Filed Under:  विचार | टिप्पणी

समकालीन हिन्दी कवितामा प्रतिरोधी स्वर

29th November 2014   ·   0 Comments

Pramod_Dhital_writter- प्रमोद धिताल

पूँजीवादी समाजमा धेरै कुराहरु बिकाउ मालमा परिणत भएका छन् । यतिखेर कवितामात्र यस्तो हतियार साबित भएको छ जसले बिकाउ मूल्य र मान्यताको धज्जी उडाउने गर्दछ । मानिसहरु भन्ने गर्छन् बजारमा फलानो बिधाको माग छ, कविता बिक्दैन । कविताको बजारमा माग त्यसरी होस् पनि कसरी जसरी महंगा डान्स बारहरुदेखि, पूँजीवादी संस्कृतिलाई बढावा दिइरहेका फिल्महरुको माग भइरहेको छ र मागको विषय बनाइदैछ । स्वाभाविक हो बजारले बिक्ने कुराहरुलाई आफ्नो प्राथमिकतामा राख्दछ । जब कविता बिक्छ त्यसपछि कवितासँगै कवि पनि बिक्नुपर्ने हुन्छ । बिकाउ कविले सत्य बोल्न सक्दैन बजारले माग गरेको सत्यबाहेक । कविताको मूल्य बजारमा कति थान संग्रह बिक्यो भन्ने आधारमा निक्र्योल हुन असम्भव छ । कविताको मूल्यलाई यसको साँस्कृतिक मूल्यसँग तुलना गरियो भने मात्र हामी कविताप्रति न्याय गर्न सक्छौं ।

सत्तासीन अर्थतन्त्र, राजनीति र वर्गले समाजमा विद्यमान आवश्यकता र रुचिहरुको ख्याल गर्दैन बरु सबैखाले रुचिहरुलाई आफ्नो स्वार्थ अनुकूलको रुचिमा ढालेर हरेक कुरालाई बिकाउ बनाउने प्रयत्न गर्दछ । उसले जबर्जस्ती रुचिको सृजना गर्दछ । यसैको प्रमाण हो यतिखेर बज्ने सस्ता बिकाउ कथित गीत–संगीत, फिल्म, साहित्य जसलाई समाजको रुचि र आवश्यकतासँग जोडेर जोडतोडले प्रचार गरिन्छ । तर स्वस्थ आवश्यकतालाई ओझेलमा पार्ने प्रयत्न गरिन्छ । तर यस्तो संकटको घडीमा पनि कविता यस्तो प्रतिरोधको हतियार बनेको छ, जुन प्रवृत्ति नै यतिखेरको मूल प्रवृत्ति बनेको छ र बजारको बिकाउ माल नबनेरै त्यो प्रवृत्तिको बिरुद्धमा सशक्त रुपमा संघर्ष गरिरहेको छ ।

नेपाल र भारत दुवै नजिकका छिमेकी मुलुक हुन् । यी दुबै मुलुकका धेरै साँस्कृतिक आयामहरुमा समानता छ । त्यसैगरि एउटा आयाममा पनि धेरै हदसम्म समानता छ । त्यो भनेको समकालीन कविता लेखनको अवस्था र प्रवृत्ति । बरु यति नजिकका छिमेकी मुलुकहरु भएर पनि एकआपसमा साँस्कृतिक आदान प्रदान हुन नसक्नु दुःखको कुरा हो । उता र यताको लेखनको बारेमा विशेषगरी समकालीन कविता लेखनको बारेमा जति दुबै देशका पाठक तथा लेखकहरु जानकार हुन सक्नुपर्ने हो त्यसो हुन नसकिरहेको अवस्था छ । नेपालको समकालीन कविता लेखनको मूल प्रवृत्ति भनेको आर्थिक, सामाजिक असमानताप्रतिको आक्रोश, विद्रोह तथा समकालीन राजनीतिक पाखण्डमाथिको आक्रमण हो । त्यसरी नै यतिखेर भारतमा लेखिइरहेका कविताहरुको मूल प्रवृत्ति पनि त्यही नै । भाषा, प्रयोग, शैली तथा विषयगत विविधताको बारेमा दुइपक्षीय अनुभवहरुको आदान प्रदान अत्यन्त महत्वपूर्ण साबित हुनसक्छ । त्यसको लागि हामीले सर्वप्रथम दुबैतिरका कविता कृतिहरुको अध्ययन, अनुवाद, आपसी सहकार्य भेटघाट, अन्तक्र्रिया र अन्तर्देशीय कार्यक्रमहरुको आयोजनालाई बढावा दिन आवश्यक छ । त्यसैगरी नेपाली कविताकृतिहरुको हिन्दीमा अनुवाद गरी हिन्दीभाषी पाठकहरुको बीचमा पु¥याउन पनि त्यत्तिकै आवश्यक भएको छ ।

