Filed Under:  विचार | टिप्पणी

रुकुममा राप्ती साहित्य परिषद्

29th November 2014   ·   0 Comments

Kamalmani Devkota- कमलमणि देवकोटा

राप्ती अञ्चल विविध साहित्यिक गतिविधिले भरिपूर्ण अञ्चल हो । जहाँ विभिन्न साहित्यिक एवं साँस्कृतिक संघ÷संस्थाहरूद्वारा वार्षिक, द्वैमासिक, मासिक आदि औपचारिक एवं अनौपचारिक गतिविधिहरू भई नै रहेका छन् । जसले साहित्य, संगीत, कला र इतिहासमा कलम चलाउने स्रष्टाहरूका लागि हौसला थप्नुका साथै यस क्षेत्रको साहित्यिक उन्नयनका निम्ति निकै नै उपयोगी अर्थात् प्रभावकारीसिद्घ भएका छन् । यसैको एक सशक्त उदाहरणमध्येको क्रियाशील साहित्यिक संस्था हो राप्ती साहित्य परिषद् । राप्ती अञ्चलको सबैभन्दा जेठो र क्रियाशील साहित्यिक संस्था राप्ती साहित्य परिषद्का पाँच जिल्लामा रहेका पाँचवटै जिल्ला शाखाहरूले आ–आफ्ना साहित्यिक गतिविधिहरूलाई अगाडि बढाइरहेका छन् ।

वर्तमान समयमा यिनै गतिविधिमा संलग्न रहेको छ राप्ती साहित्य परिषद् जिल्ला शाखा रुकुम । जसका निम्नानुसारका केही उदाहरणीय गतिविधिहरूबाट धेरै कुराहरू नियाल्न सकिन्छ ।

मासिक श्रृङ्खला ‘रुकुम साहित्यमाला’

आफ्ना सिर्जनशील रचनात्मक कार्यहरूलाई निरन्तरता दिने सन्दर्भमा राप्ती साहित्य परिषद् जिल्ला शाखा रुकुमले २०७१ आषाढदेखि एउटा मासिक साहित्यिक कार्यक्रमको थालनी गरेको छ । ‘रुकुम साहित्य माला’ नाम दिएर हरेक महिनाको पहिलो शनिबारका दिन गर्ने गरी सञ्चालनमा आएको मासिक श्रृङ्खलाबद्घ कार्यक्रमहरूलाई नियाल्दा हालसम्म निकै उत्साहबद्र्धक तवरले सञ्चालन हुँदै आइरहेका छन् । अग्रज एवं नवस्रष्टाहरू एउटै थलोमा बसी आ–आफ्ना साहित्यिक भावनाहरू साटासाट गर्ने एवं यस क्षेत्रको साहित्यिक उन्नयनमा जोड दिने उद्देश्यले शाखाले आफ्नै आयोजनामा यस्तो गतिविधि सञ्चालनमा ल्याएको हो । यस श्रृङ्खलाबद्घ कार्यक्रमलाई सुव्यवस्थित गर्नका लागि हरेक कार्यक्रममा एक÷एक जना व्यवस्थापक एवं स्थान समेत तोकी सञ्चालन गरिंदै आएका यी श्रृङ्खलाहरू हालसम्म छ वटा पुगिसकेका छन् ।

