Filed Under:  समीक्षा

छन्दको खुल्ला संसार

29th November 2014   ·   0 Comments

khula_sansarखगराज न्यौपाने

आज मेरो हातमा ‘खुल्ला संसार’ कविता संग्रह परेको छ । यो कृतिका लेखक यम रेग्मी हुन् । दाङ लक्ष्मीपुरमा २०४१ बैशाख १ गते जन्मिएका यम रेग्मीका बुबाआमाको नाम कलाधर रेग्मी र तुलसा रेग्मी हो । विभिन्न पत्रपत्रिकामा फुटकर रचना प्रकाशित गरे पनि खुल्ला संसार स्रष्टा यम रेग्मीको पहिलो कृति हो ।

शास्त्रीय छन्दमा लेख्ने परम्परामा शिथिलता आइरहेको अवस्थामा आफ्ना अभिव्यक्तिहरु छन्दकै माध्यम भएर स्रष्टा यस कृतिका ४४ शीर्षकमा प्रवाहित भएका छन् । कृतिमा कुनै कविता राष्ट्रिय भावनाले ओतप्रोत भएका छन् भने कुनै कविता नारी जीवनका थिचोमिचोका विषयमा छन् । कुनै कवितामा राजनीतिप्रति बिद्रोहको स्वर देखिएको छ भने कुनै कवितामा नेताहरुप्रति चिन्ता व्यक्त गरिएको छ ।

म अछूत रे कवितामा स्रष्टाले सामाजिक परिवेशमा जसलाई हामीले अछूत भन्ने गरेका छौं । ती अछूतहरुको पनि समाज विकासक्रममा ठूलो योगदान रहदै आएको छ । मानव हामी सबै एकै हौं । इट्टा–इट्टा मिलेर घर निर्माण भएजस्तै सबै जातजातिका मानिसहरु मिलेर समाजको निर्माण हुन्छ । अछूतले बनाएका घर, भाँडाकुँडा कपडालत्ता, मन्दिर मूर्ति आदिलाई मानिसले आदर श्रद्धाका साथ पूजाआजा गर्ने, घरमा बस्ने, भाँडाकुँडा प्रयोग गर्ने, गरगहना लगाउने गर्छन् भने निर्माणकर्ता अछूतको सम्मान गर्नुपर्नेमा उल्टो घृणा र तिरस्कार कुरा अनुपयुक्त हो, बेठीक हो भन्दै स्रष्टाले बह वा बिद्रोह ओकल्छन्–

तिम्रो भव्य मरी मरी महल त्यो मैले बनाइदिएँ
तिम्रो मन्दिरको गजूर सुनको मैले सजाइदिएँ
तिम्रो मन्दिरको छ मूर्ति जुन त्यो मैले कुँदेको थिएँ
तिम्रो इश्वर बस्छ आज छुन त्यो मैले नसक्ने भएँ

यसैमा यस्तो अत्याचारको विरुद्ध हामी सबै उठ्नुपर्छ, जाग्नुपर्छ, कुप्रथालाई हटाउनुपर्छ भनेर स्रष्टा बिद्रोह ओकल्छन् ।

म र मेरो देश राष्ट्रिय भावनाले ओतप्रोत भएको कविता हो । राष्ट्रप्रति स्रष्टाको आस्था र विश्वास यस्तो छ–
यो राष्ट्र मासि रसिलो म खान्न
यो राष्ट्र छोडी परदेश म जान्न
यैं बस्छु मैले जति दुःख पाउँ
यै राष्ट्रलाई सबले उठाउँ ।

किसान कवितामा नेपाली किसानहरुको अवस्थाको विषयमा स्रष्टाले यथार्थ कुरो उल्लेख गरेका छन् । वर्षदिनभरि घाम, पानी, हुरी, बतास, असिना आदि सबै सहेर अग्ला, ढिस्का, बाँझा जमिन सम्याएर खेती गर्ने किसान सधैं भोकै छ, नाङ्गै छ । श्रम नगरेर खाने गरिब चुसुवा सधैं माथिल्लो पदमा बहाल छ, मोटाएको छ भनेर किसानको अन्तर मनको कुरा स्रष्टाले यहाँ कवितामा व्यक्त गरेका छन्–