यतिखेर सशक्त रुपमा प्रगतिशील चेतना सहित कवितामार्फत् प्रतिरोधी अभिव्यक्ति दिने कविहरुको एउटा ठूलो जमात भारतमा क्रियाशील छ । मुक्तिवोध, नागार्जुन, गोरख पाण्डे, ओमप्रकाश वाल्मिकी, केदारनाथ सिंह, मंगलेश डबराल, नरेश सक्सेना, चन्द्रकान्त देबताले, राजेश जोशी, अरुण कमल, विष्णु खरे, विरेन्द्र डंगवालजस्ता पुराना पिढींका कविहरुले निर्माण गरेको कविता लेखनको मजबुत जगलाई त्यसपछिको पीढी लिलाधर मंडलोई, विष्णु नागर, अनीता वर्मा, अनामिका, कात्यायनी, कुमार मुकुल, सविता सिंह, मदन कश्यप, बद्रीनारायण, देवीप्रसाद मिश्र, मोहन डहेरिया, पवण करण, शशिप्रकाश, कुमार अम्बुज, विनोदकुमार शुक्ल, बोधिसत्व, आर.चेतनक्रान्ति, व्योमेश शुक्ल, श्रीनिवास श्रीकान्त, सुरेश सलिल, ओम निश्चल, निलाभ, वंदना शर्मा, गिरिराज किराडु, पंकज चतुर्वेदी, निर्मला पुतुन, ज्योति चावला, मोनिका कुमार, रंजित वर्मा, अशोक कुमार पाण्डे, आत्मरंजन, कुँवर रवीन्द्र, केशव तिवारी, अग्निी शेखरदेखि लिएर नयाँ पुस्ताका कविहरुमा निशान्त, विमलेश त्रिपाठी, नीलकमल, श्रीरंग पाण्डे, संतोषकुमार चतुर्वेदी, अंजु शर्मा, पंखुरी सिन्हा, शुशील शिलु, अरविन्द पथिक, अरुणाभ सौरभ, हुश्न तबस्सुम, मनोज पाण्डे, नित्यानन्द गायेन, रविकुमार गौंड, महेशचन्द्र पुनेठा, अनुज लुगुन लगायतका धेरै कविहरुको जमातले कवितामार्फत् प्रतिरोधी संस्कृतिलाई अगाडि बढाइरहेको छ ।

जसरी हाल आएर नेपालको समाज रुपान्तरणकारी आन्दोलन थकित अनि पराजितजस्तो देखिन्छ, आफैभित्रका गल्ती र भूलहरुको कारण कतै झाडीमा रुमल्लिरहेको आभाष हुन्छ, भारतीय क्रान्तिकारी आन्दोलनको अवस्था पनि त्यो भन्दा फरक छैन । एकथरि नेपालमा जस्तै पूँजीवादी संसदवाद र अर्थव्यवस्थाको चास्नीको दहमा उम्किनै नसक्ने गरी डुबिसकेको अवस्था छ भने केही बचेका शक्तिहरु पनि अनपेक्षित रुपमा छिन्नभिन्न र विभाजित छन् । तर मानिसमा रहेका मूल प्रवृत्ति संघर्ष र आशावादीता हो । त्यसैले उसलाई सत्य र न्यायको लडाई निरन्तर अगाडि बढाइरहेको हुन्छ । समाजविज्ञानले त्यही सत्यलाई पुष्टी गर्दै आइरहेको छ । एउटा असल कविको निष्ठा र कर्तव्य त्यही स्वप्न यात्रालाई निरन्तरता दिनुमा रहेको हुन्छ । कवि शशिप्रकाशको कवितामा त्यही आशावादी अभिव्यक्ति मुखर भएको छ–

एक दिन अचानक
दन्किएर उठनेछन् पर्वत
सदियौंसम्म सुतेका संकल्प जाग्नेछन्
विस्मृतिको अन्धकारबाट
बाहिर आउनेछन् अजेय आत्माहरु
मुक्त हुनेछन् कल्पनाहरु
सृजनाका अग्निपंक्षी निर्बन्ध
उडनेछन् उन्मुक्त आकाशमा । (स्वप्न)

