Filed Under:  पर्यटकीय गन्तव्य

स्वर्गद्वारीमा पन्ध्र लाख पर्यटक भित्र्याइने

6th December 2014   ·   0 Comments

photo sworgadwari (1)- धनिराम शर्मा

सार्वजनिक निजी साझेदारी मोडेलमा सञ्चालन हुने स्वर्गद्वारी केबुलकार परियोजना १८ महिनाभित्र पूरा गरिने भएको छ । लामो समयदेखि अन्योलमा रहेको परियोजना अन्ततः कार्यान्वयनमा जाने भएको हो ।

माडी क्षेत्रको विकास तथा समग्र राप्तीको पर्यटन विकासको आधार मानिने स्वर्गद्वारीको धार्मिक पर्यटनलाई प्रवद्र्धन गर्न सरकारले उक्त परियोजना अगाडि बढाएको हो । परियोजना कार्यान्वयनमा गए १५ लाख पर्यटकले स्वर्गद्वारीको अवलोकन तथा भ्रमण गर्ने सरकारले अपेक्षा गरेको छ ।

प्यूठानको भिंग्री–३ जलुकेदेखि स्वर्गद्वारीको रुमाले भन्ने स्थानसम्म केबुलकार तानिने भएको छ । एक अर्ब लगानीको केबुलकार साढे तीन किलोमिटर लम्बाइको हुनेछ । एक अर्ब रुपैयाँ लागतको आयोजनालाई स्वर्गद्वारीमा जग्गाको मुआब्जा पचास करोड लाग्ने अनुमान छ ।

पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयअन्तर्गतको पर्यटन पूर्वाधार परियोजनाले मध्यपश्चिमको स्वर्गद्वारी र पूर्वाञ्चलको पाथिभराको विस्तृत अध्ययन सकेको छ । योजना महाशाखाका अधिकृत डोरेन्द्र निरौलाले डेढ वर्षमा आयोजना सञ्चालनमा लैजाने गरी प्रक्रिया अगाडि बढेको बताए । केही दिनभित्रै निजी क्षेत्रसँग प्रस्ताव आह्वान गरी आयोजना कार्यान्वयनमा जाने निरौलाको भनाई छ ।

सरकारले स्वर्गद्वारी केबुलकार परियोजना अगाडि बढाउने सार्वजनिक भएपछि स्थानीयबासीले खुशी व्यक्त गरेका छन् । द्वन्द्वकालदेखि नै आयोजना सञ्चालन गर्ने हल्ला भए पनि लामो समयपछि बल्ल कार्यान्वयन हुने प्रसंग बाहिर आएपछि माडीबासी खुशी भएको माडी क्षेत्रका अगुवा बीरबहादुर पुनले बताए ।

यद्यपि सरकारले आयोजना सञ्चालन गर्ने भनेको धेरै पटक भएकोमा यसपटक जसरी पनि कार्यान्वयनमा लैजान उनले आग्रह गरे । पटक–पटक केबुलकार बन्ने हल्ला हुने तर व्यवहारमा नहुने परिपाटीले यसपटक पनि हल्ला मात्र हुने त होइन भन्ने माडीबासीको आशंका रहेको उनी बताउँछन् । परियोजनाले पछाडि परेको माडी क्षेत्रको आर्थिक सामाजिक परिवर्तन गर्न कोशेढुंगा सावित हुने अपेक्षा गरे ।

वर्षमा आन्तरिक तथा बाह्य पर्यटक गरी अढाई लाखले स्वर्गद्वारी प्रभु महाराजको दर्शन गर्ने गरेको अनुमानित तथ्यांक छ । भालुबाङदेखि भिंग्री हुँदै स्वर्गद्वारी र दाङको घोराहीदेखि रोल्पाको होलेरी हुँदै स्वर्गद्वारीमा आन्तरिक तथा बाह्य पर्यटक पुग्ने गरेका छन् । विशेष गरी भारतीय मध्यम तथा उच्च वर्गका पर्यटक प्यूठानको भिंग्री हुँदै स्वर्गद्वारी पुग्ने गरेको पाइन्छ ।

स्वर्गद्वारी पुग्ने पर्यटकका लागि आश्रमभित्र धर्मशाला बनाइएको छ । धरमपानीदेखि प्रभु महाराजको दर्शन गर्ने स्थानसम्म पुग्न आधुनिक सिढी बनाइएको छ । जिल्ला विकास समिति प्यूठान, स्वर्गद्वारी आश्रम र केन्द्रीय बजेटबाट सडक सिढी र भ्यूूटावर बनाउने प्रक्रिया अगाडि बढेको हो ।

प्रस्तावित भिंग्री–३ जलुकेमा पर्यटकका लागि अत्याधुनिक होटेलहरु सञ्चालनमा रहेका छन् । होटेल स्वर्गद्वारी दर्शन प्रालिकी प्रबन्धक यमी पुनमगरले स्वदेशी तथा विदेशी पर्यटकहरु प्यूठान भिंग्रीको बाटो भएर स्वर्गद्वारी पुग्ने गरेको बताइन् । भारतीय मध्यम तथा उच्च वर्ग र चाइनिज पर्यटक जलुके पुग्ने गरेको उनले बताइन् ।

