Filed Under:  विचार | टिप्पणी

लेखनको राजनीति र प्रगतिशील मुखौटाहरु

13th December 2014   ·   0 Comments

Pramod_Dhital_writter- प्रमोद धिताल

एकथरि मानिसहरु साहित्यमा राजनीति हुन्छ भन्ने कुरालाई ठाडै अस्वीकार गर्छन् । उनीहरु साहित्यमार्फत् समाज परिवर्तन गर्छु भन्नुलाई मूर्खता ठान्छन् । के उनीहरुले भनेजस्तो साहित्यमा राजनीति हुँदैन ? या साहित्य भनेको त्यति निष्प्रयोजन, निरीह र मन बहलाउनको लागि सबैभन्दा तल्लो दर्जाको साधन हो ? यदि यसमा पर्याप्त बहस गरिएन भने साहित्यको जीवन र समाजमुखी महान प्रयोजनलाई विद्रुपीकरण गरिरहेका उनीहरुको प्रभावले साहित्यको राम्रो बीज निहित रहेको नयाँ पुस्ताको एकजना मान्छे पनि प्रभावित हुनु समाजको लागि ठूलो घाटा साबित हुनसक्छ । किनकि साहित्य फगत कला हो अरु केही होइन भन्ने तर्कभित्रै भयानक राजनीति छ ।

साहित्य (असल साहित्य) को सबैभन्दा ठूलो शक्ति त त्यसैमा निहित छ, जसले मानिसको मानसमाथि चोट पु¥याउँछ र विष्फोट पैदा गर्छ । यदि त्यो विष्फोटले मानिसलाई जीवन र जगतका लागि केही नयाँ गर्न उत्प्रेरित ग¥यो भने साहित्यको क्रान्तिकारी कार्य त्यो भन्दा अर्को हुन सक्दैन । कुनै बेला भूपि शेरचनका कविताहरु पढेर क्रान्तकारी भएकाहरु, मोदनाथ प्रश्रितका ‘देबासुर संग्राम’, ‘गोलघरको सन्देश’ पढेर परिवर्तनको पक्षमा उभिनेहरु, म्याक्सिम गोर्कीको ‘आमा’ पढेर कम्युनिष्ट बन्नेहरु, पारिजातको ‘अनिदो पहाडसँगै’, आहुतिको ‘नयाँ घर’ पढेर समाज परिवर्तनको अभियानमा जोडिनेहरुको आत्मबयानलाई सुन्नेहरुले सहजै अनुमान गर्नसक्छन्, साहित्यमा हुने दमको तुलना अन्य कुरासँग गर्न मिल्दैन भनेर ।

यो दुनियाँमा हरेक कुराको आफ्नै विशिष्ट महत्व छ । साहित्यको हकमा पनि त्यही कुरा लागू हुन्छ । साहित्यको महत्वलाई मनोरञ्जन या आनन्दसँग मात्र तुलना गर्नेहरुले यो कुरा पनि बुझ्नुपर्छ कि मनोरञ्जन या आनन्दको स्रोत के हो ? के त्यो जीवन या समाज निरपेक्ष हुन्छ ? साहित्यमा कि आशावाद हुन्छ कि निराशावाद । कि कुण्ठा हुन्छ कि उमंग । कि यथार्थको वैज्ञानिक चित्रण हुन्छ कि भ्रष्टीकरण । कि बहुसंख्यक मानिसहरुको रोदन, आँसु, संघर्ष र खुशीको सृजनात्मक पुनरउत्पादन हुन्छ । जीवनका विसंगति, कुरुपता, दासता अनि स्वतन्त्रताका बाधकहरुसँग संघर्षको हुटहुटी हुन्छ कि त अघाएकाहरुको आत्मरति ।

साहित्यमा यस्तो कुनै चीज हुँदैन जो जीवनभन्दा पर होस्, जो लेखकको जीवन र जगतलाई हेर्ने दृष्टिकोणबाट मुक्त होस् । जहाँसम्म लेखनमा पक्षधरताको कुरा छ, त्यो सिधै दृष्टिकोणसँग पक्षधरताको कुरा हो । मानिसको जीवन र जगत सम्बन्धमा बुझाई र भूमिकाको समेत चयनको कुरा हो । फरक यत्ति हो कि तपाईं जीवनको प्रयोजनको पक्षमा कि जीवनको निष्प्रयोजनको पक्षमा ? यदि तपाई जीवनलाई नै सामाजिक गतिविधिको निम्ति प्रयोजनहीन ठान्नुहुन्छ भने स्वाभाविक छ साहित्य पनि त्यस्तै लेख्नुहुन्छ र मन पराउनुहुन्छ ।

