Filed Under:  समीक्षा

सर्बोदयको स्मारिकामा जे देखियो

6th December 2014   ·   0 Comments

Nim Bdr Thapa- नीमबहादुर थापा

अक्षरको घर पुस्तक, पुस्तकको घर पुस्तकालय र पुस्तकालय ज्ञानको भण्डार । सम्पादकीयमा लेखिएका यी शब्दहरु थोरै छन् । तर तिनै थोरै शब्दहरु उनेर तयार गरेको माला स्मारिकाभित्र नियाल्दा सर्बोदय पुस्तकालय तथा वाचनालयको छ दशक लामो इतिहास भेटिन्छ । छ दशकको आरोह अबरोह व्यहोरेको संस्था र आठ–नौ दशकसम्म संघर्षमय जीवनका तरंगहरु संगालेका संस्थापकहरु ।

यही देखें मैले सर्बोदय पुस्तकालय तथा वाचनालयको दैलो उघार्दा । अक्षर–अक्षर टिपेर उनेको यो सुन्दर फूलको माला । जाई, जुही, बेली र चमेली, लालीगुराँस, लालुपाते, बुकी र सयपत्रिको माला । दैलोभित्र पस्ने बित्तिकै किन पहिराइदिएको होला यो घाँटीमा ? न बिसाउन सक्छु, न बोक्न । अझ खुबै डुक्रिन मन लाग्छ मेलो सकेर फर्केको बूढो गोरुजस्तै हुक्काँ–हुक्काँ गर्दै । मन ढक्क फुलेर आउँछ गर्वले । किन नफुलोस् त मन गर्वले, पितापुर्खाले लगाइदिएको बाली स्याहार्न पल्केको म । अन्यथा खोई त मैले भावी पुस्ताका लागि फूलहरु रोपिदिएको ? यस्तै अनुभूति गरें एक नजर पढेपछि ।

वि.सं. २०७१ बैशाखमा राप्ती साहित्य परिषदको वार्षिक उत्सवमा गएर फर्किदा राप्ती समाचार साप्ताहिकको कार्यालयमा पसेको थिएँ– मित्र केबी मसालको घरमा । उहाँले पस्नेबित्तिकै स्मारिका हातमा थमाइदिनुभयो । दोश्रो दिन दिउँसो पढें । बेलुकीपख सम्पादकीय–प्रकाशकीय दोहो¥याएर पढें । हिउँदको महिना । बिहानीको न्यानो घाममा मोतिको दानाजस्तै चम्किएका शीतका थोपाबीच बगंचामा फूल रमाएजस्तै रमायो मेरो मन । मलाई थाहा थियो– मेरो जिज्ञासा अनुत्तरित रहन्छ । तर पढें भनेर जानकारी पनि त हुन्छ नि भन्ने लाग्यो र सम्पादक मण्डलका सदस्य एवं मेरा सहृदयी मित्र शरद देवकोटालाई सोधें– ए हजुर, यो स्मारिकामा संस्थागत थुङ्गाहरु कसले उनेको होला ?

संस्थागत थुङ्गाहरु संस्थाले नै उनेको हो । संस्थामा व्यक्ति अस्थायी हुन्छ र संस्था स्थायी । हामीले त्यसरी बुझ्नु पर्दछ । उहाँको जवाफ सरस थियो । त्यो इन्द्रेणी फूलहरुले उनेको मालामा एउटा थुङ्गा मिसाउन नसक्ने जाबो म, केही महिना चुपै लागेर बसें । एकदिन किताबहरु यता–उता गराउँदा फेरि हात लाग्यो स्मारिका । मन त अघाएकै रहेनछ । दोहो¥याएर मेरा पाठकहरुलाई जानकारी दिन समातें कलम कापी ।

