पष्ट स्वीकारेका छन् । यसभित्र समाविष्ट प्रायः सबै निबन्ध, लेख वा समीक्षा–टिप्पणीहरुमा हाम्रो आदर्श, मूल्य र मान्यताहरुमा आउँदै गरेको ह्रास, वेथिति र विसंगति, जन–मनका सपना र अपेक्षाहरुमा भएको कुठाराघात आदिबाट सिर्जित छटपटी, आक्रोश एवं त्यसका विरुद्ध अविछिन्न अस्वीकृति अन्तव्र्याप्त रहेको पाउन सकिन्छ । यिनका पद्य रचनाहरुजस्तै कलात्मक तथा संस्कृतनिष्ठ मिठो भाषाशैली एवं कविताझंै कोमल र सुस्वादु रहेका यी गद्य रचनाहरु एक सचेत र जाग्रत लेखकका चिरन्तन चिन्तनका महत्वपूर्ण प्राप्ति हुन् भन्नुपर्छ । दीर्घ अभ्यास र सूक्ष्म दृष्टिका साथ गहन भाव–विचरण नगर्दै यस्ता उच्च स्तरका परिष्कृत रचनाहरुको सिर्जना सम्भव पनि छैन । लेखकको आफ्नो समय, परिवेश र घटनाक्रम देख्ने दृष्टि बलियो, चिन्तन–मन्थन गर्ने मस्तिष्क र महसुस गर्ने हृदय सबै परिपुष्ट भएकैले प्रत्येक रचना सोद्देश्य, सार्थक र पठनीय रहेका छन् ।

विश्व भातृभाव र लोकतान्त्रिक आलोकमा दीक्षित, सनातन धर्म र परम्परागत उच्च सांस्कृतिक मूल्य र मान्यताबाट अनुप्राणित, आफ्नो माटोको सुगन्धबाटै आनन्दित र आल्हादित रहने एक चिन्तनशील, कर्मशील कवि–व्यक्तित्व नारायण नेपालले अधिकांश नैष्ठिक, राष्ट्रवादी नेपालीहरुकै मर्म एवं चिन्ता र चासोलाई आत्मसात गरेर उनकै वाणी बोलेका छन् । प्रायः सबै रचनामा यस्तै प्रभाव उपस्थापित भएको पाइन्छ । त्यसैले पनि घृणाका पात्रहरुलाई यिनको भाषा केही बिझ्ला, यिनका विचार सुइराझैं ¥वाम्म ¥वाम्म रोपिएलान् तर यिनी निर्भीकतापूर्वक बोलेका छन् र भित्तो पु¥याएरै बोलेका छन् तर शालीन, शिष्ट र विशिष्ट भाषामा । आफ्ना विचारका टाठा धारहरुलाई पनि कलात्मकरुपमा अभिव्यञ्जित गरेका छन् लेखकले । त्यसैले यी रचनाहरु सर्वग्राह्य छन्, पठनीय छन्, मननीय छन् ।

यिनले वर्तमान युग र परिवेशका विविध पक्षलाई एक दार्शनिक दृष्टिले नियालेर आफ्ना मत प्रस्तुत गरेका छन् । भाषा नितान्त बौद्धिक, तार्किक तर केही जटिल किसिमको रहेको छ जो सामान्य पाठकले बुझ्न गाह्रै पर्छ । तत्सम, तद्भव र आगन्तुक शब्दहरुको प्रशस्त प्रयोगले सामान्य पाठक अतालिन पनि सक्छ तर माटोमा केही फलाउन बाँझो र डल्ला त फोर्नैपर्छ । अर्थात् शब्द–शब्द केलाउनुपर्छ, वाक्य–वाक्यमा अडिनु पर्छ, मथिङ्गल खियाउनुपर्छ अनि मात्र बुझ्न सकिन्छ– ‘मूल्यहरु’को मर्म । त्यसपछि भने त्यसको स्वाद रहिरहन्छ आफ्नो चेतना रहँदासम्म । यही विशेषता छ नारायण नेपालको यस साहित्यिक परिकारको ।

केही मननीय सुन्दर अभिव्यक्तिहरु :

– मट्यांग्रो ढुंगापछिको कलात्मक खोजी हो । (सिमल एक क्रान्तिकारी शिक्षक)

– जहाँ–जहाँ मन छ त्यहाँ–त्यहाँ युद्ध छ र युद्ध जहाँसम्म रहन्छ त्यहाँसम्म स्वीकृति जन्मिसकेको हुँदैन । (प्रतिनिधित्व दिने शिक्षा आचरण हो)

– उपयोगिताको आधारमा मूल्य निर्धारण हुने भए यसरी एउटै मूल्यको मान्छे अनेक मापदण्डले नापिने थिएन । (मूल्यहरु)