धर्तीमा नवसिर्जना गरी सबै संसार यो पाल्दछु
मै आफै उपबास अन्न नहुँदा बस्ने स्वयं गर्दछु
मेरो कर्मथलो जमिन सब हो माटोबिनाको म छु
धर्ती, स्वर्ग गराउने म हुँ सबै रित्तोकलाको म छु

नेपालको गरिबी हटाउन भनी सत्तामा गएका नेताहरुले दायित्व निर्वाह गर्न नसकेकोमा स्रष्टा यसरी व्यङ्ग्य गर्छन्–
राम्रा मेरा खुब सदनमा सुन्छु चर्चा चलेको
ए नेता हो ! गरिबजनका खै त पीडा बुझेको

त्यस्तै, नेपाल आमा कवितामा कविले देशभक्तिपूर्ण भावना अभिव्यक्त गरेका छन् । नेपाली र नेपालको स्वाभिमानलाई टड्कारो रुपमा प्रस्तुत गर्न सफल भएका छन् कवि । सडक बालको सन्दर्भमा खाते कवितामा स्रष्टाले उनीहरुको जिन्दगीका भोगाइका कुराहरु उल्लेख गरेका छन् । खातेहरुले भोग्नुपरेका समस्या, उनीहरुले पाएको दुःख, अपमान, सो विषयमा नेताहरुले गर्ने गरेको भाषणलाई निकै राम्रो पारामा अभिव्यक्त गरेका छन् रेग्मीले–

राती सुत्छु सधैं चिसा सडकमा बाधा अनेकौं सही
लाग्दा भोक म खान्छु फोहर जुठो खोजेर नालीभरी
खाते बालक ए ! भनेर दुनियाँ संसार हेप्छन् अति
मेरो जीवनमा कुनै प्रगतिले छोएन कैले पनि

म लक्ष्यमा पुगेर छोड्छु कवितामा स्रष्टाले विभिन्न आपद विपदको सामना गरेर, घामपानी भोक प्यास सहेर आफ्नो उद्देश्यमा दिन रात उत्साहका साथ कत्ति पनि विचलित नभएर अगाडि बढ्ने कुरा व्यक्त गरिएको छ ।

अन्याय र अत्याचारको विरुद्धमा जनताको मुक्तिका लागि आफूलाई समर्पित गर्ने सहिदलाई पनि स्रष्टाले सम्झिएका छन् । यसले एकातिर अन्यायको विरोध गर्नुपर्छ भन्ने पाठ सिकाउँछ भने पीडित दाजुभाइका लागि उपचार गर्दा मरे पनि अमर हुने हुनाले अरुलाई पनि यस्ता काममा अग्रसर हुन सिकाउँछ ।

डा.खगेन्द्रप्रसाद लुइटेलको मन्तव्यले यो कृतिलाई झनै उँचाइमा पु¥याएको छ । ४४ पृष्ठमा बिस्तारित यो कृतिमा ४४ वटै कविताहरु रहेका छन् । रत्नसागर प्रकाशन काठमाण्डौंबाट प्रकाशित कृतिमा साहित्यकारहरु डा.कृष्णराज डिसी, रजनी ढकाल, शरद देवकोटा र गिरिराज न्यौपानेको मन्तव्य र शुभकामना रहेका छन् ।

विभिन्न छन्द र लयमा लेखिएका कविताहरुमा विविध रस र अलंकारले गर्दा कविताहरु सुन्दर भएका छन् । कतै कतै छन्द भङ्ग भएको भने कतै अक्षर छुटेका छन् । आगामी संस्करणमा सच्याउनुपर्ने यी कमजोरीबाहेक यो कृति संग्रहणीय र पठनीय छ ।

By

Readers Comments (0)