नारायणप्रसाद शर्मा गुरुका स्मरणीय विचारहरुबाट शुरु गरिएको स्मारिकामा दुइ दर्जनजति मूर्धन्य व्यक्तित्वहरुले स्मृतिका पानाहरु कोर्नुभएको छ । उहाँहरुले त आफ्ना स्मृतिका पाना मात्र पल्टाउनु भएको हो तर ती पानाहरु सर्बोदय पुस्तकालय तथा वाचनालयका लागि स्वर्णिम इतिहास बनेका छन् । कुबेरले बाटोमा छरिएका तोरीका गेडा टिपेर बोरा भरेको कथा सम्झना हुन्छ अग्रजहरुका अनुभूतिजन्य सामग्री पढ्दा । पूर्व माननीय एकराज शर्माको सम्झनालाई सर्सर्ति पढ्दा आफू पनि पछि–पछि मसिनातिर फलिया बोक्न जाउँजाउँ जस्तो लाग्यो । तर समय ढिलो भयो कि अझै बाँकी छ ?

झण्डै–झण्डै राणाकाल सम्झाउने समय थियो त्यो –गिरिराज शर्मा । शर्माले पुस्तकालयको स्थापना र विकासमा योगदान दिनेहरुको चर्चा गर्दै विश्वक्सेन गौतमको स्मृतिमा प्राप्त जग्गाबारे खोज गरी संस्थाले उपभोग गर्नुपर्नेमा जोड दिनुभएको छ ।

रकमभन्दा पनि भावना ठूलो हुँदोरहेछ । विगतमा आफूले पनि मेहनत गरेर पुस्तकालयलाई सहयोग गरेको र चोरी भएको घटनाले मन दुखेको थियो । पूर्व सभासद रश्मीराज नेपालीले किटानी जाहेरी दिंदा पनि पञ्चायती सरकारले चोरलाई कार्वाही गरेन भन्नुभएको छ । नित्यानन्द शर्माले पुस्तकालयसम्बन्धी विश्व इतिहासको सार प्रस्तुत गर्नुभएको छ । बासुदेव गौतमले मीठो अनुभूति स्मरण गर्नुभएको छ ।

अहिले सबैको सहयोगले यस पुस्तकालयलाई अघि बढाउनुपर्ने बेला अतीतको घाउ कोट्याउनु उचित सायद हुँदैन । तर भोग्नेले जति बिर्सिन चाहे पनि अतीततर्फ पुग्दा फेरि घाउ चस्किदो रहेछ । पीडाको एकछेउ पस्किनुभएको छ, दुई वर्ष पुस्तकालय सञ्चालकसमेत रहनुभएका सुशील गौतमले ।

सम्पादक मण्डलका सदस्य शरद देवकोटाले सर्बोदय पुस्तकालयबारे गजराज शर्मासँग भन्ने शीर्षकमा मीठो अनुभूति पस्कनु भएको छ । सर्बोदय पुस्तकालयको छ दशक लामो कालखण्डमा पाँच वर्ष सञ्चालक रहेर योगदान दिनुहुने व्यक्ति ऋषिराज जंगलीको अनुभूति प्रेरणदायी रहेको छ । यसैगरी विगतमा सर्बोदयमा सहयोगका लागि बढेका हातहरुको विजय भएको छ भन्ने पद्मप्रसाद शर्माको भनाइ र सर्बाेदय गान्धीवादी विचार दर्शन हो भन्ने यज्ञबहादुर बुढाथोकीको भनाइ मननीय छ ।

सुशील गौतम (हापुर) को गजल–
तपस्या सदाचारका चल्नुपर्छ,
समस्या दुराचारका गल्नुपर्छ ।

यो पुस्तकालय सञ्चालनमा पछिल्लो समयमा सक्रिय भूमिका खेल्दै आउनुभएका दामोदर अधिकारीले समकालीन अनुभवहरु राख्नुभएको छ । शम्भु गौतमको नजरमा हाल यो संस्थाको भौतिक सम्पत्ति एक करोड र पुस्तकहरु दश लाख बराबरका रहेको, संस्था जन्मदा राजनीतिक संक्रमण र पछि निरंकुश पञ्चायती व्यवस्थाका कारण धेरै अप्ठ्यारो भोग्नुपरेको अनुभव छ ।