– उदरपूर्तिको आनन्दप्राप्तिका लागि परिपक्व अन्नका बोटहरु मर्नुपर्दछ । हरेक बिहानीको स्फूर्तिको उदयका लागि हरेक दिनको सूर्य अस्ताउनैपर्छ । सृष्टिको सुन्दरतम अंकुरणका लागि पूर्व प्रसंगले मौनधारण गर्नुपर्छ– प्रलयको पटाक्षेप हुनैपर्छ । (सत्य मृत्यु सिकाउँछ र समय जीवन पढाउँछ)

– प्रेमको श्रेष्ठता बुद्धको राज्याभिमानमुक्त सहज करुणाद्र्र बुद्धत्वको संवरण हो । प्रेमको अलौकिकता शंकराचार्यको अद्वैतभित्र आत्मसन्निवेश हो । (आउनोस् सच्चा प्रेम गरौं)

– केवल आसनका कारण मात्र अग्ला देखिएकाहरुलाई आसन छोड्न साह्रै गाह्रो हुन्छ । (तपाइँलाई संस्कृत नचाहिए कसैलाई पनि चाहिंदैन ?)

कति उद्धरण दिने ? प्रायः प्रत्येक पंक्ति विचारका सघनताले यस्तै गह्रुङ्गा तर चहकिला छन् । पाठक एक क्षण घोत्लिनैपर्छ । यस्तै, मृत्युदण्डको प्रश्न बन्दका आयोजना र प्रजातन्त्र, नेतृत्वको अवमूल्यनको अर्थ, माथि कसलाई हेरेर उठ्ने, अभिमान, अभिसार र आन्दोलन, लोकअधिकार र राष्ट्रियता, खै कहाँ घट्यो अँध्यारो ?, कुनै दिन सर्पहरु पनि चुनावमा उठे भने ?, अनि बल्ल इतिहासबाट सिकेको ठहर्छ, कसैले आफूलाई सम्राट नमाने हुन्छ, प्रगतिशीलहरु त प्रगतिशील हुनैपर्छ जस्ता लेख, निबन्धमार्फत् लेखकले आफ्ना मूल्य र मान्यताहरु, विश्वास र निष्ठा, शान्ति र सापेक्ष परिवर्तन, उन्नति र देशाभिमान, आत्मगौरव र उदात्त लोकतान्त्रिक अभ्यासबारे आफ्ना अभिमत स्पष्ट जाहेर गरेका छन् । पतन र अधोगतिका विभिन्न कारणहरु तथा शान्ति र समुन्नतिको अपरिहार्यता एवं प्राप्तिका आधार–मार्गसमेत सुझाएका छन् । राष्ट्र र राष्ट्रियता, लोकतन्त्र, प्राचीन मौलिक संस्कृति एवं समृद्ध संस्कृत वाङ्मय तथा साहित्यको संरक्षण, सम्बद्र्धन एवं नेपालीमनहरुलाई एक सूत्रमा बाँधेर राख्ने आत्मीय भाव, भातृभाव र विश्वबन्धुत्वबारे पनि यिनका गहन मननीय विचारहरु पनि यत्रतत्र छरिएर रहेका छन् यिनका लेख–निबन्धहरुमा ।

साधनाको बाटोमा केहीबेर विश्रान्ति खोज्ने मनमयूरहरुका लागि यिनी गीत र गजल पनि लेख्छन् । जीवनको अन्तिम परिभाषा र अन्तिम सत्य लेखिनुभन्दा पहिले पनि सत्य लेखनको परम्परालाई निरन्तरता दिनका लागि आफ्नो लेखनी उठाएका छन् तर सकेका छैनन् यिनले पनि अहंकारको मृत्यु लेख्न । जसरी यिनले आफ्नो ‘मिट्टी उठाओ’को भूमिकामा ‘म त अक्षरहरुको अनुवादक मात्र हुँ’ भनेका छन् त्यसले यिनीभित्रको सरलता, उदारता र उदात्तता प्रतिबिम्बित गर्छ र केही हदसम्म अहंकार यिनको पाइतलामुनि थिचिएको छ भन्ने स्पष्ट संकेत पनि गर्छ । यिनले विभिन्न विधामा कलम चलाए पनि यिनको विशिष्टता के मा ? भनेर प्रश्न पनि उठ्ने गर्छ कहिलेकाहीं । यिनी गीत÷गजल गाउँछन्, हामी चाहन्छौं यिनी गाइरहुन्– हामी सुनिरहौं । हामीलाई आफ्नो मन–विणाको तार झन्कृत भएझैं लाग्छ । यिनी छन्दमा जब कन्ठस्थ कविता पढ्छन् लयमा, हामी रसविभोर हुन्छौं र चाहन्छौं गोष्ठीको अन्त्य नहोस् । तर जब यिनका लेख÷निबन्ध पढिन्छन् तब अन्तरबोध खुलेझैं, चेतना हल्लिएझैं, विचारको क्षितिज छ्याङ्ग उघ्रेझैं लाग्छ त्यसरी नै जसरी मेघाच्छादित आकाश एकाएक फाटेर झलमल्ल घाम लाग्छ । कोरा भावुकता भन्दा बढी दार्शनिक चिन्तनझैं लाग्ने यी रचनाहरु प्रत्येक वाक्यमा केहीबेर पाठकलाई अड्याउन र सोच्न बाध्य पार्न सक्षम देखिन्छन् भने जब माटोको, राष्ट्रको अस्मिताको संकटको, नीति–नैतिकता र चरित्रमा क्रमशः आउँदै गरेको ह्रास र अधपतनको, कुर्सी र पदमोहको, नेतृत्वतहका व्यक्तिहरुको बहुरुपीयापन, लाचारीपन र सामथ्र्यहीनता आदिका प्रसंग आउँदै गर्छन् पाठकमा आक्रोश जाग्न थाल्छ । साथै राष्ट्र र राष्ट्रियताप्रति, संकटमा रहेको लोकतन्त्रप्रति उसको चिन्ता र चासो बढ्दै जान थाल्छ । यिनले आफ्ना रचनामार्फत् जीवनका रहस्य वा कुण्ठित मनोग्रन्थिका पत्र मात्र केलाएका छैनन् जगतका पीडा, देश र माटोका पीडाले पनि यहाँ यथेष्ट स्थान पाएका छन् । लेखक दर्शनशास्त्रका पण्डित हुन् त्यसैले त्यसको प्रभाव वा चाप यिनका रचनामा यत्रतत्र देख्न सकिन्छ तर त्यो मात्र पण्डित्याइँका रुपमा नभएर तत्वबोधका रुपमा उपस्थित भएको पाइन्छ । जुन मार्ग भए पनि अपेक्षित गन्तव्यसम्म पुग्नैपर्छ र यो सबै यात्रीको अभीष्ट पनि हो ।