म जीवनको प्रयोजनलाई त स्वीकार्छु तर साहित्यको प्रयोजनलाई स्वीकार्दिनँ भन्नुहुन्छ भने तपाईंलाई न जीवनको पक्षमा भनेर स्वीकार्न सकिन्छ न साहित्य बुझेको भनेर । जब तपाईंको निम्ति जीवनकै प्रयोजन छैन भने तपाईंको निम्ति साहित्यको प्रयोजन किन ? त्यस्तो व्यक्तिले लेख्ने साहित्यले समाजलाई कुण्ठा, हिनताबोध, निराशा र मृत्युभन्दा अरु दिन सक्छ ? त्यसैले हामी भन्न सक्छौं कि जसरी दुनियाँमा जीवनको प्रयोजन र मूल्यसँग तुलना गर्नलायकको अर्को कुनै कुरा छैन त्यसरी नै साहित्यको मूल्य र प्रयोजनसँग तुलना गर्न मिल्ने पनि अर्को कुनै कुरा छैन ।

साहित्यमा पनि कुरुपता र सुन्दरता हुन्छ । साहित्यमा पनि पक्षधरता हुन्छ अनि हुन्छ राजनीति । समाज कुरुप सुन्दर दुबैमा विभाजित भएझैं साहित्य पनि कुरुपता र सुन्दरता दुवै भेटिन्छ । साहित्य विशुद्ध कलाबाहेक अरु केही होइन भन्नु जत्तिको भयानक राजनीति अरु केही होइन । कला भएरै साहित्य ‘साहित्य’ हुन्छ । तर साहित्य कलात्मक राजनीति हो । त्यसमार्फत् कुरुपता र सुन्दरता अग्रगामी र यथास्थितिवादी, जीवनशील र मरणशीलताको पक्षमा राजनीति हुन्छ र गरिन्छ ।

पारिजातले घोर निराशाले डोरिएको बेलामा शिरिषको फूल लेखिन् । कलात्मक हिसाबले मात्रै हेर्दा त्यो उत्कृष्टताको कोटीमा पनि पर्ला । तर त्यसले के दियो ? ठूलो कुरा त्यो हो । विष त विष नै हो, चाहे त्यो जतिसुकै सु–स्वाद किन नहोस् । उनी आफैले पछि गएर शिरिषको फूलको शून्यवादी सारलाई इन्कार गरिन् र जनपक्षीय र आशावादी साहित्यको सृजना गरिन् । शिरिषको फूल लेख्ने पारिजातले अनिदो पहाडसँगै जस्ता कृतिहरु लेख्नु उनीमा आएको जीवनलाई हेर्ने दृष्टिकोणमा परिवर्तनको उपज हो । ती कृतिहरुलाई अवमूल्यन गर्दै कलावादीहरु शिरिषको फूललाई नै बोकेर किन हिड्छन् ?

किनभने त्यसमा जीवनको निस्सारता छ । शिरिषको फूलजस्ता कृतिहरुमा आनन्द देख्नु तर अनिदो पहाडसँगैलाई महत्व नदिनु जीवनको निस्सारतालाई सही ठान्नु हो । यदि पारिजातले जीवनको अन्तिम कालखण्डसम्म पनि शिरिषको फूलकै आदर्शमा अडिएर साहित्य सिर्जना गरेको भए जीवनको शून्यावदमा आनन्द देख्नेहरुको आदर्श त बन्थिन् तर अन्ततः उनीबाट समाजले के पाउँथ्यो ? सोच्नुपर्ने कुरा यो हो ।

हामीले शिरिषको फूलमा जतिसुकै कला देखौं आखिर त्यसले बाँडेको त जीवनको अर्थहीनता हो, निस्सारता अनि प्रयोजनहीनता हो । उनका पछिल्ला कृतिहरुलाई कलावादीहरुले जतिसुकै नारा देखून् ती कृतिहरुमार्फत् पारिजातले बाँडेको जीवनको प्रयोजन हो, आशावादीता हो । त्यसैले ती कृतिहरु रुपान्तरको पक्षमा ऊर्जा हुन् ।