जसअनुसार पहिलो श्रृङ्खला यसै वर्ष २०७१ आषाढ ७ गते रुकुमका स्थानीय विकास अधिकारी भरतकुमार शर्माको व्यवस्थापनमा उहाँकै निबास मुसिकोट–३ सेरिगाउँमा सम्पन्न भएको थियो । यसैगरी दोश्रो श्रृङ्खला २०७१ श्रावण ३ गते रुकुमका तत्कालीन कोष तथा लेखा नियन्त्रक पूर्ण वलीको व्यवस्थापनमा उहाँकै गाउँ सोलाबाङमा, तेश्रो श्रृङ्खला २०७१ भाद्र ७ गते तीज पर्व बिशेषका रुपमा परिषद्को आफ्नै व्यवस्थापनमा स्थानीय कालिका मन्दिरको परिसर खलंगामा, चौथो श्रृङ्खला २०७१ आश्विन ४ गते त्रिभुवन जनता उच्च मावि खलंगाका प्राचार्य मिनबहादुर पुनको व्यवस्थापनमा उक्त विद्यालयमा, पाँचौं श्रृङ्खला २०७१ कार्तिक १ गते नागरिक समाज रुकुमका अगुवा डा. नवराज गौतमको व्यवस्थापनमा उहाँकै निवास खलंगा–१ मा र छैठौं श्रृङ्खला २०७१ मंसिर ६ गते शिक्षक प्रमोदकुमार शर्माको व्यवस्थापनमा उहाँकै निवास खलंगा–१ मा निकै उत्साहपूर्वक सम्पन्न भैसकेका छन् भने सातौं श्रृङ्खला परिषद्का सल्लाहकार नदीराम केसीको व्यवस्थापनमा सिद्घार्थ जनता उच्च मावि मग्मामा हुने निर्णय परिषद्ले गरेको छ ।

यसरी विभिन्न स्थानमा हुँदै आएका यस किसिमका गतिविधिले गर्दा ओझेलमा परेका स्रष्टाहरूलाई पनि अवसर मिल्नेछ । साथै बिना भेदभाव सबै स्रष्टाहरू एकैसाथ रम्ने र साहित्य सिर्जनामा सबैलाई हौसला बढ्न जाने कुरामा दुइमत छैन ।

वार्षिक साहित्यिक पत्रिका ‘दियालो’

राप्ती साहित्य परिषद् जिल्ला शाखा रुकुमद्वारा हालै मात्र पहिलोपटक प्रकाशित वार्षिक साहित्यिक पत्रिका ‘दियालो’ वर्ष १ अङ्क १ सार्वजनिक भएको छ । परिषद्को नियमित मासिक साहित्यिक कार्यक्रम ‘रुकुम साहित्य माला’को छैठौं श्रृङ्खलाको अवसरमा यही २०७१ मंसिर ६ गते रुकुम खलंगामा यस पुस्तकको सार्वजनिक गरिएको थियो । कार्यक्रमका प्रमुख अतिथि रुकुम जिल्लाका प्रमुख जिल्ला अधिकारी एवं साहित्यसर्जक हरिप्रसाद भण्डारीद्वारा बिमोचित उक्त पुस्तकको समीक्षा गर्ने जिम्मा राप्ती साहित्य परिषद्का केन्द्रीय उपाध्यक्ष साहित्यकार कमलमणि देवकोटा र नागरिक समाज रुकुमका अगुवा एवं साहित्यकार डा.नवराज गौतमलाई दिइएको थियो ।

रुकुम जिल्लाका धार्मिक, पर्यटकीय एवं ऐतिहासिक महत्वका स्थानहरूको आवरण चित्रहरूले आकर्षित एवं जम्मा ८० पृष्ठमा बिभाजित यस पुस्तकमा ४१ जना प्रतिनिधिमूलक लेखकका विविध विधाका रचनाहरू प्रकाशित छन् । जसमा नदीराम केसीद्वारा लिखित ‘रुकुमको साहित्यिक इतिहास एवं गतिविधि’ समेटिएको एउटा सङ्क्षिप्त इतिहास, हरिप्रसाद खनाल र टीकाराम उदासीद्वारा गरिएका दुइवटा पुस्तकहरूको समीक्षा, तेजेन्द्र बुढा मगरद्वारा लिखित ‘जर्मिकाव मगराई रितथिति’ र आशा बुढाद्वारा लिखित ‘ए मगर्नी नाना’ जस्ता मगर भाषा एवं संस्कृतिसम्बन्धी दुइवटा लेखहरूका साथै गिरिप्रसाद बुढा, हरिप्रसाद भण्डारी र बालकृष्ण भण्डारीद्वारा रचिएका चार वटा कथा एवं लघुकथाहरू प्रकाशित छन् ।

