Filed Under:  विचार | टिप्पणी

पटमूर्खको उपाधि क–कसले पाउने होला ?

6th December 2014   ·   0 Comments

Prabhatmni regmi- प्रभातमणि रेग्मी

कहिलेकाहीं मूर्खको पनि दिन आउँछ रे । तपाइँहरुले जान्नु भएकै होला, सुन्नु भएकै होला कालीदास मूर्ख थिए । मूर्ख भएकै कारण श्रीमती त पाए । हामीले पनि केही पायौं । त्यो के भने राम्रो ग्रन्थ जो सर्वविदितै छ ।

नेपालका माननीय भनाउँदाहरुले संविधान पहिलोपल्ट लेख्न सकेनन् । तर आफ्नो तलब बढाउने काम चैं राम्ररी सम्पन्न गरे । आफ्नो पेट छ करोड अटाउने बनाउन सकेसम्मको बर्कत लगाएर अनेक हर्कत गरेको कुरा, घनीभूत छलफल भन्दै जनतालाई छल गरेको तथा हदैसम्मको लचकता भन्दै हदैसम्मको ठगी गरेको कुरा एक कान दुई कान मैदान हुँदै एक दिन स्वर्गका राजा इन्द्रको कानमा पनि पुगेछ ।

हैन यो नेपाल भन्ने देश कहिले कसले बनाएछ र नेपालीहरु कस्ता रहेछन् भन्ने कौतुुहल इन्द्रलाई जागेछ । हुँदाहुँदा पृथ्वीनारायणको नामसमेत मुछिएछ । स्वर्गमा कृष्णप्रसाद भट्टराई, पुष्पलाल, विश्वेश्वरप्रसाद कोइराला, मनमोहन, पृथ्वीनारायण शाह आदि–आदि रहेको पनि बुझिएछ ।

कुरा बुझ्दा पृथ्वीनारायणले देशभित्र जातपात बनाएको पनि ठहर भएछ । समयले पल्टा खाएछ नेपाली जनताको हाल पृथ्वीनारायणले देशभित्र जातिपातीको व्यवस्था गरेको उल्टो हाल जातपातभित्र देश अटाउनुपर्ने माग गरेको पनि बुझिएछ । निडर पृथ्वीनारायण त डरले इन्द्रको सामु थरथर काँपेछन् । इन्द्रले पृथ्वीलोकबाट बाबुराम भट्टराई, प्रचण्ड, सुशील, केपी वली, माधव नेपाल, शेरबहादुर देउवा आदिलाई डाक्ने आदेश दिएछन् ।

नेपालका नेता पनि के कम ? किन जान्थे अख्तियारले डाकेजस्तै भयो ।

इन्द्रले पनि जुक्ति निकाले । स्मरणरहोस् इन्द्रको जुक्तिलाई छल भन्ने गरिन्छ । यो जुक्तिअनुसार सबै नेतालाई माल्यार्पण गरिने, बिभूषण तथा सम्मानपत्र प्रदान गर्ने, उद्घाटन गर्न लगाउने कार्यक्रम भनेपछि त नेपालका सबै नेताहरु एकैछिनमा त्यहाँ तुरुन्त पुगे ।

बहस गर्मागरम चलिरहेको थियो । इन्द्र एकछिन घोत्लिएको देखिए । पाठकलाई लाग्ला इन्द्रले नेपालका माननीयहरुलाई के पदकबाट बिभूषित गर्लान् भनेर । मूर्ख कालीदासले त कमसेकम ग्रन्थको रचना गरेका हुन् तर नेपालका माननीयले त त्यो भन्दा तल खसेर तलब भत्ता खाएर पनि संविधान लेख्न सकेनन् ।

काम कुरो नमिल्ने गरी विभूषण पनि इन्द्रले पक्कै दिने छैनन् । किनकि यदि त्यसो नभएमा सन्देश अर्कै जाने हुन्छ । पृथ्वीनारायण शाहलाई त देशभित्र जातजाति अटाउन सक्छन् भनेकोमा मूर्ख उपाधि दिने पक्कापक्कीजस्तै भइसकेको थियो । देशभित्र जातिपाति अटाउने कि जातिभित्र देश अटाउने बहस चलिरहेको थियो ।

उता कृष्णप्रसाद भट्टराईले भने बाबुराम भट्टराईसँग कानेखुसी गर्दै थिए, ‘भट्टराई बन्धु तपाइँले भट्टको देश बनाए पनि, राईको देश बनाए पनि मलाई केही फरक पर्दैन । बरु कुरो के भने सुशील दाइ र मलाई मूर्ख उपाधि दिन भने मिल्दैन है । किनकि हामी मूर्ख भएको भए त बिहे भइहाल्थ्यो नि ।’

उता अर्काेतर्फ प्रचण्डकी श्रीमतीले प्रचण्डलाई सम्झाउँदै थिइन्, ‘हेर बूढा हाम्रो कुरा छोड । छोराको बिहे भइसक्यो । छोराको मात्र होइन, छोराबाट जन्मने नाति–नातिना तथा पनातिसम्मको बिहेबारी ख्याल गरेर राज्य र संविधान बनाउनु है नत्र कहिले सासूको पालो त कहिले बुहारीको पालो त यादै होला’ भन्दै थिइन् । म अलि पर बसेकाले हिसिलाले पनि बाबुराम भट्टराईलाई केही भन्दै गरेको देखियो तर कुरा बुझिएन । रामचन्द्र पौडेल मुसुमुसु हाँस्दै थिए ।

यत्तिकैमा कुन–कुन बिभूषण क–कसले पाउने टुङ्गोमा नपुग्दै होटलवाला साहुको बोली सुनियो– ‘फिर्ता पैसा लिनुस् हजुर ।’

कुरो के भने एउटा लेख लेखौं भनेर कापी र कलम लिई एउटा होटलको टेबुलमा बसेर कल्पना गर्न थालेको त पढ्ने बेलादेखिको मेरो पुरानो बानी– कापी र कलम देख्यो भने निद्रा लाग्ने ।

होटलवाला साहुलाई मैले रिसाएर भनें, ‘पैसा भनेर कानैमा कराएर उठाउनु पर्छ त ? अरु केही भनेर उठाएको भए पनि त हुन्थ्यो ।’

होटलवाला साहु डराउँदै ‘हातमा कापी र कलम देखें, संविधान लेख्ने खाननीय खान्दानीजस्तै लाग्यो । के गर्ने यी माननीय पनि पैसा भनेपछि जुरुक्क जुट्छन्, उठ्छन् । त्यसैले अरु भनेर उठाउँदा झन कुम्भकर्णझैं निदाउने पो हो कि बरु पैसा लिनुस् भन्दा हजुर पनि जुरुक्क उठ्नुभयो’ पो भन्छ बा ।

By

Readers Comments (0)