लेखक नेपालका लेख/निबन्धका प्रायः प्रत्येक पंक्ति बिसौनी हुन् पाठक–यात्रीका चिन्तनका लागि, तर तिनले बीचमै अल्मल्याएर रोकी राख्दैनन् । बरु ढुक्कसँग अन्ततः मुख्य गन्तव्यसम्म पु¥याएरै छाड्छन् यात्रीलाई । यो चाहिं सत्य हो कि आख्यान, आहान, उखान–टुक्का र अन्य चिन्तक, लेखक एवं विद्वानहरुका कथन–उद्धरण जसले पाठकलाई बाँधिराख्छ र बोझिलताबाट बचाएर राख्छ त्यसको प्रयोग केही कम भएका कारण धैर्यहीन पाठकका लागि यो पठन–यात्रा केही कष्टकर र दुःसाध्य लाग्न सक्छ तर अप्रिय चाहिं लाग्दैन । यी रचना गम्भीर पाठक–अध्येताका लागि हुन् जो केही विशेष प्राप्तिका लागि पढ्ने गरिन्छ । तर अखबार–दीक्षित पाठकहरु को–कतिले यो र यस्ता कृति पढेका छन् र पढेर मनन गरेका छन् म भन्न सक्दिनँ तर यस्ता गम्भीर, खँदिला र ओजपूर्ण सार्थक पठनीय कृति कम से कम दाङको माटोमा निकै कम लेखिएका छन् भन्न सकिन्छ । यो मीठो गुदी भएको त्यस्तो फल वा परिकार हो जसलाई स्वाद लिंदै विस्तारै चपाउँदै–पचाउँदै गर्नुपर्छ । निश्चय पनि यसले पाठकको मस्तिष्क परिपोषित गर्छ, विचार प्रष्ट र भाषा समृद्ध बनाउँछ । यसरी एउटा गम्भीर र अर्थपूर्ण कृति प्रकाशित गराएर लेखक नारायण नेपालले साहित्यिक क्षेत्रलाई ठूलो गुन लगाएका छन् भन्नुपर्छ ।

अन्तमा, लेख–निबन्धहरुको भाषा क्लिष्ट रहनु, विषयवस्तु बढी राजनीतिकेन्द्रित रहनु, रचना प्रायः लघु वा मध्यम आयामका हुनु, पुस्तकमा विषयसूची नरहनु, खिपिएका साना अक्षर रहनु, अन्य कसैको कुनै भूमिका नराखिएर विषय प्रवेशमा गाह्रो हुनुजस्ता केही सामान्य कमी कमजोरी मानिएलान् तर यस्ता कुराले पुस्तकको महत्ता घटाउँदैन । पाठ्यवस्तु सार्थक र महत्वपूर्ण भएकाले तथा बौद्धिक, तार्किक एवं मननीय समेत रहेकाले पनि चारुचन्द्रिकामा मुग्ध हुने रसिकले त्यसमा रहेको धब्बा नखोजेझैं सुधी पाठकले पनि यस्ता झिनामसिना त्रुटितिर दृष्टि दिदैनन् पनि । यस्ता सार्थक र प्रभावकारी थप कृतिका लागि आग्रह गर्दै म साहित्यकार नारायण नेपाल नेपाली साहित्याकाशका देदिप्यमान नक्षत्र बनून् भन्ने कामना गर्दछु ।

By

Readers Comments (0)