यसैगरी उक्त पुस्तकमा ईश्वरीप्रसाद गौतम, मिनबहादुर पुन र अज्ञातसहितका तीन वटा अंग्रेजी रचनाहरू प्रकाशित छन् भने गोविन्द पुन, मुकुन्द शर्मा, मनलाल वली, शशिधर भण्डारी, दिनेश खड्का र रामप्रकाश पुरीका छ वटा विविध विषयका रचनाहरू समेटिएका छन् । यस्तै प्रकारले डिल डियर पुन, सुजाता खड्का, पूर्ण वली, रामकुमार रोका मगर, निशा पुनमगर, जयबहादुर श्रेष्ठ, भूपेन्द्र बी.एम., भिमबहादुर खड्का, मुस्कान पुनमगर, पी.के. क्षितिज, अनिता वली, हिमाली वली, शिवकुमार शाही, कमानसिंह बिष्ट, ओपेन्द्र बिष्ट, मिलन के.सी., भरतकुमार शर्मा, नरेन्द्रकुमार राना, सुदिक्षा ओली, बिनाराम खड्का, तुलबहादुर देवकोटा, सदिक्षा वली, डिला पुन, सिर्जना शर्माका गरी जम्मा २४ वटा बिभिन्न कविता, गीत, गजल, मुक्तकहरूले समेत यस पुस्तकको गरिमा बढाएको कुरा समाविष्ट रचनाहरूद्वारा नै प्रमाणित हुन्छ ।

यसरी यसमा समावेश भएका अग्रज साहित्य सर्जक एवं नवीन स्रष्टाहरूका विभिन्न लेख रचनाहरू सङ्गृहित यस सङ्ग्रहमा इतिहास, भाषा–संस्कृति, समालोचना, कथा, कविता, गीत, गजल, मुक्तकजस्ता विविध रचनाहरूले स्थानीय साहित्यिक एवं सांस्कृतिक भावलाई उजागर गरेका छन् । यत्तिमात्रै होइन कि यी रचनाहरूले रुकुम जिल्लाको ऐतिहासिक, धार्मिक, पर्यटकीय, भौगोलिक एवं विविध सांस्कृतिक पहिचानलाई समेत झल्काएका छन् । सरसर्ती रुपमा यसलाई नियाल्दा सायद पहिलो प्रयास भएका कारणले पनि होला शुद्घाशुद्घीजस्ता सामान्य मुद्रण त्रुटिहरू देखिए तापनि समग्रमा भन्नुपर्दा राप्ती साहित्य परिषद् जिल्ला शाखा रुकुमले गरेको यो साहसिक कदम प्रशंसनीय छ, स्तुत्य छ र यस क्षेत्रकै साहित्यिक उन्नयनका निम्ति प्रेरणादायी बन्नुका साथै नयाँ आयाम थपिएको छ भन्नुमा कुनै अतियुक्ति नहोला ।

अतः यस सकारात्मक कार्यको सह्राना गर्दै र यसैगरी यसको अझ परिमार्जिक एवं परिष्कृत रुपमा निरन्तर प्रकाशनको कामना समेत गर्दै यसलाई प्रकाशनमा ल्याउन प्रयत्नशील साहित्यसर्जक स्वयं संस्थाका अध्यक्ष गिरिप्रसाद बुढालगायत प्रकाशन मण्डलका सबै सदस्यहरूलाई खुलेरै प्रशंसा गर्नुपर्ने हुन्छ  ।