यतिखेरका कविताहरुमा मुखर रुपमा अगाडि आएको एउटा विषयवस्तु भनेको नारी अस्मिता र मुक्तिको विषय हो । सनातनी शोषणको मार खेप्दै आएका महिलाहरुको नेपालमा जुन अवस्था छ भारतमा पनि त्यो भन्दा फरक छैन । सनातनी आर्थिक सत्ता, धार्मिक सत्ता, सामाजिक–सांस्कृतिक तथा राजनीतिक सत्ताका केन्द्रहरुमा दाशीको व्यवहार हुँदै आएका महिलाहरुमाथि शोषणका रुप भने फेरिए होलान् तर त्यसको अन्त्य भएको छैन । शुशील शिलु आफ्नो कवितामा लेख्छन्–

उद्वेलित छु
त्यस स्त्रीका आँखाहरुको पहेलोपन देखेर
जो बताउँछ मलाई
उसका पतिका आँखाहरुको रंग रातो छ
उसलाई फोलि एसिड भन्दा धेरै
पतिको प्रेम चाहिन्छ
तर म कसरी दिलाऊँ ? (कसरी मुस्कुराऊँ ?)

आज समाज तथा देश मूर्दाहरुको शासनबाट आक्रान्त छन् । जिउँदाहरुमाथि मूर्दाहरुले शासन गरिरहेछन् । जबसम्म मूर्दाहरुको शासनबाट समाजलाई मुक्त गर्न सकिदैन, तबसम्म स्वस्थ समाजको निर्माण गर्न सकिदैन । तर विडम्बना कस्तो छ भने गाउँ, शहर सबैतिर मूर्दाहरुको हल्लीखल्ली छ जिउँदा मानिसहरु अभिषप्त छन् यो अवस्थालाई निरिह बनेर हेर्न । त्यही कुरातर्फ संकेत गरेका छन् कात्यायनीका यी हरफहरुले–

मरिरहेका मानिस
जीवन र मृत्युको
नयाँ व्याकरण रचिरहेका छन्
मरिरेहका मानिस
काठका घोडाहरुमा चढेर
तमाम गाउँ शहरहरुबाट हिडिरहेछन् ।
(मरिरहेका मानिस)

कविता लेख्न जति गाह्रो छ, सायद अझैं त्योभन्दा गाह्रो छ कविताप्रति इमान्दार बन्न । कोठाभित्र सुरक्षित भएर प्रतिरोधका कविता लेख्नेहरु धेरै हुन्छन् तर प्रतिरोधको मानसिकतासहित कविता लेख्नेहरुमात्र कविताप्रति इमान्दार हुनसक्छन् । ती कविहरुले मात्र कविताका इज्जत राख्नसक्छन् । फगत कवितामा क्रान्तिको नक्सा कोर्नेहरुप्रति व्यङ्ग्य गर्दै कवि कुमार मुकुल भन्छन्–

यो यस्तो समय हो साथी
जब कोही केहि गरिरहेको छैन
सबै कविता लेख्दैछन्
सुरक्षित ढंगले
जस्तो कुकुरहरुले घेरिएको
एक्लो कुकुर
देखाउँछ दाँत
र सुरक्षित दूरी बनाउँछ
निस्कन पाउँछ कुनै तरिकाले

गर्दैछन् क्रान्ति
कवि पनि
कागजको पर्दामा । (सुरक्षित ढंगले)

समाजका हर अवयवहरुलाई बजारतन्त्रले कब्जा गरिसकेपछि हरेक कुराहरुले मकुण्डो धारण गरेको यथार्थतालाई उजागर गरेका छन् कवि नित्यानन्द गायेनले । अड्डा अदालत बिकाउ छन्, सुरक्षातन्त्र बिकाउ छ, ज्ञानका केन्द्रहरु सपिङ मलमा परिणत हुँदैछन् । पैसा र नाफालाई मानवीय मूल्यभन्दा पनि माथि राख्ने पूँजीवादी संस्कृतिको यो घृणित रुपले मानिसलाई पशुप्रवृत्तितर्फ धकेलिरहेछ । संवेदना र संवेदनशीलतालाई पैसाको चौघेराभित्र बन्धकी राखेर मानिस र सामाजिक संस्थाहरु पूँजी र नाफाका निर्जिव पूर्जा बन्दैछन् ।

अनाजका गोदाम भरिएका छन
फेरि पनि
गरिब भोकले तड्पिरहेछन् ।

यहाँ अदालत छन्
न्यायधीश पनि छन्
किंतु कोशौं दूर टाढा छ न्याय

स्कुल यस देशका
लाग्छ व्यापारिक केन्द्रमा
फेरिदैछन्
र शिक्षक व्यापारीमा

रवि जस्तै
आजको कवि पनि
मौसम हेरेर
बाहिर हेर्छ
कपडा हेरेर
मानिसको दर्द अनुमान गर्छ

किसान खेतमा मरिरहेछन्
र मन्त्रीजी
क्रिकेट खेलिरहेछन् । (आज देशमा)