विदेशी पर्यटकहरुमा सबैभन्दा लामो समय अध्ययन र अवलोकनका लागि चाइनिज पर्यटकको बसाइ लामो हुने गरेको पुन बताउँछिन् । उनी भन्छिन्, ‘चाइनिज पर्यटकहरु त एक महिनासम्म बस्ने गर्दछन् ।’

उनका अनुसार पर्यटकहरु स्वर्गद्वारीको अवलोकनसँगै माडी नदीमा माछा मार्ने, स्थानीय संस्कृतिहरुको अवलोकन समेत गर्दछन् । आन्तरिक पर्यटकहरु पूर्वका उदयपुर, ओखलढुंगा, झापा, काठमाण्डौंदेखि पश्चिमका कैलाली, कञ्चनपुर, महेन्द्रनगरदेखि आउने गरेको पुनले बताइन् । भिंग्री जलुकेमा आधुनिक सुविधा सम्पन्न होटेलहरु सञ्चालनमा भएकोले पर्यटकहरु एकपटक मात्र होइन दोहोरिने गरेको उनको कथन छ ।

हाल भिंग्रीदेखि १३ किलोमिटर कच्ची सडक पार गरी स्वर्गद्वारी पुग्न सकिन्छ भने रोल्पाको होलेरीदेखि २५ किलोमिटरको सडक दुरी पार गरे स्वर्गद्वारी पुग्न सकिन्छ । यद्यपि सडक स्तरोन्नतिका लागि सरकारले प्रक्रिया अगाडि बढाएको छ ।

समुन्द्री सतहदेखि दुई हजार नौ सय मिटर उचाइमा रहेको स्वर्गद्वारी धार्मिक हिसाबले मात्र महत्वको छैन, प्रभुको दर्शन गर्ने दर्शनार्थीले स्वर्गद्वारीबाट पूर्वमा धौलागिरी, माछापुच्छ«े, निलगिरी र पश्चिममा सिस्ने हिमाल र जलजला पहाडको समेत अवलोकन गर्ने अवसर पाउँछन् । त्यस्तै, उत्तरतर्फ स्वर्गद्वारीको आधार क्षेत्र माडी क्षेत्रको अनुपम बस्ती र निलो माण्डवी नदीको बहाव पनि अर्काे आकर्षण हो ।

पर्यटकहरुका लक्षित गरी माण्डवी नदीको किनार भिंग्रीको आसपासमा अत्याधुनिक होटेल तथा रेष्टुरेन्टहरु सञ्चालन मात्र होइन, ग्रामीण पर्यटनलाई प्रवद्र्धन गर्न स्वर्गद्वारीको धनबाङमा होमस्टे सञ्चालन गरिएको छ । दश घरमा होमस्टे सञ्चालन भएको धनबाङमा पर्यटकहरुले बस्न शुरु गरिसकेका छन् । उसो त पछिल्लो समयमा पर्यटकहरु बढ्न थालेको स्थानीय व्यवसायीहरु बताउँछन् ।

स्वर्गद्वारी आधार शिविर भिंग्री जलुकेका व्यवसायी टिकाराम भण्डारी भन्छन्, ‘अहिले भारतीय चाइनिज मात्र होइन अमेरिका, क्यानडाका पर्यटकहरु पनि स्वर्गद्वारीका लागि जलुकेमा बास बस्ने गरेका छन् । सुविधा सम्पन्न होटेल रेष्टुरेन्ट भएकोले उनीहरु एकपटक मात्र होइन दोहोरिने गरेका छन् । गाउँको संस्कृति अवलोकन गर्ने अनि बेलुका होटेल फर्कने, कहिले माडीमा माछा मार्ने गर्दछन् ।’ बस्नको लागि उचित सेवा सुविधा भएकोले उनीहरु बस्न निकै रुचाउने गरेको व्यवसायी भण्डारीको कथन छ ।

उता स्वर्गद्वारीको भ्रमण गर्न पुगेका ललितपुरका हेमरत्न ताम्राकार स्वर्गद्वारी निकै सुन्दर र मनमोहक अनि धार्मिक आस्थाको केन्द्र रहेको बताउँछन् । भिंग्री जलुकेमा आरामदायी बसोबासको व्यवस्था अनि बिहान माडी नदीमा स्नान गरी प्रभुको दर्शन गर्न पाँउदा निकै खुशी लागेको ताम्राकारको कथन छ ।

‘व्यवसायीहरुको मिठो व्यवहार, धार्मिक साथै प्राकृतिक आनन्द दिने स्वर्गद्वारी वास्तवमै स्वर्गजस्तै लाग्यो’, उनले भने, ‘सरकारले केबुलकार सञ्चालन गरेमा पर्यटकहरु धेरै बढ्ने सम्भावना देखें ।’ केबुलकार सञ्चालनसँगै पर्यटनका अन्य पूर्वाधारलाई पनि बिस्तार गर्न ताम्राकारले सुझाव दिए ।

By

Readers Comments (0)