राजनीति या राजनीतिक क्रान्तिले गर्ने काम साहित्यले गर्न सक्दैन । तर केही यस्ता कार्यहरु छन् जो साहित्यले मात्र गर्न सक्छ, जुन काम राजनीतिले पनि गर्न सक्दैन । रसियन साहित्यको इतिहासमा जुन काम गोर्कीले गरे त्यो काम कुनै पनि हालतमा लेनिनबाट सम्भव थिएन । अनि जुन काम लेनिनबाट सम्भव भयो त्यो काम गोर्कीबाट पनि सम्भव थिएन । गोर्कीको साहित्यले रसियाको धर्तीमा मात्र होइन विश्वभरिका चेतनशील क्रान्तिकारीहरुको मानसिकतामा क्रान्तिकारी ऊर्जा भर्ने विशिष्ट कार्य ग¥यो । के त्यो आफैमा एउटा क्रान्ति होइन ? समाजमा क्रान्ति घटित हुनुको एउटा महत्वपूर्ण कारक तत्व मानिसहरुको दिमागमा हुने क्रान्ति हो । दिमागमा क्रान्ति ल्याउन नसक्नेले बाहिर क्रान्ति गर्न सक्दैन । तसर्थ एउटा असल साहित्यको महान कार्य भनेकै मानिसको दिमागमा क्रान्ति ल्याउन सक्नु हो । दिमागमा क्रान्ति पैदा गर्न नसक्ने साहित्य असल साहित्यको कोटीमा पर्न सक्दैन ।

हो मानिसको जीवन सधैं एकनासले चल्दैन । सधैं आशै आशा मात्र पनि हुँदैन । न सधैं निरासाको घर मात्र बनेर बाँच्छ मानिस । आशा–निराशा, सफलता–असफलता, आँसु–हाँसो, मिलन–बिछोडजस्ता कुराहरु जीवनका घाम– पानी, बसन्त–शिशिर हुन् । जीवनलाई अनुभूतिहरुले समृद्ध बनाउने अमूल्य खजाना पनि हुन् । यो प्रकृतिदेखि लिएर समाजको नियम भित्रै पर्ने कुरा हो । तिनीहरुलाई कसरी प्रस्तुत गर्ने ? साहित्यमा त्यो झन् महत्वपूर्ण कुरा हो ।

निरासाको क्षणमा लेखकले थप निरासा बाँड्ने या निरासा पनि अस्थायी कुरा हो भनेर त्यसको विरुद्ध संघर्ष गर्न प्रेरित गर्ने ? निरासा, कुंठा, अवसाद, विफलता, पाखण्ड अनि जीवन र समाजका तमाम विद्रुपताहरुको हामीले कलात्मक चित्रण गर्न जरुरी छ तर ती हाम्रा अन्तिम आदर्श होइनन् । हाम्रो अन्तिम आदर्श त फेरि पनि मृत्युमाथिको विजय हो । निरासा र समाजमा विद्यमान हजारौं विद्रुपता र पाखण्डहरुमाथिको विजय हो । सुन्दरताको स्थापना हो । त्यो सुन्दरता मुठ्ठीभरहरुको होइन आँसु र पसिनाले भिजेका बहुसंख्यक मानिसहरुको हितसँग जोडिएको हुनुपर्छ । हाम्रो साहित्य त्यही आदर्शको स्थापनातर्फ गतिशील हुनुपर्छ ।

साहित्य, कला र विज्ञानको सकारात्मक ध्येय भनेको जीवन र जगतलाई थप गहिराईबाट ब्याख्या गर्नु, बुझ्नु र बदल्न प्रेरित गर्नु हो । थप सुन्दर बनाउनु हो । न कि कलावादी सत्ताको आवरणमा कुरुपताको पक्षपोषण गर्नु ।

आजको नयाँ पुस्ता जो साहित्यको प्रगतिशील मूल्यको स्थापनामा विश्वास गर्छ उसले यो कुराको पक्षमा दह्रोसँग उभिन जरुरी छ, जो गुणात्मक रुपमा कमजोर नहोस्, थप मजबुत हुँदै जाओस् हाम्रो प्रयत्न त्यता केन्द्रित हुनुपर्छ ।