पुस्तकालय सञ्चालकसमेत रहनु भएका भेषराज पौड्यालले संस्थालाई बचाउन चाहने र भत्काउन चाहने दुबै पक्ष यहीं हाम्रै समाजमा भएको देख्नुहुन्छ । लेख्नुहुन्छ, देव र दानव अन्यत्र कहीं छैनन्, यही छन् ।

पत्रकार महासंघ दाङको अध्यक्षसमेत रहेर सर्बोदयलाई नियालिरहनुभएका केबी मसालको गुनासो फरक खालको छ । २०५१ मा दाङमा बहुमुखी प्रतिभा क्लबले १७ लाखको पुस्तकालय परियोजना सञ्चालन ग¥यो । १५ वटा माविलाई मूल्यवान् पुस्तकहरु वितरण पनि ग¥यो । इतिहास बोकेको यो पुस्तकालयमा त्यति ध्यान पुगेको छैन । पश्चिम नेपालमै सम्भवतः अहिले शिक्षा, साहित्य, कला, संस्कृति र सञ्चारको विकासमा दाङ जिल्ला अग्रपंक्तिमै पर्दछ । यी शुरुवातीको जग नै सर्बोदय पुस्तकालय हो भन्ने भनाइ छ नागरिक समाज दाङका सचिव चन्द्रराज पन्तको ।

सचिवको प्रतिवेदनमा २०५४ साल पछिमात्र औपचारिक सञ्चालक समिति रहेको अभिलेख प्रस्तुत गरे पनि २०४६ पौष २४ गते गठित आफू कोषाध्यक्ष रहेको सञ्चालक समितिको गठन प्रस्तुत गर्नुभएको छ लीलाधर शर्माले ।

स्मारिकामा सर्बोदय पुस्तकालयको स्वर्ण महोत्सवको अवसरमा आयोजना गरिएको ‘सभ्यताको विकासमा पुस्तकालयको भूमिका’ विषयमा पुरस्कृत लेखकहरु संस्कृति शर्मा, भागीराम चौधरी, सोनी पौडेल, बिष्णुप्रसाद बस्नेत र सिर्जना देवकोटाका निबन्धहरु पढ्दा भावी कर्णधारहरुको प्रतिभा देखिन्छ । त्यस्तै ‘पुस्तक हाम्रो साथी’ शीर्षकमा पुरस्कृत कविहरु सिर्जना पोख्रेल, निरज थापा, अस्मिता कुवँर, श्रद्धा ज्ञवाली र संगीता भट्टराई विद्यार्थी भाइ–बहिनीहरु आशालाग्दा प्रतिभा देखिन्छन् ।

पछिल्लो समय पुस्तकालय सञ्चालनमा गौतम नगर टोल विकास संस्थाको महत्वपूर्ण भूमिका रहेको राजीव गौतम र नारायण भुसालको उपस्थितिले स्पष्ट गर्दछ । सचिवको कलममा सुदीप गौतमले प्रस्तुत गरेको दस्तावेज असाध्यै व्यवस्थित र सटिक छ । अध्यक्ष पुरुषोत्तम खनालको मन्तव्य सर्बोदय पुस्तकालय तथा वाचनालयको संक्षिप्त रुपमा एउटा इतिहास नै तयार भएको छ ।

स्मारिकामा अमरबहादुर डांगी, दिनेश न्यौपाने लगायतका अग्रजहरुले बडो मार्मिक र चित्ताकर्षक अनुभूतिहरु पस्किनुभएको छ । एक सय ४६ औं मोती जयन्तीको अवसरमा खिचिएको फोटो मुखपृष्ठमा दाङका मूर्धन्य साहित्यिक व्यक्तित्वहरुको जमघट रहरलाग्दो छ । यो पहिलो प्रयास हो । यसैलाई जग बनाएर आगामी दिनमा सिंढी थप्दै जाने कुरामा संस्थाका सञ्चालक, शुभचिन्तक, शुभेच्छुक र हामी पाठकहरु सबै सहमत भएका छौं, शुभकामना ।

By

Readers Comments (0)