आजको दुनियाँमा इमान्दार हुनुको अर्थ हुन्छ कायर, लाक्षी र असफल मानिस साबित हुनु तर बुद्धिमान हुनुको अर्थ हुन्छ बेइमान, भ्रष्ट र अवसरवादी बन्नु । जो ‘मूर्ख’ भन्दा अरु बन्न सकेनन् उनीहरुकै इमान्दारीताले यो दुनियालाई बचाएकोले आफूले पनि सहर्ष मूर्खतालाई बरण गर्ने उद्घोष गर्छन् कवि विमलेश त्रिपाठी–

समयको हिसाबले अहिलेसम्म
मूर्खहरुले नै बचाएका छन् कलाको दुनियालाई
आजको समयमा बुद्धिमान हुनु
बेइमान र बेसरम हुनु हो
यसैले हे भन्ते ! बुद्धिमानहरुको दुनियाँमा
म मुर्ख रहेर नै जिउन चाहन्छु
यसैले हे भंते म पूरै होश हवासमा
र खुशी खुशी मूर्खतालाई वरण गर्दैछु ।
(स्वीकार)

साहित्यमा कला र विचारको बहस लामो समयदेखि चल्दै आएको कुरा हो । एउटा मत छ साहित्यलाई सांस्कृतिक तथा आत्मिक उन्नयनको आधार मान्ने । जीवनको प्रयोजनसँग जोडेर साहित्यलाई हेर्नु र वैचारिक लडाईको हतियारको रुपमा साहित्यलाई परिभाषित गर्ने । तर अर्को मत छ जसले कलालाई विचार, प्रयोजन, वर्ग सबैभन्दा अलग राखेर हेर्छ । त्यस्तो मतप्रति व्यङ्य जाहेर गर्दै कवि महेशचन्द्र पुनेठा भन्छन्–

जुन समयमा
कुल्चिइदै गरिएका छन फूल
चिमोटिदैछन् कोपिलाहरु
उजाडिदैछन बगैंचाहरु

उनीहरु विमर्श गर्दैछन्
फूलहरुको रंग–रुपमाथि । (कलावादी)

वर्गीय समाजमा शान्ति, नैतिकता र लोकतन्त्रका पनि आप्mनै परिभाषाहरु छन् । एकथरीहरुको शान्ति अर्कोथरिको अशान्ति हुनपुग्छ । दुयिाभरीका श्रमजीवी, गरीबहरुको शान्ति हडपेर कायम हुने शोषक, सामन्त र धनकुवेरहरुको शान्तिलाई नै शासक वर्गले सच्चा लोकतन्त्र र शान्तिको नाम दिदै आएका छन् । जब त्यो शान्तिमाथि खतरा आइलाग्छ उनीहरु जस्तासुकै हर्कत पनि गर्न तयार हुन्छन् । यो सच्चाईले कवि श्रीरंगले आफ्नो कवितामा यसरी उजागर गरेका छन्–

उनी चाहन्छन् कि
कहीं कतै चहलपहल नहोस्
सबैकुरा बेरोकटोक चलोस्
भैरहुन् दुर्घटनाहरु÷हत्याहरु
नखुलोस् मुख÷नफुटोस् विरोधको स्वर
कतै पनि अशान्ति नहोस्.. (शान्ति)

यसरी हेर्दा वर्तमान भारतीय प्रगतिशील–प्रगतिवादी कविता लेखनका विषयहरु भनेका भूमण्डलीकरणले समाजमा पैदा गरेको संकट, पूँजीवादी शोषण, शासकहरुप्रतिको आक्रोश, भ्रष्टाचार, दलित तथा महिला विमर्शलगायत रहेका छन् । वर्तमान पूँजीवादी शोषण, खोक्रो आदर्शको मुकुण्डो धारण गरेको पाखण्डी राजनीति, व्यभिचार, आर्थिक असमानता, जातीय, लैंगिक तथा भौगोलिक विभेदजस्ता जल्दाबल्दा सवालहरुप्रति आँखा जुधाएर प्रश्नचिन्ह खडा गर्ने कुनै कुरा छ भने त्यो कविता नै हो । यसलाई अत्यन्त प्रखरताका साथ निर्वाह गरेका छन् समकालीन भारतीय कविहरुले । जुन हामी सबैका वर्तमान र भविष्यका ऊर्जा हुन्, किनकि दुनियाँको जुनसुकै ठाउँमा जुन कुनै भाषामा लेखिदै गरेका सुन्दर कविताहरुको एउटा साझा विशेषता हुने गर्छ– सत्य बोल्ने साहस गर्नु ।

By

Readers Comments (0)