तर एउटा बिजोगपूर्ण अवस्था देखिन्छ यतिखेर । एकथरि साहित्यलाई विवेकको सिर्जनाभन्दा कारखानाको कमोडिटी साबित गर्ने ध्याउन्नमा छन् । अर्कोतिर आफूलाई प्रगतिशील भन्न रुचाउनेहरुको एउटा जमात नै कमोडिटीका मालिकहरुलाई खुलेआम साहित्यको आदर्श घोषणा गर्दै गुरुभेटी चढाइरहेका छन् । साहित्यको जीवनोपयोगी राजनीतिमाथि शून्यवादी/कलावादीहरुबाट जति खतरा छ त्यो भन्दा धेरै खतरा छ प्रगतिशील/प्रगतिवादी मुखौटाहरुबाट ।

शून्यवादीहरु भ्रम होइन सिधै शून्यता पस्किन्छन् तर मुखौटाहरु भने भ्रम पस्किन्छन् जुन धेरै घातक हुन्छ । तर त्यो पनि अन्ततः अस्थायी र मरणशील हुन्छ । खुट्टा प्रगतिशील कित्तामा अनि सिंगै टाउको भने शून्यवादी कित्तामा समर्पण गर्नेहरुको साहित्यिक साधनाले कालान्तरमा समाजले के पाउँला ? त्यो हेर्न भने केही समय पर्खनुपर्छ । हिड्ने खुट्टाले हो तर खुट्टालाई हिडाउने त फेरि टाउकाले नै हो । कलावादी शिविरभित्र बन्ध्याकरण भएको टाउकाले कसरी खुट्टाहरुलाई प्रगतिशील दिशातिर डो¥याउन सक्छ ? यो असम्भव कुरा हो । यसको सीधा अर्थ हो, हामी जो आफूलाई प्रगतिशील/प्रगतिवादी भनि टोपल्छौं त्यो त्यसप्रतिको भावनात्मक झुकाव मात्र हो, बाँकी हामीले त्यसतर्फ रुपान्तरण गर्न धेरै बाँकी छ ।

ओठेभक्ति प्रगतिशीलता/प्रगतिवादलाई देखाउनु तर मलजल शून्यवादलाई गर्नुले के देखाउँछ भने आत्मरुपान्तरण र आत्मसंघर्षको हामीकहाँ ठूलो खडेरी परेको छ । एक त समाज रुपान्तरणकारी आन्दोलन रक्षात्मक बन्दै गएको अवस्था छ त्यसको प्रत्यक्ष परोक्ष असर सबैतिर पर्ने नै भयो । त्यसमा पनि प्रगतिशील/प्रगतिवादी खेमाभित्रको वर्तमानको आत्मसंघर्षमा देखिएको अभावले शून्यवादी एवं कलावादी ऐंजेरुको संक्रमणका लक्षणहरु पनि प्रशस्त देखिएका छन् । तसर्थ यस खेमाभित्र सचेत आत्मसंघर्ष र वैचारिक अन्तसंघर्ष चलाउनुपर्ने आवश्यकता धेरै छ । तर पनि अग्रगामी चेतनाले ओतप्रोत साहित्यिक लेखन र पठनको अवस्था त्यति कमजोर नै छ भन्न मिल्ने अवस्था भने छैन ।

कलावादीहरु ‘नीलो चोली’का नयाँ संस्करणहरुको निरन्तरतामा जतिसुकै बजारको रंगीन विज्ञापनमा डङ्का पिट्दै जाऊन् उनीहरुको हविगत पानीको फोका साबित भइरहेछ । अनि साहित्यमा राजनीति र क्रान्तिकारी ऊर्जा नदेख्नेहरुले ‘शिरिषको फूल’को कोटीमा पर्ने साहित्यलाई जतिसुकै उच्चकोटीमा राख्ने प्रयास गरुन्, साहित्य सर्जक अनि पाठकहरुको ठूलो जमात ‘अनिदो पहाडसँगै’ जाग्राम बसिरहेछ । लेखनमा नयाँ ऊर्जा र आवेगसहित नयाँ पुस्ता शोषणका नयाँ रुपहरुको अनावरण गर्न क्रियाशील देखिन्छ । जुन आउँदा दिनहरुको लागि शुभसंकेत हो ।

By

Readers Comments (0)