साप्ताहिक रेडियो कार्यक्रम ‘साहित्यमाला’को प्रारम्भ

यही २०७१ कार्तिकको अन्तिम सातादेखि रुकुमको सदरमुकाम खलंगास्थित स्थानीय एफ.एम. रेडियोबाट साप्ताहिक साहित्यिक कार्यक्रम ‘साहित्य माला’को प्रसारण प्रारम्भ भएको छ । रेडियो सानीभेरी एफ.एम. १००.८ र ८९.२ मेगाहर्जसँगको सहकार्य एवं राप्ती साहित्य परिषद् जिल्ला शाखा रुकुमको आफ्नै प्रस्तुतिमा हरेक साताको शुक्रबार राती बी.बी.सी. नेपाली सेवापछि आधा घण्टा अर्थात् सवा नौ बजेदेखि पौने दश बजेसम्म र सो को पुनः प्रसारण शनिबार बिहान सवा दश बजेदेखि पौने एघार बजेसम्म सञ्चालन गरिदै आएको छ ।

यस क्षेत्रका साहित्य, संगीत, कला र संस्कृतिको चिनारी एवं उन्नयनका निम्ति यी विषयका विविध गतिविधिहरूलाई समेटेर यसरी स्थानीय रेडियोबाट प्रसारण गर्न अति नै आश्यक भएको कुरालाई हृदयंगम गरी यो महत्वपूर्ण कार्यारम्भ गर्नु परेको कुरा परिषद्ले बताएको छ । साथै साहित्यानुरागीहरूका रचनात्मक सिर्जनाहरू उजागर गर्नुका साथै स्रष्टाका विचार प्रवाह गराई साहित्यिक भावना साटासाट गर्ने कार्यमा यो साप्ताहिक कार्यक्रम उपयोगीसिद्घ हुने कुरामा कुनै द्विविधा छैन ।

त्यसैले यस क्षेत्रका सम्पूर्ण साहित्यानुरागीहरूको मागबमोजिम नै यस्तो प्रकारको साप्ताहिक साहित्यिक कार्यक्रमको शुभारम्भ गरिएको बुझिएको छ । साथै यसको प्रसारण भएपश्चात् यो निकै नै प्रभावकारी ठहरिएको कुरा यसको पहुँच क्षेत्रबाट सर्वत्र खुशी व्यक्त गरिएका सकारात्मक प्रतिक्रियाहरू प्राप्त भइरहनु पनि यसको ज्वलन्त उदाहरण भएको मान्न सकिन्छ ।

महान स्रष्टाहरूको जन्म भएको र महान संस्कृति बोकेको यस क्षेत्रको उत्थान एवं उन्नयनका निम्ति यसरी ‘दियालो’ जस्तो वार्षिक पुस्तक प्रकाशन, ‘रुकुम साहित्य माला’ मासिक श्रृङ्खलावद्घ कार्यक्रम, एफ.एम. रेडियोबाट ‘साहित्य माला’ साप्ताहिक कार्यक्रमको सञ्चालनका साथै राष्ेिट्रय पहिचान बोकेका विभिन्न साहित्यकारहरूका जन्मजयन्तीहरू लगायतका विभिन्न साहित्यिक गतिविधि आदि सम्पूर्ण कार्यक्रमहरू नै राप्ती साहित्य परिषद् जिल्ला रुकुमले चालेका साहित्यिक कदमका उदाहरणीय विषयबस्तुहरू हुन् ।

अतः राप्ती साहित्य परिषद् जिल्ला शाखा रुकुमले वर्तमानमा यस क्षेत्रको साहित्यिक उन्नयनका निम्ति यस प्रकारका जुन साहसिक कदमहरू चालेको छ, यसका सञ्चालक एवं सहयोगीहरू सबै धन्यवादका पात्र हुनुहुन्छ । साथै यस्ता प्रशंसनीय कार्यहरूले यस क्षेत्रको साहित्य, संगीत, कला र संस्कृतिको जगेर्ना, उन्नयन एवं उजागर गर्ने कार्यमा पक्कै पनि उपयोगीसिद्घ हुनेछन् भन्ने प्रबल अपेक्षासँगै सबै स्रष्टाहरूमा साधुवाद भन्दै र यी कार्यहरूको हृदयदेखि सह्राना गर्दै अटूट रुपमा निरन्तरताको कामना गर्दछु ।

By

Readers Comments (0)