Filed Under:  मनोरञ्जन

उम्दा चलचित्रकर्मी मुनाल | के एल पीडित

6th December 2014   ·   0 Comments

munalGhimireएकताका मुनाल घिमिरेको फिल्मको हिरो बन्ने एकसोरे सपना थियो । त्यो बेला हिरो बन्ने कुरा भने चानचुने थिएन । त्यसमा पनि उनी एक्लै थिए । उनका कोही गडफादर पनि थिएनन् । यस्तो परिस्थितिमा हिरो बन्ने सपना एक भयानक सपना थियो । तर उनी औसत मान्छेभन्दा बिल्कूल फरक थिए । उनीसँग सर्वाधिक आँट र इच्छाशक्ति थियो । त्यही चीजले आज उनलाई चलचित्र क्षेत्रको शिखरसम्म पु¥यायो ।

पहिलोचोटि उनले २०४९ सालमा दाङमा चलचित्र खण्डहरको निर्माण गरे र आफू हिरो भए । यहींबाट उनी औपचारिकरुपमा चलचित्र क्षेत्रमा प्रवेश गरे । यो चलचित्र राप्ती क्षेत्रमा निर्माण भएको पहिलो चलचित्र बन्यो । यसपछि हिरो बन्ने उनको आकांक्षा र सपना बढ्दै गयो र २०४७ सालमा उनी काठमाडौं छिरे । शुरुमा उनले अभिनय र नृत्यको प्रशिक्षण लिए । अनवरत संघर्ष र अठोटका कारण उनी सानो पर्दामा हिरो बनिछाडे । टेलिचलचित्र अचानक, यातना, सिन्दूर, अपराजिता, पर्खालमा उनी हिरो भएर खेले र अत्यधिक रुचाइए पनि ।

मुनाल घिमिरे नेपालका एक उम्दा फिल्मकर्मी हुन् । नेपाली कला क्षेत्रमा उनको परिचय र योगदान निकै फराकिलो र अग्लो छ । उनले नेपाली चलचित्र क्षेत्रमा दुुई दशकभन्दा बढी गहन साधना गरेका छन् र चलिचित्र क्षेत्रको उन्नयनका लागि आफ्नो सिंगो बैंस खर्चेका छन् ।

उनी चलचित्र क्षेत्रमा सबै किसिमको अनुभव र ज्ञानले समृद्ध छन् । एक अभिनेता, एक निर्माता, एक निर्देशक उनको व्यक्तित्व यसरी फैलिएको छ, अग्लिएको छ । पछिल्लो समय उनी दाङमा बसेर काठमाडौंसँग प्रतिष्पर्धा गरिरहेका छन् र आफूलाई हरेकपल्ट श्रेष्ठ साबित गरेका छन् ।

दाङमै रहेर २०६८ सालमा उनले बनाएको चलचित्र आफ्नो मान्छे आफ्नै हुन्छ त्यो वर्षको सर्वाधिक सफल चलिचत्र बन्यो र सर्वोत्कृष्ट चलचित्रको अवार्ड पनि जित्यो । उनी चलचित्र क्षेत्रमा एक उम्दा फिल्मकर्मीमा दरिए । यो कम इष्र्यालाग्दो उपलब्धि होइन । यो उपलब्धि उनीभित्र भएको फलामे हौसला र इच्छाशक्तिका कारण प्राप्त भएको हो ।

स्व.श्रीकृष्ण श्रेष्ठ र श्वेता खड्कालाई लिएर उनले २०६८ मा श्रीमान् श्रीमती बनाए । यो चललित्र पनि अत्यधिक रुचाइयो । यसले उनलाई सार्थक चलचित्र निर्माण गर्नेहरुको अग्रपंक्तिमा राखिदियो ।

अनेक प्रतिकूलता र चुनौतीसँग जुध्दै उनले मोफसलबाटै चलचित्र निर्माणको यात्रा अनवरत अगाडि बढाइरहे । उनको पछिल्लो चलचित्र इच्छा आगामी माघ २ गतेदेखि देशव्यापी प्रदर्शन हुँदैछ । यस चलचित्रले उनको हौसला र उत्साह अझ बढाइदिएको छ ।

दुई पुस्ताबीच रहेको सोंच, चिन्तन र कार्यशैलीको अन्तरले सिर्जित द्वन्द्वलाई विषयवस्तु बनाइएको यो चलचित्र दर्शकहरुले निकै रुचाउने उनको विश्वास छ । ‘इच्छा निकै राम्रो बनेको छ । यो पूर्णरुपमा सन्देशमूलक एवं मनोरञ्जनात्मक चलचित्र हो, चलचित्रकर्मी घिमिरेले भने, ‘दर्शकहरुले यो चलचित्र मन पराउनु हुनेछ ।’

चलचित्रकर्मी घिमिरेका जीवनमा केही यस्ता ठक्कर र नकारात्मक घटनाहरु पनि छन् जसले उनलाई नयाँ तरिकाले अघि बढ्ने प्रेरणा दिएका छन् । टेलिचलचित्र शहरमा उनलाई राम्रो भूमिका दिने भनी झुक्याइयो र अत्यन्त नराम्रोसँग फसाइयो । यसबाट उनी निकै मर्माहत र प्रताडित भए ।

त्यसपश्चात् उनले महत्वहीन भूमिकामा देखिनुभन्दा आफैले टेलिचलचित्र बनाउने संकल्प गरे र बनाए– अचानक, यातना, अपराजिता र पर्खाल ।

ठूलो पर्दाको चलचित्र मिलनमा पनि उनीमाथि ठूलै धोकाधडी भयो । यहाँ पनि उनलाई झुक्याइयो, खिस्याइयो । उनी पुनः मर्माहत र प्रताडित भए र आफैले ठूलो पर्दाका चलचित्र बनाउने संकल्प गरे । आज आफूलाई घात गर्ने र खिस्याउनेहरुका अगाडि उनले सार्थक चलचित्र निर्माण गरेर सगर्व उभिएका छन् र दर्शकहरु उनलाई हार्दिकतापूर्वक अभिनन्दन गरिरहेका छन् । आज आफ्नो सीप र कर्मले उनले जवाफ दिएका छन् र देशलाई गौरवान्वित बनाएका छन् ।

बुबा गुरुप्रसाद शर्मा र आमा गंगादेवी शर्माको कोखबाट वि.सं. २०२९ बैसाख १७ गते दाङको गोग्लीमा जन्मेका घिमिरे चलचित्र क्षेत्रका राष्ट्रिय व्यक्तित्वको रुपमा स्थापित छन् । चलचित्र निर्माण एक सिर्जनात्मक औ अत्यन्त चुनौतीपूर्ण कार्य भए पनि उनी यसलाई सहजरुपमा स्वीकार गर्छन् र यसैमा आनन्दित हुन्छन्, गौरवान्वित हुन्छन् ।

‘चलचित्र क्षेत्रबाट मैले नाम पाएँ, आफूलाई पुग्दो दाम पाएँ, सन्तुष्ट छु ।’ चलचित्रकर्मी घिमिरेले आफ्नो समग्र भोगाइ व्यक्त गरे, ‘केही आरोह अवरोह झेले पनि समग्रमा सकारात्मक एवं उत्साहजनक अनुभव छ मेरो ।’

मोफसलमै बसेर पनि चलचित्र निर्माणमा उनको यो अनवरत यात्रा सम्पूर्ण सिर्जनकर्मीहरुका लागि अनुकरणीय छ, प्रेरणादायी छ ।

By

Readers Comments (0)